सूचनाको शक्ति - The Power Of Information

        

सत्ता गठबन्धनको बैठक बस्दै, जुट्ला सिट बाँडफाँडमा सहमति ?

स्थानीय तहको निर्वाचन आउन एक महिना पनि बाँकी छैन । ३० वैशाखमा हुन लागेको निर्वाचनका लागि आयोगले दलहरूलाई ११ र १२ वैशाखमा मनोनयन गर्न भनेको छ ।

मनोनयन दर्ता गर्न ६ दिन मात्र बाँकी रहँदा दलहरूले सबै ठाउँमा उम्मेदवारको टुंगो भने लगाइसकेका छैनन् । विशेष गरी सत्ता गठबन्धनले उम्मेदवारको टुंगो लगाउन ढिलाइ गरिरहेको छ ।

उसले चासोका साथ हेरिएको महानगरपालिका र उपमहानगरपालिकामा समेत उम्मेदवार छान्न सकिरहेको छैन । सिटको भागबन्डामा सहमति जुट्न नसक्दा गठबन्धनलाई उम्मेदवार छान्न सकस भइरहेको हो ।

गठबन्धनको शीर्ष दल नेपाली कांग्रेसले तीन महानगर र दुई उपमहानगरपालिकामा दाबी गरेको छ । उसले काठमाडौं, ललितपुर, विराटनगर महानगरपालिका र धनगढी तथा फुटबल उप-महानगरपालिकामा दाबी गरेको हो ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उप-महानगरपालिका पाउनुपर्ने दाबी गरिरहेको छ ।

अर्को सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले पोखरा महानगरसहित इटहरी, हेटौंडा र तुलसीपुर उप-महानगरपालिकामा दाबी गरेको छ ।

जसपाले वीरगञ्ज महानगरपालिकासहित धरान, जनकपुरधाम र नेपालगञ्ज उपमहानगरपालिका पाउनुपर्ने अडान कायकै राखेको छ ।  भागबन्डाको विषय टुंग्याउन गठबन्धन दलका शीर्ष नेताहरूबीच निरन्तर छलफल भइरहेको छ ।

तर, उनीहरूबीच सहमति जुट्न सकेको छैन । आज बिहान ९ बजे पनि भागबन्डाको विषयलाई टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्दैछ ।

समितिका सदस्य तथा जनमोर्चा नेता हिमाल पुरीका अनुसार आज बस्ने बैठकबाट सिटको बाँडफाँडबारे निर्णय हुने सम्भावना छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार ०८:००