सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि सातौं कृषि गणना

आजदेखि देशका ७७ जिल्लाका ७५३ पालिकाका ३ लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिने भएको छ ।

कृषि गणनाका लागि ५ हजार २०० गणक र १ हजार ३०० सुपरिवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्याङ्क विभागका उप–महानिर्देशक हेमराज रेग्मीले जानकारी दिए ।

वैशाख ६ देखि १९ सम्म सञ्चालन हुने कृषि गणनामा स्थानीय तहमा वैज्ञानिक विधिले छनोट गरिएका कूल ३ लाख ५० हजार कृषक परिवारसँग व्यक्तिगत अन्तरवार्ताद्वारा कृषि क्रियाकलाप सम्बन्धी विस्तृत विवरण सङ्कलन गरिनेछ ।

तथ्याङ्क सङ्कलनका लागि गणक र सुपरिवेक्षकका लागि ४५ दिनको समय तोकिएको छ । सातौँ कृषि गणनामा गणकले सङ्कटमा रैथाने पशुपक्षीको तथ्याङ्क, सम्पूर्ण बाली, माछा, पशुपंक्षी पालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गर्नेछन् ।

राष्ट्रिय जनगणना सुरु भएको छ महिनापछि हुन लागेको यस कृषि गणनामा कृषकलाई २४ प्रश्न सोधिन केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । यस वर्षको कृषि गणनामा पारिवारिक, व्यावसायिक, तथा संस्थागत रुपमा बाँझो जमिनको समेत तथ्याङ्क सङ्कलन गरिने भएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार ०७:२६