सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

पद र अवसर खोज्दै ‘दलबदलु’मा माहिर ‘नन्दलाल र रमारानी’

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै बाँकेमा पार्टी परिवर्तन तथा पार्टी प्रवेश गर्नेहरुको लहर चालिरहेको छ । वैश्य समाजका अगुवाहरु पार्टी परिवर्तन गर्न अग्रपंतिमा देखिएका छन् ।

बाँकेमा वैश्य समाजका अगुवाहरु पद र अवसर खोज्दै ‘दलबदलु’ गर्न ‘माहिर’ देखिएका हुन् । नेपालगन्जका उद्योगी एवं नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीका सहसचिव नन्दलाल वैश्य राप्रपा प्रवेश गरे ।

उनी राप्रपा प्रवेश गरेको २४ घण्टा नबित्दै जनता समाजवादी पार्टी नेतृ रमारानी वैश्य आज राप्रपा नेपालमा प्रवेश गरेकी छन् । वैश्य समाजभित्र अगुवाका रुपमा परिचित नन्दलाल र रमारानीको ‘दलबदलु’ पद र अवसरकै लागि भएको पनि पुष्टि भएको छ ।

नेकपा माओवादी केन्द्रका तर्फबाट नेपालगन्जको मयेरका आकांक्षी रहेका नन्दलाल टिकट नपाउने पक्का भएपछि राप्रपा प्रवेश गरेका हुन् । उनी प्रवेश गरेको २४ घण्टा नबित्दै राप्रपाले उनलाई मेयरको टिकट दिएको छ ।

राप्रपामा लामो समयदेखि त्याग गरेका नेताहरुलाई उपेक्षा गर्दै पार्टी प्रवेश गरेलगत्तै नन्दलाललाई मेयरको टिकट दिएको भन्दै राप्रपाभित्र आन्तरिक द्वन्द्व चुलिएको छ । पार्टीभित्र मेहनत गरेकालाई पन्छाएर मेयरकै लागि उम्मेदवार आयात गरेको भन्दै राप्रपाका नेता कार्यकताहरुले आक्रोस पोखेका छन् ।

राप्रपाका नेताहरुले मेयरको टिकट खरीद बिक्री भएको आरोप लगाउँदै स्थानीय निर्वाचनमा मात्रै नभएर प्रदेश तथा संघको निर्वाचनमा नेतृत्वलाई ‘देखाइदिने’ चेतावनीसमेत दिएका छन् । मेयरको टिकटका लागि चुनाव लड्नकै लागि टेण्डर आह्वान सफल भएको भन्दै २५ लाखको बजारमा चर्चा रहेको नेताहरु बताउँछन् ।

यता उपमेयरको दावेदारका रुपमा रहेको जनता समाजवादी पार्टी बाँकेकी नेतृ रमारानी वैश्यले गठबन्धनकै कारण उपमेयर नपाउने भएपछि राप्रपा नेपालमा प्रवेश गरेकी छन् । उनी अब राप्रपा नेपालबाट नेपालगन्जको उपमेयर पदमा उठ्ने निश्चित गरेरै पार्टी प्रवेश गरेको जनाइएको छ ।

सत्तारुढ गठबन्धनले नेपालगन्ज उपहानगरपालिकामा जसपालाई उपमेयर दिने निर्णय गरेपछि मेयरमा उम्मेदवारी दिने भनिएका जसपा बाँकेका अध्यक्ष कमरुद्दिन राईले उपमेयरमा उम्मेदवारी दिने घोषणा गरेपश्चात उपमेयरमा उम्मेदवारी दिने भनिएकी रमारानी वैश्य टिकटकै लागि राप्रपा नेपालमा प्रवेश गरेको जनाइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार १८:४६