पोखराका ‘एक’ (नाम नखुलाइएको), ४० वर्षीया पुरुषले हालै नेपाल परिवार नियोजन संघ कास्कीमा पुगेर स्थायी बन्ध्याकरण गराए । तीन सन्तान भइसकेपछि श्रीमतिले भन्दा आफूले बन्ध्याकरण गराउनु उचित ठान्दै उनले बन्ध्याकरण गराए । ‘एक’ले भने, ‘मेरो श्रीमतिले महिनावारीदेखि वच्चा जन्माउनुसम्मको पीडा खपिन्, हामीलाई सन्तानको रहर पनि पुगिसक्यो, त्यसैले उनको स्वास्थ्यलाई ख्याल गर्दै मैले नै बन्ध्याकरण गराउने सोचे ।’
उनले स्थायी बन्ध्याकरण गराएर आफूले श्रीमतिप्रतिको एउटा दायित्व पुरा गरेको बताए । तर सबै पुरुष ‘एक’ जसरी सोच्दैनन् । त्यसैले नेपालमा स्थायी बन्ध्याकरणको भार पनि महिलामा नै थोपरिएको छ । स्वास्थ्य कार्यालय कास्कीको तथ्यांक अनुसार गत वर्ष २०७८ को श्रावणदेखि फागुन महिनासम्ममा ८ महिनाको अवधिमा महिला स्थायी बन्ध्याकरण (मिनिल्याप) गराउनेमा महिला २४२ छन् भने पुरुष स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) गराउने मात्र ८२ जना रहेका छन् ।
कार्यालयका परिवार नियोजन निरीक्षक नरबहादुर सारुले बन्ध्याकरण गराउनका लागि पुरुष अघि नसर्ने गरेको बताए । सारुले भने, ‘यस्तो विषयहरूमा निर्णय लिने धेरै पुरुषहरू नै भए । यसले गर्दा बन्ध्याकरण गराउने विषयमा पनि महिला आफैले नै गर्नुपर्ने अवस्था छ । कतिपय अवस्थामा बाध्य भएर पनि महिलाहरूले बन्ध्याकरण गराउने गरेका छन् ।’ विभिन्न अध्ययन तथा तथ्यांकले नेपालमा परिवार नियोजनका स्थायी र अस्थायी साधन दुवैको प्रयोग पुरुषले भन्दा महिलाले बढी गर्दछन् ।
स्वास्थ्य कार्यालयको तथ्यांकमा पनि नेपालमा भ्यासेक्टोमी गराउने पुरुषभन्दा मिनिल्याप गराउने महिलाहरूको संख्या तीन गुणा बढी छ । परिवार नियोजन कार्यालय कास्कीले अघिल्लो तीन महिनाको अवधिमा ३२ जना पुरुषको स्थायी बन्ध्याकरण गराएको छ । भ्यासेक्टोमी गराउने पुरुषहरू सबैभन्दा कम उमेरको २५ वर्षको र सबैभन्दा बढी ५० वर्षभन्दा माथिको रहेका छन् । कार्यालयका कास्की शाखा प्रमुख नवराज तिवारीका अनुसार धेरै पुरुषहरूलाई बन्ध्याकरण गराउनु भनेको ठूलो अपरेशन हो भन्ने सोचाइ रहने भएकाले महिलाहरूलाई नै अस्थायी साधनहरूको प्रयोग बढी गर्नुपर्ने अवस्था छ ।
महिलाले प्रयोग गर्ने अस्थायी साधनहरू पिल्स, इम्प्लान्ट, कपर टी आदि हर्मोन र हर्मोनरहित भए पनि दुवैले कुनै न कुनै तरिकाले महिला स्वास्थ्यमा असर पर्ने गरेको उनले बताए । उनले भने, ‘महिलाहरूले पाखुरामा राख्ने इम्प्लान्टभन्दा पनि पुरुषहरूको भ्यासेक्टोमी गराउन सजिलो छ । भ्यासेक्टोमी मात्र ५ मिनेटको काम हो जब की महिलाका लागि गरिने परिवार नियोजनका साधनहरूको प्रक्रिया लामो र महिला स्वास्थ्यमा असर ल्याउने किसिमका हुन्छन् ।’
