सूचनाको शक्ति - The Power Of Information

        

आलेख

नौ कुकुर, सोह्र बिराला र चाँदनी

चाँदनीले भनिन्, ‘मेरो सास रहुन्जेलसम्म यी जनावरहरूकै लागि काम गर्छु ।’

‘डेबिड’, ‘सोफिया’, ‘लुसी’, ‘लक्की’ यस्तै नाम लिदालिदैँ पुच्छर हल्लाउँदै आइपुग्छन्, चाँदनी नजिकै केही कुकुर र बिराला । कसैको शरीरभरि घाउ छ, कसैको खुट्टा छैन, कोहीको शरीर दुब्लो छ, कोहीको भने आँखा नै छैन । यो दृश्य चाँदनीले नै शुरु गरेको पोखरास्थित छोरेपाटनमा रहेको चाँदनी एनिमल रेस्क्यू एण्ड केयर सेन्टरको हो ।

चाँदनीले विभिन्न समयमा समुदायबाट अपहेलनामा परेका, एक्लिएका, दुर्घटनामा परि घाइते भएका कुकुर र बिरालोहरूलाई उद्धार गरि आफ्नै सुरक्षामा उनीहरूको रेखदेख गरिरहेकी छन् । २७ वर्षीया चाँदनी थापा मगरको घर कास्की निर्मलपोखरी हो । तर चाँदनीको बसाइँ अहिले यही स्याहार केन्द्रमा छ ।

आफूले उद्धार गरेर ल्याएको अरु ९ सामुदायिक कुकुरहरू र १६ बिरालोहरू अहिले एकै छतमा बस्छिन्, चाँदनी । पोखरा र त्यसवरपर भेगमा जोखिमको अवस्थामा रहेका जनावरहरूलाई चाँदनी सहयोग गर्छिन् र परेको खण्डमा आफ्नो स्याहार केन्द्रमा ल्याएर राख्छिन् । चाँदनी सबेरै उठेर त्यहाँ रहेका कुकुर बिरालोहरूलाई खाना तयार पार्छिन् ।

खाना दिएर १० बजे सहकारीमा जागिर गर्न पुग्छिन् । साँझ ५ बजे काम छुट्ने बित्तिकै चाँदनी हतारिएर स्याहार केन्द्र आइपुग्छिन् र फेरि खानेकुरा दिन्छिन् । ती सबै कुकुर र बिरालोसँग खेल्छिन् । यसरी नै चाँदनीको दिनचर्या बित्ने गरेको छ । पढाईमा स्नातक गरेकी चाँदनीले सानैदेखि नै घर र आफ्नो समाजमा भेटिने जनावरहरूलाई औधी माया गर्थिन् ।

हेलामा परेका, एक्लै भएर भौँतारिएका कुकुर, बिरालोहरूलाई घरमा ल्याउँदै राख्न थालिन् । कुकुर र बिरालो दिनदिनै थपिन थालेपछि घरपरिवार र समाजले चाँदनीलाई गाली गर्न थाले । त्यसपछि चाँदनीको मनमा उनीहरूका लागि छुट्टै घर बनाउनुपर्छ भन्ने लाग्यो ।

चाँदनी एनिमल रेस्क्यू एण्ड केयर सेन्टरको स्थापना

चाँदनीको बुवा भारतीय रिटायर्ड आर्मी हुन् । घरमा बाबा आमा, दाइभाउजु र भाइ छन् । चाँदनीको यस काममा घरपरिवारले सहयोग गरेका छन् । पोखरा छोरेपाटनमा रहेको आफ्नै जग्गामा जनावरहरूका लागि स्याहार केन्द्रको स्थापना गर्ने चाँदनीले सोचिन् । पोखरामा जनावरहरूको उत्थान र स्याहारका लागि एक, दुईवटा मात्र गैरसरकारी संस्था छन् ।

यस्तै केही व्यक्तिगत समुहहरूले समुदायका जनावरहरूलाई खाना खुवाउने काम पनि गर्छ । उद्धार गरेर लामो समयका लागि स्याहार गर्ने ठाउँ भने पोखरामा थिएन । त्यसैले चाँदनीले जनावरको उद्धार तथा स्याहार केन्द्रको स्थापना गर्न लागि परिन् । परिवारको सहयोगले आफ्नै जग्गामा गत वर्षको साउनबाट काम सुरु गरिन् ।

त्यसका लागि चाँदनीले केही रकम ऋण लिइन् भने बाँकी सहयोगको याचना पनि गरिन् । चाँदनी आफूसँगै आफ्ना चिनजानका साथीहरूलाई पनि केन्द्रको भवन बनाउनका लागि सहयोग मागिन् र आफैले ढुंगा, बालुवा उठाएर, दिनरात खट्टिएर भवन बनाउने काम गरिन् । चार महिनाको अवधिमा स्याहार केन्द्र बन्यो, त्यसको नामकरण गरिन्, चाँदनी एनिमल रेस्क्यू एण्ड केयर सेन्टर ।

