सूचनाको शक्ति - The Power Of Information

        

लोकप्रिय खेल क्रिकेटबारे १० रोचक तथ्य

के तपाईँलाई थाहा छ, अहिले पाँच दिने फर्म्याटमा खेलिने टेष्ट क्रिकेट सन् १९७० भन्दा अगाडिसम्म ६ दिनको हुने गर्दथ्यो । सन् १९८३ को विश्वकपसम्म एकदिवशीय खेलको इनिङ ६०–६० ओभरको हुन्थ्यो । त्यस्तै ८०को दशकको उत्तरार्धसम्म पनि एक ओभरमा ६ होइन ८ बल फ्याँकिन्थ्यो । श्रीलंकाका मार्वन अट्टापटु वानडे क्रिकेटमा सबैभन्दा बढीपटक रनआउन हुने खेलाडी हुन् ।

उनी २५७ वान डे इनिङमा ४१ पटक रनआउट भएका छन् । त्यस्तै वानडे इतिहासमा सबैभन्दा धेरै ‘डक आउट’ हुने क्रिकेटरको किर्तिमान पनि श्रीलंकाली खेलाडीकै नाममा छ । सनथ जयसूर्याले श्रीलंकाका लागि खेलेको ४४५ म्याचमा जयसूर्याले ३८ पटक रनको खाता नै खोल्न सकेका थिएनन् जुन एउटा किर्तिमान नै हो । यो लेखमा हामीले क्रिकेट खेलसँग सम्बन्धित यस्तै–यस्तै १० रोचक तथ्यहरू प्रस्तुत गरेका छौँ ।

१) क्रिकेट खेलको विकास सोह्रौँ शताब्दीको अन्त्यतिरै दक्षिण–पूर्वी बेलायतमा भएको मानिँदै आएको छ । दुई देशका बिच अनौपचारिक रूपमा खेलिएको पहिलो खेल भने सन् १८४४ मा अमेरिका र क्यानडाबिच अमेरिकाको सेन्ट जर्ज क्रिकेट क्लबको मैदानमा खेलिएको खेललाई मानिन्छ । टेस्ट क्रिकेटको पहिलो आधिकारिक खेल सन् १८७७ मा इंग्ल्याण्ड र अष्ट्रलियाका बिच मेलवर्न क्रिकेट ग्राउण्ड (एमसीजी) मा खेलिएको थियो । त्यसयता अहिलेसम्मको अवधिमा १३ राष्ट्रले २ हजारभन्दा बढी टेष्ट म्याच खेलिसकेका छन् ।

२) अष्ट्रेलियाका सर डन ब्राडम्यामलाई टेष्ट क्रिकेटको सर्वकालीन महान खेलाडी मानिन्छ । ब्राडम्यानले आफ्नो टेस्ट क्रिकेट क्यारिअरमा ८० खेल खेल्दै ९९.९४ को औसतमा ६६९६ रन बनाएका थिए । यसक्रममा उनले २९ शतक बनाएका थिए जसमा १२ दोहोरो शतक र तीन तेहेरो शतक समावेश छन् । सर डन ब्राडम्यानले आफ्नो लामो खेलजीवनमा टेस्ट क्रिकेट र पहिलो तथा दोस्रो श्रेणी गरी ६६९ खेल खेल्दै ९० भन्दा माथिको औसतमा २११ शतकसहित ५० हजार भन्दा बढी रन बनाएको विकिपिडियामा उल्लेख छ ।

३) टेस्ट क्रिकेटमा सबैभन्दा बढी रन बनाउने किर्तिमान भने भारतका महान ब्याट्सम्यान सचिन तेन्दुलकरको नाममा छ । उनले २०० खेलको ३२९ इनिङमा ४९ शतकसहित १८४२६ रन बनाएका छन् । ४३६ एकदिवशीय खेलमा ५१ शतक समेत बनाएका तेन्दुलकर अन्तर्राष्ट्रिय क्रिकेटमा १०० शतक बनाउने संसारका एकमात्र ब्याट्सम्यान पनि हुन् ।