तिवारीका अनुसार कार्यालयमा वर्षोअघि बन्ध्याकरण गराउनेहरू खुसी र सन्तुष्ट छन् र अझ पहिला नै समयमा बन्ध्याकरण नगराएकाले श्रीमतिलाई धेरै दुःख भएको प्रतिक्रिया दिन्छन् । भ्यासेक्टोमी गराएका अर्को पोखराका ४१ वर्षीया पुरुष ‘दुई’ (नाम नखुलाइएको)ले बन्ध्याकरण गराएर आफूले सही निर्णय लिएको बताउनुभयो । ‘सन्तानको चाहना पुरा भइसकेको छ, श्रीमतिसँगको आपसी समझदारीमा नै गरेको हुँ, अब श्रीमतिलाई कति दुःख दिने त्यसैले भ्यासेक्टोमी गरेँ,’ ‘दुई’ले भने ।
भ्यासेक्टोमी गर्दा पुरुषको अण्डकोषमा सानो घाउ बनाएर शुक्रकीट नलीलाई छालाबाट बाहिर निकालेर बाँधेर काटिन्छ । यसले पुरुषलाई कमजोरी गराउँदैन । अप्रेशन गरेको ३ महिलासम्म अरु अस्थायी साधन प्रयोग गर्नुपर्दछ र अनिवार्यरुपमा ३ महिनापछि वीर्य परीक्षण गराउनुपर्छ त्यसपश्चात मात्र वीर्यमा शुक्रकीट छ छैन हेरेरमात्र अप्रेशन सफल भयो वा भएन निक्र्यौल गर्न सकिन्छ । जबकी महिलाको हकमा भने मिनिल्याप गर्दा नाइटोमुनी सानो शल्यक्रिया गरी पाठेघरको अण्डावाहिनी नलीलाई बाधेर काटिन्छ ।
त्यसपश्चात पनि १ हप्तासम्म घाउ सफा राख्नुपर्ने, पानी पर्न दिन नहुने अवस्था हुन्छ । कुनै घटनामा घाउ पाक्ने जोखिम पनि रहने गरेको हुन्छ । स्त्रीरोग विशेषज्ञ डा प्रेमराज पंगेनी भन्छन्, ‘महिलाका लागि भन्दा पुरुषका लागि बन्ध्याकरण सरल र सहज हुन्छ । महिलाको मिनिल्याप भनेको सानो अपरेशन भएपनि पेट नै खोल्नुपर्ने हुन्छ । जसले गर्दा इन्फेक्सनको जोखिम महिलालाई बढी हुन्छ । त्यसैले महिला बन्ध्याकरणमा जति जटिलता छ, पुरुष बन्ध्याकरणमा त्यो हुदैँन ।’
उहाँको अनुसार पुरुष बन्ध्याकरणले यौन सन्तुष्टि कम हुने अथवा पुरुषलाई शारीरिक रुपमा असर पुग्ने भन्ने किसिमका मिथ्यहरू गलत हुन् र भ्यासेक्टोमी पश्चात पनि पुरुष उत्तिकै स्वस्थ हुन्छन् । यदि भ्यासेक्टोमी रिर्भसल सर्जरी अर्थात् पुरुषले आफ्नो शुक्रकीट नलीलाई पुन जोड्न चाहे त्यो पनि सम्भव हुने डा पंगेनीले बताए । उनले भने, ‘रिर्भसल सर्जरीको प्रक्रिया दुवै महिला र पुरुषमा सम्भव छ, तर यो प्रक्रियामा पुरुषका लागि जटिलता नआउने तर महिलाका लागि निकै जटिल हुन्छ ।’
अनिच्छुक गर्भका कारण गर्भपतन गराउनेको संख्या पनि बढ्दो छ । परिवार नियोजन कार्यालय कास्की शाखामा नै सन् २०२२ को तीन महिनाको अवधिमा २४८ जनालाई गर्भपतन गराएका छन् । जसमा सबैभन्दा कम १५ वर्ष सबैभन्दा बढी ५० वर्षसम्मका महिलाले गर्भपतन गराएका छन् । यस्तै स्वास्थ्य कार्यालय कास्कीको गत वर्षको ८ महिनाको तथ्यांकले पनि मेडिकल र सर्जिकल दुवै गरि २० वर्षभन्दा माथिका २ हजार १६४ जना महिला रहेका छन् भने २० वर्षभन्दा कम उमेरका २७९ जना रहेका छन् ।
यस तथ्यांक मध्ये कास्कीमा गर्भपतन गराएका किशोरी तथा महिलामध्ये १८ जनालाई गर्भपतन पश्चात जटिलता देखिएको थियो । डा लक्ष्मी पौडेल भन्छिन्, ‘गर्भपतन गराउनुका धेरै कारणहरू मध्ये एउटा महत्वपूर्ण कारण पुरुषले स्थायी बन्ध्याकरण नगराउनु पनि हो । सबैभन्दा सुरक्षित पुरुषले कण्डमको प्रयोग गर्ने भए पनि कण्डमको प्रयोग नहुँदाको अवस्थामा अनिच्छुक गर्भ बस्ने सम्भावना बढि हुन पुग्छ ।’ उनका अनुसार महिलाको लागि अस्थायी साधनहरू विकल्पका रुपमा सजिलो भए पनि नियमितरुपमा यी साधनहरूको प्रयोगले महिला स्वास्थ्यमा असर पर्दछ ।