त्यसलगत्तै चाँदनीले आफूसँग आश्रय लिएका जनावर तथा समुदायमा रहेका जोखिमको अवस्थामा रहेका नयाँ जनावरहरूलाई उद्धार गरि ल्याए स्याहार केन्द्रमा राख्न थालिन् । उनीहरूलाई खाना दिने, स्याहार गर्ने र उपचार गर्ने सबै काम चाँदनी एक्लैले नै गर्छिन् । उनीहरूलाई कसैले सुरक्षितरुपमा पाल्नलाई लिन आयो भने मात्रै त्यहाँबाट पठाउँछिन् ।

स्याहार केन्द्र हाल दर्ता प्रक्रियामा पनि छ । यसको निर्माणका लागि करिब १० लाख रूपैयाँ खर्च लागेको छ । केन्द्र निर्माणका क्रममा धेरै व्यक्ति तथा समुहहरूले सहयोग पनि गरे । अहिले सहकारीमा काम गर्दै र केही व्यक्तिहरूको सहयोगको भरमा चाँदनीले ऋण पनि तिर्दै छिन् । स्याहार केन्द्र निरन्तर संचालनका लागि सहयोगको याचना पनि चाँदनीले गरेकी छन् ।

कसैको गाली, कसैको ताली

आफ्ने नेतृत्वमा दुई वर्षअघि चाँदनीले जनावरहरूलाई जोखिमको अवस्थाबाट उद्धारको काम सुरु गर्न थालिन् । यससँगै कोभिडको समयमा विभिन्न ठाउँको समुदायमा रहेका जनावहरूलाई खाना बाड्ने काम पनि गरिन् । यस्तो काम गरिरहँदा प्रशंसा पाउनुपर्नेमा चाँदनीले झन् गाली खानुपर्यो र अपमानित हुनुपर्यो ।

चाँदनी भन्छिन्, ‘जनावरलाई माया गरेर खाना बाड्न, स्याहार गर्न थालेपछि मैले गाली धेरै खाएँ । काम नपाएर यस्तो काम गर्दै हिडेँकी छ, विहे गर्नेबेलामा यस्तो नराम्रो काम गरेकी छ भन्ने धेरै सुनेँ । मेरा परिवारलाई नै गएर मेरो बारेमा नराम्रो कुराहरू गर्ने पनि गरेका छन् ।’ यी कुराहरूले दुःखी बनाउँछ तर जनावरहरूप्रतिको माया कति पनि कम हुन दिदैँन ।

यिनै जनावरहरू नै चाँदनीको हिम्मत र सहारा बनिदिएका छन् । जनावरप्रतिको प्रेम र निरन्तरको कामले चाँदनीलाई चिन्नेहरू चाहिँ प्रशंसा गरेर थाक्दैनन् । उनीहरूले चाँदनीलाई सहयोग गरेका छन् र सम्मान पनि दिएका छन् । जनावरप्रतिको मायाले नै सानैमा चाँदनीले माछामासु खान छाडिन् ।

आश्रयमा रहेका कुनै जनावर बिरामी भए चाँदनीलाई आफ्नो परिवारको सदस्य नै कोही बिरामी भएजस्तो लाग्छ । केही समयअघि जनावरहरूमा आएको भाइरसले गर्दा चाँदनीले स्याहार केन्द्रमा रहेका धेरै जनावरहरू गुमाउनुपर्यो । यसले चाँदनीलाई निकै दुःखी बनायो । आफैले स्याहार गर्दागर्दै जनावर गुमाउनुपर्दा निकै पीडा हुने गरेको चाँदनी बताउँछिन् ।

कसैले जनावरलाई दुव्र्यवहार गर्नेजस्ता घटना देख्दा चाँदनीलाई बरु वास्ता नगरिदिए हुन्थ्यो तर आफूसंग भएका जनावरलाई घृणा नगरी माया र सम्मान गरिदिए हुन्थ्यो जस्तो लाग्छ । चाँदनी भन्छिन्, ‘उनीहरू बोल्न सक्दैन्न् तर उनीहरू सबै कुरा बुझ्छन् । चोट लागे उनीहरूलाई पनि उत्तिकै पीडा हुन्छ जति मान्छेलाई हुन्छ ।’

उनी बरु वास्ता नगरुन् तर आफूसंग भएका जनावारलाई पिट्ने, दुव्यवहार गर्ने काम गर्नुहुँदैन भन्ने सोंच राख्छिन् । उनी भन्छिन्, ‘उनीहरूलाई मायाको खाँचो छ ।’ चाँदनीको अबको योजना स्याहार केन्द्रलाई सक्षमरुपले अघि लैजाने छ । अझ धेरै जोखिमको अवस्थामा रहेका जनावहरूलाई उद्धार गर्ने र जनचेतनाको काम गर्ने सोच छ । चाँदनीले भनिन्, ‘मेरो सास रहुन्जेलसम्म यी जनावरहरूकै लागि काम गर्छु ।’

 

आइएनएस–स्वतन्त्र समाचार

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार ०८:२५