सूचनाको शक्ति - The Power Of Information

        

नेपाल प्रहरीमा राअविको दबदबा

नेपाल प्रहरीमा एसएसपीका १२ पद रिक्त छन् । रिक्त पदमा बढुवाका लागि राअवि टोली (सोर्सफोर्सका आधारमा राष्ट्रिय अनुसन्धान विभागबाट)का एसपी प्रतिस्पर्धामा छन् । तर, यो टोलीका धेरैजसो बदनाम भएकाले नयाँ टोलीलाई बढुवा दिनुपर्ने माग प्रहरीभित्र उठेको छ ।

सो टोलीका रामेश्वरप्रसाद यादब र विमल बस्नेत गतवर्ष निलम्बनमा परेका थिए । अहिले उनीहरू नै शक्तिशाली बनिसकेका छन् । सोही टोलीका एसपी श्यामकृष्ण अधिकारी, हिमालय श्रेष्ठ, माधवप्रसाद श्रेष्ठ, उमाप्रसाद चतुर्वेदी, डम्बरबहादुर विक, सुरेन्द्र गुरुङ, सिद्धिविक्रम शाह, दिलीपसिंह देउवा, मनोजकुमार यादव, सञ्जीव शर्मा दास लगायत अहिले बढुवाको दौडधुपमा छन् ।

त्यस्तै, प्रकाशराज शर्मा, राजेन्द्रसिंह खड्का, माधवप्रसाद बुढाथोकी, जयराम सापकोटा, विनोद घिमिरे, दीपककुमार बस्नेत, रामप्रकाश साह, टीकाबहादुर केसी, ओमबहादुर राना, सुशीलसिंह राठौर, केदार खनाल, वामदेव गौतम, दीपेन्द्र जिसी, शारदाप्रसाद चौधरी लगायत एसएसपी बढुवाको प्रतिस्पर्धामा छन् । उनीहरूमध्ये अधिकांश विभिन्न काण्डमा परेकाहरू छन् ।

उनीहरुमध्ये केही हाल जिल्ला इन्चार्ज चलाइरहेका छन् । कांग्रेस नेताहरूसँग राम्रो सम्बन्ध भएकै कारण प्रहरीमा आउने अवसर पाएका उनीहरू अहिले कांग्रेसकै सरकार भएको मौका छोपेर बढुवा हुने दाउमा छन् । अझ एसएसपी बढुवा भएपछि केही ठूला सहर भएका जिल्लाको प्रहरी प्रमुखमा एसएसपी खटाउनुपर्ने भनेर लबिङ पनि जारी राखेका छन् ।

उनीहरूलाई नेपाल प्रहरीमा ल्याउँदा नेपाल प्रहरीका दर्जनौं अधिकृतको करिअरमा असर परेको थियो । त्यतिबेला उनीहरू सर्वाेच्च अदालतसमेत गएका थिए । प्रहरीको १११ र ११३ को टोली अदालत गएको थियो । तर, अदालतमा पनि आफ्नै पक्षमा फैसला गराउन सफल भएका उनीहरू कांग्रेस सरकारमा आएसँगै शक्तिशाली भएका छन् । यसपटक प्रहरीको १११ र ११३ को टोलीलाई बढुवा गरेर उनीहरूलाई न्याय दिनुपर्ने माग प्रहरीमा उठेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार १८:१८