बेइजिङमा आधारित स्पेस यात्रा सम्बन्धी कम्पनी लिङकङ टिआनशिङले प्रति सेकेन्ड १.६ किलोमिटरको गतिमा यात्रा गर्नसक्ने सम्भावना बोकेको व्यावसायिक हवाई यात्रा विकसित गरिरहेको छ ।
यो भनेको चीनको शाङ्घाई सहरबाट अमेरिकाको न्युयोर्कसम्म दुई घण्टामै पुग्न सकिने गति हो । हाइपरसोनिक विमान भनेको आवाजको गति भन्दा पाँच गुणा तेज रफ्तारमा यात्रा गर्न सकिने उडान हो ।
सो फर्मले अहिले नै प्रचारका लागि आकर्षक एनिमेटेड भिडियो सार्वजनिक गरिसकेको छ, जसमा यात्रुहरूले हेल्मेट या स्पेससुट नलगाई १२ वटा सिट भएको विमानमा यात्रा गरिरहेका छन् । यसको गति बढाउन दुईवटा ‘टाइटेनिक बुस्टर’ रकेट जडान गरिएको छ ।
यो विमान प्रति घण्टा ७ हजार किलोमिटरसम्म यात्रा गर्न सक्ने छ । कम्पनीको वेबसाइटकाअनुसार यसको पहिलो परीक्षण उडान अबको तीन वर्षमा सम्पन्न हुनेछ जसपछि २०३० सम्म आइपुग्दा विमानले पूर्ण रूपमा हाइपरसोनिक उडान सञ्चालन गर्ने छ ।
यसरी हाइपरसोनिक उडानप्रति विश्वमा बढ्दो आकर्षण छ, जुन रेसमा चीन पनि पछि पर्न नचाहेको स्पष्ट देखिन्छ । यसमा चिनियाँ सरकारबाट उल्लेखनीय लगानी हुने हुनाले पनि यस्ता परियोजना अन्य राष्ट्र भन्दा त्यहाँ छिटो सम्पन्न हुन सक्ने अनुमान गरिएको छ जसले चीनलाई यो हाइपरसोनिक दौडमा अग्रता दिलाउने छ ।
गत अगस्टमा मात्र शाङ्घाईको लगानीकर्ता मेट्रिक्स पार्टनर्स चाइना र सरकारको स्वामित्वमा रहेको शाङ्घाई गोसेङ ग्रुपले यसका लागि सुरुवाती ४ करोड ७० लाख डलरको आर्थिक कोष खडा गरेका थिए ।
के यो रकेट साइन्स हो ?
अहिले हवाइ र अन्तरिक्ष विकासमा चीनको दुई प्रमुख प्रतिस्पर्धी रुस र अमेरिका हुन् । तर यी दुई भन्दा फरक, चीनले नयाँ बजारहरूमा उपभोक्ताका लागि तुलनात्मक धेरै सहुलियतपूर्ण सेवा ल्याएर आफ्नो स्थान जमाउने गरेको छ ।
मार्च २०१८ मा यसले एक २६५ मिटर लामो सुरुङ निर्माण गरेकाबारे सार्वजानिक गरेको थियो, जसलाई हाइपरसोनिक विमानको प्रोटोटाइप भनिएको छ । यसलाई ३० हजार किलोमिटर प्रति घण्टाको रफ्तारमा परीक्षण गर्न सकिन्छ ।
सुरुवाती चरणमा भएपनि सरकारसँग मिलेर विभिन्न प्राविधिक कम्पनीहरूले यसमा द्रुत गतिमा काम थालिसकेका छन् । हाइपरसोनिकको विषयमा एउटा मात्र गम्भीर प्रश्न के छ भने कति मान्छेहरूले आफ्नो गन्तव्यमा चार गुणा छिटो पुग्न ‘फुल फर्स्ट क्लास टिकट’ खरिद गर्लान् ?
यो प्रक्षेपण सबैभन्दा महत्वपूर्ण रहेको बताइएको छ । जस्तै यसअघि न्युयोर्कदेखि लन्डनसम्म १० घण्टा लाग्ने उडान यात्रालाई ७ घण्टा बनाउँदा यसले व्यावसयिक यात्रुहरूको केही घण्टा बचायो तर उनीहरूलाई तिनको पूरा दिन फिर्ता दिन सकेन ।
तर, बिहानै उडेर दिउँसोको मिटिङमा पुग्न सकिने भयो भने चाहिँ यसको बढी अर्थ हुने तर्क गरिएको छ । चीनको यो नयाँ महत्वाकांक्षी योजनामा चाहिँ यसले सरकारबाट पनि पर्याप्त समर्थन पाइरहेको छ, जसले यसको उपलब्धिमा धेरै फरक पार्न सक्छ ।
सीएनएन । बेइजिङ ।