सूचनाको शक्ति - The Power Of Information

        

नेपाल एसियन गेम्सको २३ खेलमा सहभागी हुने

नेपालले चीनमा आयोजना हुने आसन्न १९औं एसियन गेम्समा २३ खेलमा सहभागिता जनाउने भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले भदौ २५ देखि असोज ९ गतेसम्म हुने एसियन गेम्सका लागि खेल संख्या निर्धारण गरेको हो । राखेपले पत्रकार सम्मेलन गर्दै २३ खेलको नाम सार्वजनिक गरेको हो ।

एसियाली खेलकुदमा समावेश गरिने खेलहरूमा तेक्वान्दो, कराते, बक्सिङ, एथ्लेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला र टेबल टेनिस छन् ।

यस्तै महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन पनि समावेश गरिने भएको छ । नेपालले ८ वर्षपछि एसियन गेम्समा क्रिकेटमा प्रतिस्पर्धा गर्ने भएको हो ।

एसियाली खेलकूदका लागि १० दिनभित्र खेलाडी छनोट गर्न राखेपले निर्देशन समेत दिएको छ । एसियन गेम्समा नेपालबाट १५० खेलाडी समावेश हुने राखेपको अनुमान छ ।

यस्तै प्रशिक्षक २८ र व्यवस्थापक २० जना रहने अनुमान गरिएको छ । नेपालले १७ औं एसियन गेम्समा २५ र १८ औं एसियन गेम्समा २९ खेलमा सहभागिता जनाएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार १८:४०