सूचनाको शक्ति - The Power Of Information

        

पर्यटन समृद्धि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग सञ्चालनमा

कूल ७८७ विघा क्षेत्रफलमा बनेको विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ठूलो छ ।

रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग सञ्चालनमा आएको छ ।

बिहीबार बिहानदेखि विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर तीन हजार मिटर लामो नयाँ धावनमार्गबाट उडान र अवतरण सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दहालले जानकारी दिए ।

सन् १९५८ जुलाई ८ बाट संचालनमा आएको गौतमबुद्ध विमानस्थलको नयाँ धावनमार्गमा यती एयरको विमानले पहिलो उडान भरेको छ भने बुद्ध एयरले पहिलो अवतरण गरेको छ । पुरानो रनवेलाई टयाक्सी वे मा परिणत गरिएको उनले बताए ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विमानस्थलको धावनमार्ग सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीका दिनदेखि हुनेछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा हेरिएको छ ।

६ दशकदेखि आन्तरिक उडान भइरहेको विमानस्थल स्तरोन्नती भई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा आउन लागेको हो । भैरहवाबाट आन्तरिकतर्फ काठमाडौं, पोखरा र भरतपुरका लागि २२ वटा नियमित उडान हुने गरेको छ ।

गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या आउँदा अन्य देशका विमानस्थलमा जहाज अरु ठाउँमा डाइभर्ट गर्नुपर्ने बाध्यता हट्नेछ । यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि हालसम्म औपचारिक रुपमा जजीरा एयरले अनुमति लिएको छ ।

अन्य एयरलाइन्सले पनि सम्पर्क गरिरहेको बताइएको छ । जजीरा एयरले उडानको तयारी गरिसकेको छ । अन्य एयरलाइन्सले पनि उडान गर्ने विमानस्थलको विश्वास छ । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब रुपैयाँ खर्च भएको छ ।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान अवतरण गर्ने छन् । कूल ७८७ विघा क्षेत्रफलमा बनेको विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ठूलो छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार १६:१३