सूचनाको शक्ति - The Power Of Information

        

पल शाह प्रकरण

पीडित नाबालिगले बयान फेर्दैमा छुट्लान् पल शाह ?

उच्च अदालत पोखरामा पल शाहको निवेदनमाथि बिहीबार पेशी तोकिएको थियो । तर, जिल्ला अदालत नवलपुरमा उनको बकपत्र चलिरहेकाले सुनुवाइको सम्भावना टरेको छ ।

यसअघि जिल्ला अदालतबाट मगाएको कैफियत प्रतिवेदन पनि उच्च अदालतमा नपुगेको पलका वकिल बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताए । बकपत्रका लागि पललाई बुधबार नवलपुर अदालतमा उपस्थित गराइएको थियो ।

जिल्ला अदालत नवलपुरमा बकपत्र भइरहेकाले पनि बिहीबारको सुनुवाइमा पल शाह पक्ष उपस्थित हुन नसक्ने उनले बताए । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पलले उच्च अदालत पोखरामा निवेदन गरेका थिए ।

आफूलाई थुना बाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने पलको माग छ । पल शाहलाई धरौटीमा छाडेर अथवा साधारण तारेखमा छाडेर मुद्दाको पुर्पक्ष गर्न माग गरेको वाग्लेले बताए । यसअघि चैत १६ गते उच्च अदालतमा प्रारम्भिक सुनुवाइ भएको थियो ।

अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको कैफियत प्रतिवेदन माग गरेको छ । दुवै जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएपछि सँगै राखेर मुद्दा हेर्ने तयारी छ । तनहुँ जिल्ला अदालतले प्रतिवेदन पठाए पनि नवलपुरको भने कैफियत प्रतिवेदन उच्च अदालतमा नपुगेको हो ।

बयान फेर्दैमा उच्चले छोड्ला ?

यता उच्च अदालतमा मुद्दाको पेसी तोकिएको अघिल्लो दिन पीडित नाबालिगको नवलपुर अदालतमा बकपत्र सकिएको छ । यसअघि जाहेरी र अभियोजनमा भएको भन्दा पीडितले फरक बयान दिएकी छन् ।

उनले दुवै जिल्ला अदालतमा गरिएको बकपत्रमा आफूमाथि पल शाहले जबरजस्ती करणी नगरेको बताएकी हुन् । पल शाह पक्षका वकिल भने पीडितले नै होइन भनिसकेपछि अब अदालतले थुनामा राख्ने सम्भावना कम भएको बताउँछन् ।

‘बलात्कार होइन भन्ने कुरा पहिले नै देखिन्थ्यो । पीडितका धेरै कुरा बाझिएका थिए । ती प्रश्न हामीले अदालतमा पनि उठाएका थियौं,’ वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले भने, ‘तर पीडित प्रभावित भइदिएपछि जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको थियो । अब बलात्कार होइन भन्ने पुष्टि भइसकेको छ ।’

जाहेरवालाले पनि पीडितकै जस्तो अदालतमा बयान फेरेका छन् । त्यतिबेला पल शाहले जवरजस्ती करणी गरेको थाहा पाएपछि कानुनी उपचारमा जान सल्लाह दिएको बयान दिएका गायक दुर्गेश थापाले पनि अहिले घटनाबारे आफूलाई थाहा नै नभएको बताएका छन् । जाहेरवाला र पीडितले जस्तै अन्य साक्षीले पनि बयान फेरेका छन् । पीडितका बुबाको तनहुँमा बकपत्र सकिएको छ ।

उनले सामाजिक सञ्जालमा आएका विषयलाई लिएर आफूमाथि जाहेरी दिन दबाब आएको भनेका छन् । उनले छोरीमाथि करणी नभएको अहिले आएर थाहा भएको भन्दै मंगलबार अदालतमा पल शाह निर्दोष रहेको बयान लेखाइदिएका छन् । तर पीडित पक्षका कानुन व्यवसायीको भने फरक तर्क छ । पीडितको तर्फकी अधिवक्ता राधिका खतिवडाले पीडित होस्टाइल हुँदैमा बलात्कार होइन भन्न नमिल्ने बताइन् ।

‘बलात्कार भनेकै उच्च वर्गकाले निमुखा र उत्पीडनमा परेकालाई गर्ने हुन् । ती मान्छेहरु साना साना चिजमा प्रभावित हुन्छन् । लालायित हुन्छन् र न्यायका लागि अन्तिमसम्म लड्न सक्दैनन्,’ अधिवक्ता खतिवडाले भनिन्, ‘अहिलेको मुद्दामा पनि अन्तिमसम्म लड्ने धैर्यता उनीहरुमा भएन र होस्टाइल भए ।’ पीडितलाई विवाह गर्ने आश्वासन दिएर होस्टाइल गराइएको शंका छ ।

अधिवक्ता खतिवडाले पनि त्यस्तै शंका गर्दै कसैले पनि विवाह गर्दैनन् । भन्ने खालको सोचका कारण प्रभावित भएको हुनसक्ने बताइन् । यसअघि पनि धेरै मुद्दामा पीडितले बयान फेरेको उदाहरण दिँदै उनले भनिन्, ‘पीडितले बयान फेर्दैमा प्रतिवादीले सफाइ पाउँछन् भन्ने छैन । नेपाल सरकारले अभियोग दर्ता गर्दा नै मुद्दा प्रमाणित हुने अवस्था नहुँदा दर्ता गर्दैन । प्रमाणित हुने पर्याप्त आधार र प्रमाणहरु कै कारण यो मुद्दा पनि दर्ता भएको हो ।’

के छन् अरु प्रमाण ?

