सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन २०७९

‘गठबन्धनमा कांग्रेस एक्लै हावी’

लामो समयको छलफलपछि सत्तारुढ पाँच दलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँट टुंगो लगाएको छ । तर, महानगर र उपमहानगर दुवैमा कांग्रेसले ५० प्रतिशतभन्दा धेरै भाग पाएको छ ।

सत्तारुढ गठबन्धनमा पाँच दल रहेता पनि अन्य चार दल एक ठाउँमा र कांग्रेसलाई अर्को ठाउँमा राख्दा भागबन्डाको आधारमा कांग्रेसकै पल्ला भारी भएको छ । देशभरका ६ महानगर मध्ये कांग्रेस एक्लैले ३ महानगरमा प्रमुख पाएको छ ।

कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका पाएको हो । प्रतिशतको आधारमा कांग्रेसको भागमा परेको महानगर सिधैं ५० प्रतिशत हुन्छ । महानगरको प्रमुखमा मात्र होइन, उपप्रमुखमा समेत कांग्रेस एक्लैको पल्ला भारी भएको छ ।

वीरगन्ज, भरतपुर र पोखरामा कांग्रेसले उपप्रमुख पाएको छ । यो संख्या पनि ५० प्रतिशत हो । महानगरको प्रमुख र उपप्रमुखमा ५० प्रतिशत भाग पाएको कांग्रेसले उपमहानगरको प्रमुख अझै धेरै पाएको छ । जम्मा ११ उपमहानगर मध्ये कांग्रेसले ७ वटामा प्रमुख पाएको छ । यो कुल संख्याको ६४ प्रतिशत हुन्छ ।

कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगन्ज र धनगढी उपमहानगरमा प्रमुख पाएको छ । त्यसैगरी, जितपुर सिमरा, घोराही र हेटौडामा उपप्रमुख पाएको छ । वर्तमान सत्तारुढ गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा मिलेर बनेको हो । तर, महानगरको सिट बाँडफाँटमा भने कांग्रेस एक्लै हावी भएको छ ।

गठबन्धनका अन्य चार दललाई एक ठाउँमा राखेर कांग्रेसलाई अर्को ठाउँमा राख्दा पनि महानगर र उपमहानगरमा कांग्रेसले ५० प्रतिशतभन्दा धेरै हिस्सा पाएको छ । तर पनि कांग्रेसका नेता कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । भरतपुर र पोखराका कांग्रेसले त गठबन्धनमा आवद्ध अन्य दलका उम्मेदवारलाई भोट नै नहाल्ने भनिरहेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार ०७:१३