सूचनाको शक्ति - The Power Of Information

        

सबै स्थानीय तहमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

स्थानीय तहको निर्वाचनको स्थलगत तयारीको लागि ७ सय ५३ वटै स्थानीय तहमा आज बिहीबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको प्रक्रिया सञ्चालन गर्न सहज हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल समाचारपत्रलाई बताउनुभयो ।

आयोगले स्थानीय निर्वाचनका लागि ७७ जना मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत खटाएको छ । मुख्य निर्वाचन अधिकृतले जिल्लामा निर्वाचन गराउन आयोगको प्रतिनिधिका रूपमा काम गर्नेछ ।

आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको थियो ।

त्यसै गरी आयोगले जिल्लाका अन्य स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरू र निजामती सेवाका उपसचिवहरू रहने गरी निर्वाचन अधिकृत तोकेको थियो ।

कार्यक्षेत्रमा खटिएपछि निर्वाचनको ‘फिल्ड’ स्तरीय तयारी अघि बढ्ने प्रवक्ता आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

जिल्ला सदरमुकाम रहेको स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र जिल्लाको अन्य स्थानीय तहमा निर्वाचन अधिकृत जिम्मेवारीमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।

आयोगले उम्मेदवारको मनोनयनको लागि यही वैशाख ११ र १२ गतेको समय तोकेको छ । १३ गते उम्मेदवारमाथि उजुरी दर्ता गर्ने दिन तोकिएको छ भने १४ गते निर्वाचन अधिकृतले त्यसबारेमा निर्णय दिने कार्यक्रम छ ।

उम्मेदवारको मनोनयन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन गर्ने, मतदानपछि मतगणनालगायत कार्यहरू निर्वाचन अधिकृत कार्यालयले सञ्चालन गर्नेछ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार ०७:४४