यसअघि थुनछेक बहसमा पल शाह निर्दोष नदेखिएको ठहर गर्दा पनि अदालतले पीडितका बयानलाई मात्रै मुख्य आधार मानेको थिएन । उनीहरुबीच भएको संवादका अडिओ र पलले नै गरेको बयानलाई आधार बनाएको थियो । यतिबेला पीडितले पल आफ्नो कोठामा नै नआएको बताएकी छन् ।

तर पल शाहले यसअघि नै पीडितको कोठामा राति रक्सी लिएर गएको कुरा स्वीकार गरेका थिए । नाबालिगको स्वास्थ्य परीक्षण रिपोर्ट पनि करणी भएको भन्ने आशयकै छ । यसअघि पीडितले दिएको शिलशिलेवार जाहेरी पनि आफैंमा प्रमाण भएको अधिवक्ता खतिवडाले दाबी गरिन् ।

‘जाहेरीलाई समर्थन हुने गरी गरिएको घटना विवरण कागजात, जाहेरवाला र पीडितले यसअघि गरेका कागजहरू पनि प्रमाण हुन् । साक्षीका बयान कागज, उनीहरुबीचमा भएका म्यासेज र सार्वजनिक भएका अडिओहरु पनि प्रमाण हुन्,’ खतिवडाले भनिन् । अहिले पीडितले प्रहरीको दबाबमा घटना भएको भनेर बयान फेरेका छन् ।

तर यो झुटो भएको उनले बताइन् । ‘पीडितलाई जाहेरी दिनु भन्दै प्रहरी उनको घरमा गएको होइन । उनी आफैं प्रहरी कार्यालय, त्यसमा पनि अर्को जिल्ला पुगेर जाहेरी दिएकी छन् । अनि कसरी दबाबमा जाहेरी दिएको भन्न मिल्छ,’ खतिवडाले भनिन्, ‘यसअघि नै धेरै कुरा प्रमाणित भइसकेका छन् अहिले बयान फेर्दैमा सहजै अदालतले लिन्छ जस्तो मलाई लाग्दैन ।’

बयान फेरे पनि करणी भएको अन्य अवस्थाहरूबाट पुष्टि हुने हुँदा सजाय हुने उनले दाबी गरेकी छन् । ‘बन्द इजलासका कुराहरु अहिले मैले भन्न मिल्दैन तर त्यहाँ पनि विशेष प्रमाणहरु छन्,’ खतिवडाले अगाडि भनिन् । गत फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँ र १५ गते इलाका प्रहरी कार्यालय गैँडाकोटमा पीडितको तर्फबाट जाहेरी दर्ता भएको थियो ।

२०७८ वैशाख १४ गते तनहुँको दुलेगौंडास्थित एक घरमा र २०७७ चैत ७ गते गैँडाकोट रिसोर्टमा पल शाहले जबर्जस्ती करणी गरेको आरोप थियो । सुटिङका लागि विभिन्न स्थानमा पुग्दा पल शाहले ती गायिकालाई माया प्रेम गरेको विश्वासमा पारी करणी गरेको पीडितले यसअघिको बयानमा भनेकी थिइन् । त्यसअघि २०७८ जेठमै उनीहरुबीचको घटना सार्वजनिक भएको थियो ।

त्यतिबेला नाबालिगलाई उमेर पुगेपछि विवाह गर्ने आश्वासन दिएर मिलाउने कोसिस समेत गरेका थिए । अनामनगरमा उनीहरुबीच छलफल नै भएको थियो । तर त्यतिबेलाको अडिओ समेत अदालतमा प्रमाणका रुपमा पुगेको छ । अहिले पीडित र जाहेरवालाले जस्तै अरुले पनि भटाभट बयान फेर्दा पल शाहले सफाइ पाउने सम्भावना समेत देखिएको छ ।

बयान फेर्दा पीडितलाई के हुन्छ ?

पल शाहले सफाइ पाउने भए नाबालिगलाई नै सजाय हुन सक्नेछ । बलात्कारको झुटो जाहेरी दिएको वा झुटो बकपत्र गरेको कसुरमा जाहेरवालालाई नै प्रतिवादीलाई हुन सक्ने सजायको आधा सजाय हुने कानुनी व्यवस्था छ । यस्तो कानुनी व्यवस्था चैत २२ गते अध्यादेश आएसँगै पुनः सक्रिय भएको हो ।

१६ देखि १८ वर्षका नाबालिगको हकमा भने त्यसको दुई तिहाई मात्रै सजाय हुन सक्ने व्यवस्था छ । मुलुकी फौजदारी संहिता २०७४ को दफा ४४ मा भने तीन महिनासम्म कैद र ५ हजार रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था थियो । गत महिना अछामकी एक महिलालाई अदालतले साढे तीन महिना कैद सजाय तोकेको थियो ।

उनले सुरुमा आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएपनि पछि अदालतमा बयान फेर्दै सहमतिमै करणी भएको बताएकी थिइन् । झूटो जाहेरी दिएको आरोपमा उनलाई अदालतले साढे तीन वर्ष कैद सजाय तोकेको छ । त्यो मुद्दामा प्रतिवादीलाई ७ देखि १० वर्षसम्म कैद सजाय माग गरिएको थियो ।

त्यसको आधा सजाय जाहेरवालालाई नै गरिएको हो । पल शाहको मुद्दामा पनि अदालतले उनलाई सफाई दिए झुटो जाहेरी र बकपत्रको आरोपमा नाबालिग गायिका र जाहेरवाला उनका बुबालाई नै सजाय तोक्ने सम्भावना समेत रहेको कानुन व्यवसायी बताउँछन् ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार १५:५६