सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

सरकारले आज र भोलि बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउने भएको छ । आज र भोलि दुईदिन देशव्यापी रुपमा ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चानल हुने भएकाले ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ का साथै जुकाको औषधि खुवाइने मन्त्रालयले जनाएको छ ।

यो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा लगि नछुटाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । वितरण केन्द्रमा जाँदा कोमिड–१९ विरुद्धका सबै जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न र गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

सबै वडामा केन्द्र तोकेर तथा स्वास्थ्य स्वयंसेवीकाले घरदैलो कार्यक्रम गरी ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउने कार्यक्रम रहेको छ । यसवर्ष २७ लाख बालबालिकालाई भिटामिन ए, २४ लाखलाई जुकाको औषधि र ६ लाख बालबालिकालाई ‘बालभिटा’ खुवाइने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार ०७:१९