विशेषत् सन्तानको इच्छा पुरा भइसकेकाहरू जुनसुकै उमेर समुहको भए पनि भ्यासेक्टोमी गराउनु राम्रो हुने डा पौडेल बताउँछिन् । उनले भनिन्, ‘महिलाको मिनिल्याप गर्नु भनेको पेटबाट वच्चा निकाल्ने सरहको नै अपरेशन गर्नु हो, त्यसमा यहाँ पहाडि क्षेत्रका महिलाहरू शारीरिक बनोटका आधारमा मोटो र बोसो भरिएको हुनाले कतिपयको फ्यालोपियन ट्यूब अर्थात् अण्डाबाहिनी नली नै फेला पार्न नसकिने जटिलटा पनि हुन्छ । त्यसैले पनि परिवार नियोजनको स्थायी विकल्पको रुपमा महिलाको स्वास्थ्यलाई ध्यान दिदै पुरुषको भ्यासेक्टोमी पहिलो विकल्प हुनुपर्छ ।’
अस्थायी साधन
कण्डम – तुलनात्मक रुपमा कण्डम सबैभन्दा राम्रो र सुरक्षित हुन्छ । यसले एचआइभी एड्स देखि एस.टी.आई अर्थात् यौनजन्य रोगहरूबाट बचाउँछ । यसका बेफाइदा भनेको कहिलेकाहीँ कण्डम फुट्ने समस्याका कारण अनिच्छुक गर्भ बस्न सक्छ । कुनै महिलालाई यसले एलर्जी पनि गराउन सक्छ । महिला कण्डमको भने निकै कम प्रयोग हुन्छ ।
तीन महिने सुई – यो डिपो, संगिनी, तीन महिने सुई नामले बजारमा पाइन्छ । पाखुरा वा फिलामा लगाइने योे सुई सुरक्षित छ । यसको बेफाइदा यो हर्मोनल अस्थायी साधन हो । यसले कुनै महिलाहरूमा महिनावारी गडबडी देखिन्छ । कहिलेकाहीँ महिनावारी रोकिदाँ महिलाहरूमा गर्भ रहयो कि भने मानसीक रुपमा तनाव पनि हुन सक्छ । कुनै महिलामा यसले गर्दा वजन बढ्ने वा घट्ने समस्या पनि निम्त्याउन सक्छ ।
इम्प्लान्ट – यो परिवार नियोजनको असथायी साधन हो । यो ५ वर्षका लागि पाखुरामा घाउ बनाएर राखिन्छ । यो हर्मोनल छ । यसको र तीन महिने सुईको डोज एकै हुने भएकाले यो दुवै बेफाइदा पनि एकै छन् । यसको प्रयोगले कसैमा अनुहारमा कालो पोतो पनि आउने गर्दछ ।
पिल्स – यो महिलाहरूले दिनहुँ खाने चक्की हो । यसले गर्भ रहनबाट रोक्छ । यसको प्रयोगले कुनै महिलाहरूमा रिँगटा लाग्ने, वान्ता हुने, खाना रुचि नहुने, मोटोपन हुने जस्ता अवस्था निम्त्याउँछ ।
कपर टी – परिवार नियोजनको अस्थायी साधन मध्ये एकमात्र हर्मोनरहित साधन कपर टी हो । यो महिलाहरूको पाठेघरमा प्रयोग १२ वर्षसम्मका लागि राखिन्छ । यो तामाको तारले बेरिएको कडा खालको प्लाष्टिक हो जसमा सानो नाइलनको धागो राखिन्छ । पाठेघर निकै संवेदनशील अंग भएकाले तामा राखिँदा केही जटिलताहरू आउन सक्छन् । यसको प्रयोगले राखेको केही दिनसम्म सेतो पानी बग्ने, एक महिनासम्म पेट दुख्ने, कहिलेकाही रगतका थोपाहरू आउन सक्छ, कसैमा कपर अर्थात् तामाको एलर्जी पनि हुन सक्छ । यससंगै कपर टी राखेपछि कण्डम बिना यौन क्रियाकलाप हुदाँ यौनजन्य सक्रमण हुने सम्भावना पनि हुन सक्छ ।
आइएनएस–स्वतन्त्र समाचार
दुर्गा राना मगर । पोखरा ।