गत साता अवकाशमा गएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल बिदाइ हुनु केही दिनअघि उनको सचिवालयमा कार्यरत इन्सपेक्टर नारायण गुरुङले खनालको बदनाम गर्दै लाखौंको फर्जी भ्रमण आदेश बनाएको आरोप छ ।
खनालको अवकाशको मौका छोपी खनाललाई थाहै नदिई सचिवालयभित्रै कीर्ते काम भएको स्रोतले बताएको छ । सचिवालयमा कार्यरत डिएसपीदेखि परिचरसम्म दर्जनौं ब्यक्तिको नक्कली भ्रमण आदेश बनाइएको हो ।
चैत महिनाको विभिन्न मिति राखेर बनाइएको भ्रमण आदेश मध्ये सचिवालयमा कार्यरत डिएसपी सुमन बोगटीको टोलीमा परिचरसमेत गरि करिब १० जनालाई सुदूरपश्चिम प्रदेशका विभिन्न युनिटको अनुगमनमा गएको भन्दै डिएसपी रमेशविक्रम शाहीले हस्ताक्षर गरेका छन् ।
यस्तै, डिएसपी शाहीको टोलीमा पनि लगभग त्यति नै संख्यामा कर्णाली प्रदेशको युनिट निरीक्षण गरेको भन्दै डिएसपी सुमन बोगटीको हस्ताक्षर रहेको छ । जबकी, यी दुवै टोली कार्यालय छाडेर कतै नगएको सशस्त्र मुख्यालयस्थित आर्थिक प्रशासन स्रोत बताउँछ ।
सचिवालयमानै कार्यरत एक महिला इन्सपेक्टरको नाममा तीन÷चार महिनाको बिचमा झण्डै आधा दर्जन भ्रमण आदेश बनेको श्रोत बताउँछ । एक पटक यसरी फर्जी आदेश बन्दा लाखौं रुपैयाँ निकासा हुने गर्छ । जबकी, भ्रमणपछि प्रतिवेदन दिएपछि मात्र भुक्तानी दिनुपर्नेमा विना आधार भुक्तानी दिइएको छ ।
यसका डिजाइनर तत्कालीन इन्सपेक्टर नारायण गुरुङ भएको स्रोत बताउँछ । उनले यसरी आइजिपीको नाम बेच्दै धेरै फर्जी बिलमा भुक्तानी दिन लगाएको स्रोत बताउँछ । विगतमा फर्जी विलकै कारण सशस्त्रका चार आइजिपीविरुद्ध अख्तियारले मुद्दा चलाएको थियो ।
सत्यपाटी । काठमाडौं ।