सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा आठ जना जनप्रतिनिधिद्वारा राजिनामा

वैशाख ३० गते हुने स्थानीय तह चुनावमा उम्मेदवारी दिनका लागि बझाङका आठ जना जनप्रतिनिधिहरुले पदबाट राजीनामा दिएका छन् । चार जना वडाध्यक्ष, तीन जना वडा सदस्य र एक दलित महिला सदस्य गरी बझाङका आठ जना जनप्रतिनिधिले पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा साइपाल गाउँपालिका–३ का नेपाली काँग्रेसबाट निर्र्वाचित वडाध्यक्ष जंङ्गबहादुर बोहरा, साइपाल गाउँपालिका–४ का काँग्रेसबाट निर्वाचित वडाध्यक्ष जैसिंह रोकाया, जयपृथ्वी नगरपालिका–६ का माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष नरेन्द्रबहादुर सिंह रहेका छन् ।

यस्तै काँग्रेसबाट निर्वाचित जयपृथ्वी नगरपालिका–१० का वडाध्यक्ष दलबहादु विष्ट, काँग्रेसबाट निर्वाचित जयपृथ्वी नगरपालिका–११ का वडा सदस्य भक्तराज जोशी, काँग्रसबाट निर्वाचित वडा नं ५ का वडा सदस्य हर्कजंग बहादुर सिंह रहेका छन् ।

जयपृथ्वी नगरपालिका–४ का काँग्रेसबाट निर्वाचित वडा सदस्य गणेशराज जोशी र साइपाल गाउपालिका–४ कि नेपाली काँग्रेसबाट निर्वाचित दलित महिला सदस्य अमृता कामीले राजिनामा गरेका हुन् । निर्वाचन आयोगले जनप्रतिनिधिले पुनः चुनाव लड्न चाहेमा पदबाट राजीनामा दिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।

त्यही अनुरुप आउँदो स्थानीय तहको चुनावमा बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने भएका छन् । उम्मेदवारी दिँदा राजीनामा दिनुपर्ने चुनावी आचारसंहिताको प्रावधानविरुद्धमा परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि जनप्रतिनिधिले चुनाव लड्न राजीनामा दिनुपर्ने भएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार ०८:४४