भारतमा कोभिड सङ्क्रमण बढ्न थालेपछि बाँकेको सीमा क्षेत्र जमुनाहमा उच्च सतर्कता अपनाउन थालिएको छ । बाँकेको जमुनाहा नाकामा भारतबाट फर्किने नेपालीलाई कोभिडविरुद्धको खोप लगाउने काम भइरहेको छ ।
भारतका विभिन्न शहरमा काम गरेर फर्किएका नेपालीलाई खोपको पहिलो, दोस्रो र तेस्रो मात्रा लगाउने काम भइरहेको नेपाल–भारत जमुनाहास्थित हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरञ्जीवी ज्ञवालीले जानकारी दिए ।
भारतबाट फर्किने नेपालीलाई सोधीसोधी खोप लगाउने काम भइरहेको छ । हेल्थ डेस्क स्थापना गरी दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत ज्ञवालीले जानकारी दिए ।
गत चैत महिनामा ६ हजार ४०० को एन्टिजेन परीक्षणमा चार पोजेटिभ देखिएका थिए तर अहिलेसम्म पोजेटिभ नदेखिएको उनले जानकारी दिए । सीमा क्षेत्रमा खास गरेर खोप कार्डलाई अनिवार्य गरिएको छ ।
‘दोस्रो डोज लगाएको प्रमाणित खोप कार्ड छैन भने पुनः एन्टिजेन परीक्षण गर्ने गरेका छौँ,’ उनले भने । खोपका कारणले पनि विगतमा जस्तो भयावह अवस्था नभएको उल्लेख गर्दै उनले स्वास्थ्य जाँच नगराई सीमा क्षेत्रबाट नेपाल आउन नदिएको जानकारी दिए ।
सो सीमा क्षेत्रबाट चार हजार ८०० खोप कार्ड भएका नागरिक नेपाल आवतजावत गरेका छन् । स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजङ्ग शाहले स्वास्थ्य जाँचलाई सीमा क्षेत्रमा कडाइका साथ लागु गरिएको बजानकारी दिए ।
उनले केही साता यतादेखि स्वास्थ्य जाँचका लागि पाँच जनाको स्वास्थ्य समूह परिचालन भएको बताए । शाहका अनुसार कुनै पनि नेपाली खोपबाट बन्चित नहोस् भनेर सोधीसोधी खोप लगाइएको छ । भारतबाट पहिलो मात्रा लगाएको छ भने दोस्रो मात्रा दिइएको छ ।
‘कुनै पनि मात्रा लगाएको छैन भने पहिलो मात्रा खोप लगाउँदै आएका छौं । दोस्रो मात्रा लगाएको तीन महिना कटेको छ भने तेस्रो मात्रा दिइएको छ,’ प्रमूख शाहले भने । सङ्क्रमण बढेको अवस्थामा जिल्लामा कयौँको मृत्यु भएको थियो ।
नाकामा एस्ट्राजेनिका र जोन्सन खोप दिइएको छ । कोभिड संक्रमण कम भए पनि खोप दिने काम भइरहेको छ । बाँकेका अस्पतालमा कोभिडका बिरामीको संख्या शून्य अवस्थामा रहेको बाँकेका कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
भेरी अस्पताल, नेपालगन्जका सूचना अधिकारी डा.संकेतकुमार रिसालले अहिलेसम्म कोभिड सङ्क्रमणको विरामी नआएकाले शून्य अवस्था रहेको उल्लेख गर्दै सर्तकता आवश्यक भएको बताए । ‘अहिलेसम्म कोभिडको कुनै विरामी आएको छैन,’ उनले भने ।
रासस । बाँके ।