सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा महिला कलेजको उद्घाटन

मधेसी तथा मुस्लिम छात्राहरुलाई उच्च शिक्षाका लागि सहजता प्रदान गर्न नेपालगञ्जमा महिला कलेज निर्माण गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले निर्माण गरेको मङ्गलप्रसाद महिला कलेजको बुधबार उदघाटन गरिएको छ ।

पुर्वाञ्चल बिश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवराज कोइराला, नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, प्रदेश सांसद आईपी खरेलले बुधबार औपचारिक कार्यक्रमका बीचमा कलेजको उदघाटन गरेका हुन् ।

कलेजको उदघाटन गर्दै प्रा.डा. कोइरालाले पुर्वाञ्चल विश्व विद्यालयले निजी क्षेत्रबाट सञ्चालित मात्रै नभएर समुदायस्तरबाट सञ्चालित कलेजलाई पनि सम्बन्धन दिनका लागि प्राथमिकता दिने गरेको बताए ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले नेपालगञ्जमा मधेसी र मुस्लिम समुदायको बाक्लो बसोबास रहेका कारण यहाँ छात्रा विद्यालय र कलेजको आवश्यकता महसुश गरिएको बताए ।

कलेज आफैमा आत्मनिर्भर नभएसम्मका लागि नगरबाट आवश्यक सबै सहयोग प्राप्त हुने उनले बताउनुभयो । महिला विद्याय पछि कलेज निर्माण गरिएको हो ।

कलेजका प्रमुख रविन्द्र कर्णले करिब आठ करोड रुपैयाँको लागतमा उप–महानगरपालिकाले ४० कोठे भवन निर्माण गरेको जानकारी दिए ।

कम्प्युटर ल्यावसहितको १४ कोठे छात्राबाससमेत रहेको छ । मधेसी र मुस्लिम छात्राहरुलाई लक्षित गरेपनि सबै समुदायका महिलाहरुले कलेजमा अध्ययन गर्नेछन् ।

कलेजले ब्यवस्थापन सङ्कायमा बिबिए र बिबिएस, कानून सङ्कायमा ५ वर्षे बिएएलएलबी, शिक्षा सङ्कायमा ४ वर्षे विएड र विज्ञानतर्फ ४ वर्षे विसिए र बिआईटी कक्षा सञ्चालनका लागि पुर्वाञ्चल विश्व विद्यालयमा सम्बन्धनको प्रक्रिया शुरु गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार १७:५०