सूचनाको शक्ति - The Power Of Information

        

रुसले युक्रेनकाे पूर्वी क्षेत्रमा आक्रमण तीव्र बनायाे

रुसले पूर्वी युक्रेनमा आक्रमण तीव्र बनाउँदै लगेको छ । २४ घण्टामा रुसले डोनबास क्षेत्रमा मात्रै एक हजार पटकभन्दा धेरै ठूला आक्रमण गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

रुसी आक्रमणमा परेर कैयाैँ सर्वसाधारणले ज्यान गुमाएका, सहरका ठूला भवन ध्वस्त भएका र युक्रेनी सेनालाई युद्धको सामना गर्न हम्मे–हम्मे परिरहेको खबरमा उल्लेख छ ।

यस्तै पूर्वी सहर क्रेमिनामा पनि ठूला लडाइँहरू चलिरहेका छन् । रुसी सेनाले लुहान्सक क्षेत्रमा पर्ने क्रेमिनाको केही क्षेत्र कब्जा गरेको युक्रेनी सेनाले स्वीकार गरेको छ । सरकारले नागरिकलाई आश्रयस्थलमै बस्न भनेको छ ।

यसैबीच रुसी रक्षा मन्त्रालयले मरिओपोलको स्टिल कारखानामा लुकेर बसेका युक्रेनी सेनालाई आत्मसमर्पणको अन्तिम मौका दिएको छ ।

मारिओपोललाई रुसको पूर्ण कब्जामा जानबाट रोक्न भन्दै एक हजार जनाभन्दा धेरै युक्रेनी सेना विशाल स्टिल कारखानामा लुकेर बसेका छन् ।

रुसले हिजो पनि युक्रेनी सेनालाई आत्मसमर्पण गर्न भनेको थियो । आज भने रुसको रक्षा मन्त्रालयले युक्रेनी सरकारलाई चेतावनी दिँदै हतियार बिसाए सेना जीवितै रहने जिम्मा आफूहरूले लिने तर हतियार नबिसाएमा ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएको खबरमा उल्लेख छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार १८:२७