सूचनाको शक्ति - The Power Of Information

        

गर्मीयामको कहर

उफ् ! नेपालगन्जको गर्मी, विजुली झनै अधर्मी

गर्मीयाम शुरु भएयता पानी नपरेपछि चर्को घाम र तातो हावा ‘लु’ चल्न थालेको छ ।

नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगन्ज लगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा ‘लु’ चलेको छ । ‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ । मौसम विज्ञान विभागको नेपालगन्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस नाघेको छ ।

गर्मीयाम शुरु भएयता पानी नपरेपछि चर्को घाम र तातो हावा ‘लु’ चल्न थालेको छ । तापक्रम वृद्धि र ‘लु’ चल्न थालेसँगै बढी गर्मी महसुस भइरहेको छ । चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ । मौसम विज्ञान विभागका अनुसार यहाँ दैनिक चार घन्टासम्म तातो हावा चल्ने गर्छ ।

अझै तीन चार दिनसम्म गर्मी बढ्न सक्छ । पश्चिम तराईमा गर्मी बढेसँगै सावधानीपूर्वक घर बाहिर निस्किनुपर्ने चिकित्सकहरुको भनाई छ । ‘तातो हावा चल्न सुरु भएको छ,’ भेरी अस्पतालका डा.प्रकाश थापा भन्छन्, ‘यस्तो अवस्थामा अत्यावश्यक कामबाहेक अरू बेला घर बाहिर निस्किनुहुँदैन । निस्कनै परे सावधानीपूर्वक हिँड्डुल गर्नुपर्छ ।’

दिउँसो घरभित्र पंखा लगाउँदा पनि तातो हावा आउने गरेको नेपालगन्जका विक्रम श्रेष्ठले बताए । उनले भने, ‘तातो हावा चल्न थाल्दा समस्या भएको छ । तातो हावा र तापक्रम वृद्धिले बढी गर्मी महसुस भइरहेको छ ।’ दिउँसो ‘लु’ चल्नाले गर्मीमा हिँडडुल गर्न र खुला आकाशमुनि काम गर्न समस्या भएको स्थानीयहरु बताउँछन् ।

बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री बढेको छ । तापक्रम बढ्नाका साथै चल्ने तातो हावा, हुरी, धुलोसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम बढेको छ । तातो हावाहुरीकै कारण आँप, तथा अन्य हरियो तरकारी खेती प्रभावित भएको छ । कामदारको दैनिक जीवन कष्टकर बन्न थालेको छ ।

तातो हावाकै कारण दिउँसो बाहिर हिँडडुल गर्नसमेत गाह्रो भएको छ । तापक्रम उच्च भएपछि बालबालिका बिरामी हुन थालेका छन् । गर्मीका कारण घाउखटिरा, आउमासी, टाइफाइड ज्वरो, झाडापखाला लगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको सम्बद्ध चिकित्सकहरुले जनाएका छन् ।

यहाँका अस्पताल तथा स्वास्थ्य केन्द्रमा गर्मी मौसममा लाग्ने विभिन्न रोगका बिरामीको चाप बढ्दै गएको छ । गर्मी बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले चिकित्सकले सजगता अपनाउन सुझाव दिएका छन् । गर्मी तथा वर्षायाममा बढी मात्रामा देखिने समस्या खाना विषाक्त हुनु हो ।

काँचो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने, पचाउन नसकिने खाद्य पदार्थले खाद्यान्न विषक्त हुने र यसबाट वान्ता हुने, पखाला लाग्ने र ज्वरो आउनेजस्ता समस्या देखा पर्नसक्छ । अत्यधिक गर्मीमा वायु मण्डलले तातो हावा फ्याँक्दा ‘लु’ लाग्नसक्ने र यसका कारण शरीरबाट पसिना धेरै निस्केर शरीरमा पानीे कम हुन्छ ।

पानी कम भएपछि अङ्गहरुले तापक्रमलाई व्यवस्थित राख्न नसक्दा कमजोरी हुनेलगायत अन्य शारिरिक समसया देखा पर्ने भएकाले यसबाट बच्न पर्याप्त पानी पिउन डाक्टरहरुले सुझाएका छन् । चैतदेखि नेपालगन्ज लगायत पश्चिम तराईमा पानी परेको छैन । जसका कारण पनि यहाँ गर्मी अत्यधिक बढिरहेको छ ।

‘बिहान ११ बजेदेखि दिउँसो ४ बजेको समयमा घाममा ननिस्कने, निस्कनै परेमा छाताको प्रयोग गर्नुपर्ने, पानीको बोतल साथैमा राखी पटक÷पटक पानी पिउनुपर्ने खानामा शाकाहारी खानेकुरा, झोल पदार्थ र फलफूल प्रशस्त मात्रामा खानुपर्ने र कडा घाममा नशालु पदार्थ सेवन नहुने पनि चिकित्सकहरु बताउँछन् ।

मौसम पूर्वानुमान महाशाखा पनि आगामी तीनदेखि तातो हावा ‘लु’ चल्ने भएकाले सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । तापक्रम बढिरहेको छ । तापक्रम बढ्नु यो प्राकृतिक कुरा भयो । न यसलाई रोक्न सकिन्छ न त छेक्न । तर यहीसमयमा भइरहेको अनियमित विद्युत कटौतीले भने नेपालगन्जबासीलाई थप सास्ती दिएको छ ।

उज्यालो अभियानका अभियन्ता भनिने नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङविरुद्ध अनियमित विद्युत कटौतीले पारेको असरको विरोध भइरहेको छ । उनले मुलुकमा लोडसेडिङ अन्त्य भइसकेको बताउँदै आए पनि अघोषित लोडसेडिङ्ग भइरहेको भन्दै जनस्तरमा विजुली पनि अधर्मी भएको भन्दै विरोधका स्वरहरु आउन थालेका छन् ।

गर्मीयामकै समयमा नेपालगन्जमा दैनिक चार पाँच घण्टासम्म वत्ति जाने गरेको छ । उखरमाउलो गर्मीले आक्रान्त भएका नेपालगन्जबासीलाई घरभित्र बस्नै मुश्किल परेको छ । बत्ति भए पनि लो भोल्टेजका कारण फ्यान राम्रोसँग चल्दैनन् । नगरबासी भन्छन्, ‘कम्तीमा विद्युत प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरोस् ।’

प्राधिकरणले जतिबेला मन लायो त्यतिबेला बत्ती काट्ने गरेका कारण नगरबासी विद्युत प्राधिकरणप्रति आक्रोशित भएका छन् । व्यापार व्यवसाय प्रभावित भएको छ । उद्योग कलकारखाना सञ्चालनमासकस भएको उद्योगीहरु बताउँछन् । छिनमै बत्ती आउने र छिनमै जाने समस्याका कारण विद्युतिय सामाग्री विग्रने गरेको स्थानीयबासी बताउँछन् ।

विद्युत प्राधिकरणका कर्मचारीहरु भने रेडिमेट जवाफ दिन्छन् । उनीहरुले गर्मीमा माग बढी हुने र आपूर्ति कम हुने भएकाले समस्या छ । तर उनीहरु लोडसेडिङ भने नभएको बताउने गर्छन् । नेपालगन्ज भौगोलिक हिसाबले समुन्द्री सतहदेखि १५८ मिटर उचाइमा रहेको छ । यहाँको तापक्रम विगत चार/पाँच वर्षको अन्तरालमा फेरबदल हुँदै आएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार १७:१२