४) टेस्ट क्रिकेटको एकै इनिङमा सर्वाधिक रन बनाउने किर्तिमान वेष्टइन्डिजका ब्रायन लाराको नाममा छ । २००३/०४ को सिजनमा उनले इंग्ल्याण्डविरुद्ध अविजित ४०० रन बनाउँदै उच्च व्यक्तिगत रनका साथै एकै इनिङमा ४०० रनको आँकडालाई छुने दुर्लभ किर्तिमान कायम गराएका थिए । सन् १९९३/९४ मा उनले इंग्ल्याण्डविरुद्ध बनाएको ३७५ रनको किर्तिमान १० वर्षपछि अष्ट्रेलियाका म्याथ्यु हेडेनले ३८० रन बनाउँदै तोडेका थिए जसलाई एक वर्ष बित्न नपाउँदै लाराले पुनः आफ्नो नाम गराएका थिए ।

५) टेस्ट क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडी श्रीलंकाका मुथैया मुरलीधरण हुन् । उनले १३३ म्याचमा २२.७२ को औसतमा ८०० विकेट आफ्नो नाम गराएका छन् । दोस्रो नम्बरमा अष्ट्रेलियाका लेग स्पीनर शेन वार्न छन् जसले १४५ खेलमा २५.४१ को औसतमा ७०८ विकेट लिन सफल भएका थिए । तेस्रो नम्वरमा १६९ म्याचमा ६४० विकेट लिएका इंग्ल्याण्डका जेम्स एण्डरसन पर्दछन् ।

६) अहिलेसम्म केवल तीन खेलाडी टेस्ट क्रिकेटको एकै इनिङमा १० विकेट लिन सफल भएका छन् । अष्ट्रेलियाका जिम लेकरले इंग्ल्याण्डविरुद्ध १९५६ मा, भारतका अनिल कुम्बलेले १९८८/८९ मा पाकिस्तान विरुद्ध र न्युजिल्याण्डका इजाज पटेलले २०२१ मा भारतविरुद्ध एक इनिङका सबै विकेट आफ्नो नाम गराएका थिए । एउटै म्याचमा धेरै विकेट लिने खेलाडीमा पनि अष्ट्रेलियाका जिम लेकरकै नाउँ आउँछ । उनले म्याचको पहिलो इनिङमा ९ विकेट गरी एकै खेलमा १९ विकेटको किर्तिमान कायम गरेका थिए जसलाई ६५ वर्षभन्दा लामो अवधिमा पनि कसैले तोड्न सकेको छैन ।

७) एकदिवशीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीहरूको सूचीमा पनि सचिन तेन्दुलकरकै नाम पहिलो नम्बरमा आउँछ । उनले ४५२ इनिङमा ५१ शतकसहित १८४२६ बनाउन सफल भएका थिए । ४०४ इनिङमा १४२३४ रन बनाएका श्रीलंकाका कुमार संगकारा दोस्रो नम्वरमा पर्छन् । एकदिवशीय म्याचमा उच्च व्यक्तिगत स्कोरको रेकर्ड भने भारतका रोहित शर्माको नाममा छ । उनले २०१४ मा श्रीलंका विरुद्ध २६४ रनको पारी खेलेका थिए जुन एकदिवशीय खेलको उच्च व्यक्तिगत स्कोर हो ।

एकदिवशीय म्याचमा उनले तीनवटा दोहोरो शतक बनाइसकेका छन् । अहिलेसम्म उनीबाहेक अन्य पाँच खेलाडीले पनि वानडेमा दोहोरो शतक प्रहार गरेका छन् । २०१५ मा न्यूजिल्याण्डका मार्टिन गप्टीलले वेष्टइन्डिज विरुद्ध २३७, विरेन्द्र सेहवागले २०११ मा वेष्टइन्डिज विरुद्ध २१७, क्रिस गेलले २०१५ मा जिम्बाब्वे विरुद्ध २१५, २०१८ मा पाकिस्तानका फखर जमानले जिम्बाब्वेविरुद्ध २१० र २०१० मा सचिन तेन्दुलकरले दक्षिण अफ्रिका विरुद्ध २०० रन बनाउन सफल भएका थिए ।

८) अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने किर्तिमान वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलको नाममा छ । उनले वानडे, टेष्ट र टी–२० क्रिकेटमा गरेर ५५३ छक्का प्रहार गरेको रेकर्ड छ । त्यस्तै दोस्रो नम्बरमा ४७६ छक्का सहित पाकिस्तानका शाहिद अफ्रिदी र ४६१ छक्का सहित भारतका रोहित शर्मा तेस्रो नम्बर आउँछन् । वानडे क्रिकेटमा सबैभन्दा धेरै छक्काको किर्तिमान भने शाहिद अफ्रिदीको नाममा छ । उनले ३९८ वानडे इनिङमा ३५१ छक्का प्रहार गरेका थिए ।

९) वानडे म्याचमा सबैभन्दा ठूलो स्कोर बनाउने रेकर्ड इंग्ल्याण्डको नाममा छ । उसले १९ जून २०१८ का दिन अष्ट्रेलियाविरुद्ध ५० ओभरमा ४८१ रन बनाएर यो किर्तिमान राखेको थियो । एउटै खेलको दुई इनिङमा बनेको धेरै रनको किर्तिमान २००६ मा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबिचको खेलमा बनेको थियो जहाँ दुई टोलीले गरेर कुल ८७२ रन बनाएका थिए ।

अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै बनाएको ४३४ रनलाई पिछा गरेको दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा ४३८ रन बनाउन सफल भएको थियो । यो खेललाई इतिहासकै रोमाञ्चक वान डे म्याच समेत घोषणा गरिएको थियो । एक दिवशीय क्रिकेटमा सबैभन्दा कम योगफलमा अलआउट हुने खराव किर्तिमान जिम्बाब्वेको नाउँमा छ । २००४ मा श्रीलंकाविरुद्ध १८ ओभर खेल्दै जिम्बाब्वे केबल ३५ रनमा अलआउट भएको थियो ।

१०) सन् १९९७ मा भारतविरुद्ध कोलम्बोमा खेलिएको टेस्ट म्याचको पहिलो इनिङमा श्रीलंकाले ९५२ रन बनाएको थियो । टेस्ट क्रिकेटको एकै इनिङमा बनेको यो सबैभन्दा उच्च योगफल हो । एउटा टेस्ट इनिङमा ९०० रनको आँकडा पार गर्ने अर्को एकमात्र टोली इंग्ल्याण्ड हो । इंग्ल्याण्डले सन् १९३८ मा अष्ट्रेलियाविरुद्ध खेलिएको टेस्टको पहिलो इनिङमा ९०२ रनको योगफल खडा गरेका थिए । टेस्ट म्याचमा सबैभन्दा कम स्कोरमा अलआउट हुने किर्तिमान न्युजिल्याण्डको नाममा छ ।

सन् १९५५ मा इंग्ल्याण्डविरुद्ध खेलिएको खेलमा न्युजिल्याण्ड केवल २८ रनमा अलआउट भएको थियो । टी–२० क्रिकेटमा सबैभन्दा ठूलो योगफल तयार पार्ने रेकर्ड अफगानिस्तानको नाममा छ । अफगानिस्तानले २०१९ मा आयरल्याण्डविरुद्ध २० ओभरमा ३ विकेटको क्षतिमा २७८ रन बनाउँदै त्यो किर्तिमान कायम गरेको थियो । २०१९ मा नै चेक रिपब्लिकविरुद्धको खेलमा टर्की केबल २१ रनमा अलआउट भएको थियो जुन टी–२० इन्टरनेशनलको अहिलेसम्मको कम स्कोर हो । ४ विकेटको नोक्सानीमा २७८ नै बनाएको चेक रिपब्लिकले टर्कीविरुद्ध हात पारेको २५७ रनको जीत टी–२० इतिहासकै सबैभन्दा फराकिलो अन्तरको विजय हो ।

 

आइएनएस–स्वतन्त्र समाचार

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार १५:०१