सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

महानगर र उपमहानगरको भागबन्डा गर्न ‘निर्णायक’ बैठकमा गठबन्धन

यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलबीच तालमेल गर्ने सहमति भइसकेको भए पनि सिट भागबन्डामा अझै कुरा मिल्न सकेको छैन । सोही विषयमा छलफल गर्न अहिले प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनका शीर्ष नेतासहितको बैठक बसिरहेको छ ।

पाँच दलका शीर्ष नेतासहित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बिहान १० बजेपछि सुरु भएको हो । जारी बैठकले मूलतः महानगर र उपमहानगरका प्रमुख र उपप्रमुख पदमा ककसले उम्मेदवारी दिने भन्ने विषयमा निर्णय गर्ने भनेर यसअघि नै नेताहरुले बताएका छन् ।

बैठकमा समितिका १० सदस्यसहित गठबन्धनका शीर्ष नेताहरू नेपाली कांग्रेका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालगायत, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवुकमार नेपाल र महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव लगायत सहभागी छन् । पटकपटक बैठक बसे पनि उनीहरूले आपसमा स्थानीय तहको सिट बाँडफाँडको टुंगो लगाउन सकेका छैनन् ।

आइतबार बसेको बैठक पनि बिनानिष्कर्ष सकिएको थियो । स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता हुँदै छ । मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी हुँदा पनि सत्ता गठबन्धनका दलले महानगर र उपमहानगरसहितका स्थानीय तहमा उठ्ने उम्मेदवारका विषयमा सहमति गर्न सकेका छैनन् । महानगर, उपमहानगरसहित महत्वपूर्ण स्थानीय तहमा गठबन्धनका सबै दलले दाबी गर्दा सहमति हुन नसकेको हो ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार ११:०५