सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

जसपा र एमाले चुनावी प्रचारमा, गठबन्धनमा अझै सकस

स्थानीय तहको निर्वाचनका लागि बाँकेका सत्ता साझेदार चार दल गठबन्धनको कसरतमा लागिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एमाले)ले उम्मेदवार छनोट गरेर प्रचारप्रसार सुरु गरिसकेका छन् ।

जिल्लामा जसपार्टीले चार पालिका कसैलाई नछोड्ने भन्दै उम्मेदवार छनोट गरेर चुनाव प्रचारमा लागिसकेको छ भने एमाले पनि पाँच पालिकामा उम्मेदवार छनोट गरेर अन्य पालिकाको पनि अन्तिम तयारीमा छ ।

सत्ता साझेदार दल नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत र जनमोर्चा नेपाल भने अझै पनि गठबन्धनकै कसरतमा लागिरहेका छन् । जसपाले वडावडामा गएर भेलामार्फत प्रचारप्रसार कार्यालयहरु खोलेर जनसम्पर्कलाई तीव्र पारिसकेको छ ।

जसपाका केन्द्रिय नेता बाँके क्षेत्र नं.२ का संघीय सांसद र पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईले तयार पारेको आक्रामक निर्वाचन रणनीतिलाई सिंगो जिल्ला पार्टीले आत्मसात गरेर टोलटोलमा छिरेर निर्वाचन प्रचारलाई तीव्र बनाएको छ ।

पूर्वमन्त्री राईले तयार पारेको अक्रामक प्रचार रणनीति अनुसार नै जिल्लामा जसपाले प्रचार अभियानलाई अगाडी बढाएको छ । जसपाले भने उम्मेद्वार टुङ्गो लागेका स्थानीय तहमा एक चरणको प्रचार अभियान सकिसकेको पनि जनाएको छ ।

जिल्ला अध्यक्ष कमरुद्दीन राईले आफ्नो पार्टीले उम्मेदवार टुङ्गो लागेका स्थानीय तहमा प्रचारप्रसार र जनसम्पर्क अभियानलाई तीव्र बनाएको बताए । जसपाले नेपालगन्जको वडा नं. २, ८, ९, १५ र १७ मा पार्टीको वडा प्रचार कार्यालय पनि खोलिसकेको छ ।

जसपाका केन्द्रिय नेता तथा पूर्व शहरी विकास मन्त्री राईले यसपटक नेपालगन्जका सबै वडा जसपामय भएको जनाउँदै आफ्ना उम्मेद्वारहरुको जीत सुनिश्चित रहेको दावीसहित जसपाको स्थानीय सरकार बन्नेमा कुनै पनि आशंका नरहेको बताए ।

जसले नेपालगन्ज उपमहानगरको प्रमुखमा कमरुद्दिन राई, डुडुवाको अध्यक्षमा भण्डारीलाल यादव, जानकीको अध्यक्षमा राजीव बर्मा र नरैनापुरको अध्यक्षमा इस्तियाक अहमद साहलाई उम्मेदवार बनाएर प्रचारप्रसार तीव्र पारेको छ ।

यता नेकपा (एमाले)ले बाँकेका आठ पालिकामध्ये पाँच पालिकाको उम्मेदवार टुङ्ग्याएको छ । एमालेले नेपालगन्ज उपमहानगरपालिका, खजुरा, नरैनापुर, डुडुवा र जानकी गाउँपालिकाको उम्मेदवार छनोट गरिसकिएको छ ।

अब तीन वटा पालिकामा उम्मेदवार टुङ्गो लगाउन बाँकी रहेको एमालेका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज सूर्य ढकालले जनाए । उनका अनुसार कोहलपुर नगरपालिका, वैजनाथ र राप्तीसोनारी गाउँपालिकामा उम्मेदवार छनोट गर्न बाँकी छ ।

इन्चार्ज ढकालले नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा पशुपतिदयाल मिश्र, खजुराको अध्यक्षमा सुमन मल्ल, नरैनापुरको अध्यक्षमा पद्मावती यादव, डुडुवाको अध्यक्षमा सरोजकुमारी यादव र जानकीको अध्यक्षमा हिमांशु यादवलाई उम्मेदवार बनाइएको बताए ।

कोहलपुर नगरपालिका, वैजनाथ र राप्तीसोनारी गाउँपालिकामा धेरै जनाले इच्छा देखाएकाले मिलेर आउन आग्रह गरिएको छ । एमालेले छनौट गरेका उम्मेदवारमा खजुरामा मात्रै जित्न सक्ने आँकलन गरिएको छ । अन्यत्र भने एमाले कमजोर रहेको आँकलन छ ।

यता गठबन्धनबारे वार्ता चलिरहे पनि नेकपा (एकीकृत समाजवादी)ले नेपालगन्ज उपमहानगरको प्रमुखमा नेपालगन्जका पूर्व उपप्रमुख समसुद्दिन सिद्दिकी र उपप्रमुखमा करिश्मा योगीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

उम्मेदवार छनोटमा सबैभन्दा पछाडि नेपाली काँग्रेस परेको छ । काँग्रेसमा सबैभन्दा बढी आकाङ्क्षी भएकाले उम्मेदवार छनोटमा ढिलाइ भएको जनाइएको छ । गठबन्धनबारे निष्कर्षमा नपुग्दा पनि उम्मेदवार छनोटमा ढिलाइ भइरहेको काँग्रेस बाँकेले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार ०८:०४