सशस्त्र प्रहरी बलको भावी महानिरीक्षक (आइजीपी) १५ दिन पहिले नै तय भएको छ । एआइजी बढुवाका लागि डीआइजी राजु अर्याललाई सिफारिस गरेसँगै आइजीपी उनै बन्ने पक्का भएको हो ।
अर्याल सशस्त्रमा कार्यरत डीआइजीमध्ये वरिष्ठ हुन् । एआइजी बढुवाका लागि चार जनाले कागजात बुझाएर दाबी गरे पनि सरकारले वरिष्ठताक्रममा अगाडि रहेका अर्याललाई नै एआइजी बढुवाका लागि सिफारिस गरेको हो ।
अर्यालसँगै डीआइजीहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र पछि डीआइजी भएका वंशीधर दाहालले पनि एआइजीमा दाबी गरेका थिए । सशस्त्र प्रहरीमा बढुवा गर्दा समय दिएरै कागजातसहित दाबी गर्न आह्वान गरिन्छ ।
हालका आइजीपी पुष्पराम केसी वैशाख १९ गते नै अनिवार्य अवकाशमा जाने भएकाले चुनावअघि नै सशस्त्र प्रहरीमा पनि नयाँ नेतृत्व आउनेछ । नेपाल प्रहरीमा पनि त्यसै दिन आइजीपी परिवर्तन हुनेछ ।
शैलेश थापा क्षेत्री पनि वैशाख १९ गते नै अनिवार्य अवकाशमा जानेछन् । दुवै प्रहरी प्रमुख ३० वर्षे सेवा अवधिका कारण अवकाश हुने भएका हुन् । सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेल आइजीपी केसीसँगै अवकाश हुनेछन् ।
उनीहरुको अवकाशसँगै अर्याल आइजीपी बन्ने छन् । त्यसपछि एआइजीका लागि डीआइजी रामशरण पौडेल र चन्द्रप्रकाश गौतम प्रमुख दाबेदार हुन् । आइजीपी भएपछि राजु अर्यालले पूरा चार वर्ष नेतृत्व गर्नेछन् ।
यसअघि सशस्त्र प्रहरीमा आइजीपीका रुपमा पूरा कार्यकाल शैलेन्द्र खनालले मात्रै काम गरेका छन् । सशस्त्र प्रहरीमा अरु भने अनिवार्य अवकाशमा जाँदा चार वर्ष सशस्त्रको नेतृत्व गरेका छैनन् ।
नेपाल प्रहरीमा अन्योल
सशस्त्र प्रहरीमा भावी आइजीपी तय भए पनि नेपाल प्रहरीमा भने अझै अन्योल छ । आइजीपीका लागि एउटै ब्याचका चार एआइजीहरु दाबेदार छन् ।
तीमध्ये पनि विश्वराज पोख्रेल डेढ वर्षपहिले नै एआइजी भएका हुन् । अरु दाबेदारभन्दा पहिल्यै एआइजी भएकाले उनको सम्भावना बलियो छ । त्यसो त सहकुल थापा पनि गत असारमै एआइजी भएका थिए । उनी पनि आइजीपीका बलिया दाबेदार हुन् ।
थापालाई विश्व पोखरेलकै विकल्पमा आइजीपी बनाउन एक्लै एआइजीमा बढुवा गरिएको थियो । थापा आइजीपी भए कमाण्डो तालिम गरेको पहिलो आइजीपी समेत हुनेछन् । उनी पनि आइजीपीको लबिङमा छन् ।
तर, दुई एआइजी हुँदाहुँदै अन्य दुई डीआइजीलाई पनि सरकारले एआइजीमा बढुवा गरेपछि भने उनीहरुमध्येबाटै आइजीपी बनाउने चर्चा पनि छ । हुँदै नभएको दरबन्दी थप गरेर एआइजी बनाउनु आइजीपी बनाउनकै लागि भएको प्रहरीभित्रै चर्चा छ ।
धीरज सिंहलाई आइजीपी बनाउने बलियो सम्भावना देखिन्छ । उनलाई एआइजीमा बढुवा गर्दा बालुवाटार र खुमलटार एकमत भएकाले पनि सिंह आइजीपीका बलिया दाबेदार हुन् । यसअघि तीनजना एआइजी बढुवा गर्दा सिंह दुवैको रोजाइमा परेका थिए ।
त्यसो त रवीन्द्रबहादुर धानुक पनि विगतमा देउवा निकट भएर काम गरेका र उनीमाथि सत्ता साझेदार माओवादीको पनि विश्वास छ । अर्थमन्त्री जनार्दन शर्माकै जोडबलमा धानुक एआइजी भएका हुन् । धानुक पनि अहिले आइजीपी बन्न च्यानल मिलाइरहेका छन् ।
यसअघि प्रहरीमा सरुवा बढुवा गर्दा शेरबहादुर देउवा सधैँ विवादित बन्थे । उनले पछिल्लो पटक गरेका नेपाल प्रहरीका चार डीआइजी बढुवा, सशस्त्र प्रहरीको आइजीपी र एआइजी बढुवामात्रै हुन् । तीबाहेक विगतदेखि नै देउवा बरियता मिच्नेमध्ये अग्रपंक्तिमा छन् ।
यसअघि सिंह र धानुकलाई एआइजी बढुवा गर्दा पनि उनले वरिष्ठलाई पन्छाउँदै गरेका थिए । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परे पनि सर्वोच्चले अल्झाइदिएको छ । जसकारण रिट हालेका डीआइजीहरू सर्वोच्चले टुंगो नलगाउँदै अवकाशमा जाने अवस्थामा पुगेका छन् ।
अन्ततः उनीहरुको रिट पनि खारेज हुने अवस्थामा पुगेको छ । विवादमा परिन्छ कि भन्ने कुरासँग डर नमान्ने देउवाले जसलाई पनि आइजीपी बनाउन सक्ने चर्चा हुनु र चुनावको मुखमा एआइजी थप गर्नुले देउवाले आफू अनुकुल आइजीपी बनाउन सक्ने चर्चा छ ।
जसकारण प्रहरी नेतृत्व रिक्त हुने दिन नजिँकिदा पनि भावी आइजीपीको टुंगो नभएको हो । आइजीपीका चारै दाबेदारहरु २०४९ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन् ।
सत्यपाटी । काठमाडौं ।