सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

महानगर र उपमहानगरमा भागबण्डा टुंगो लगाउँदै सत्ता गठबन्धन

भरतपुर महानगरपालिकामा प्रतिष्ठाको लडाइँ शुरू

सत्तारूढ पाँचदलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा केन्द्रबाटै टुंगो लगाउने गरी तयारी थालेको छ ।

स्थानीय तहमा चुनावी तालेमल गर्न जिल्लालाई नै अधिकार दिने निर्णय गरेको गठबन्धनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा भने केन्द्रबाट भागबण्डा गर्ने भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धन बैठकमा कुन महानगर र उपमहानगर कुन पार्टीले लिने भन्नेबारे छलफल शुरू भएको छ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरेलगत्तै सत्ता गठबन्धनको बैठक बसेको हो ।

गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकासहित थप तीन उपमहानगरपालिकाको मेयर दाबी गरेको छ ।

बैठकमा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पोखरा महानगरपालिकामा एकीकृत समाजवादीको दाबी र जितको आधार पेस गर्नुभएको थियो ।

एकीकृत समाजवादीले इटहरी, हेटौंडा र तुलसीपुर उपमहानगरपालिका प्रमुखमा दाबी प्रस्तुत गरेको छ । महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँट केन्द्रबाटै हुने भएकाले गठबन्धनको कार्यदलमा सिट बाँडफाँटमा छलफल तीव्र बनेको छ ।

सरकार प्रवक्ता एवं कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले पहिले कुन पार्टीले कहाँ उम्मेदवारी दिने भन्ने तय गरिने र त्यसपछि सम्बन्धित पार्टीबाट उम्मेदवारको टुंगो लगाइने बताउनुभयो ।

उहाँले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार चयन र उनीहरूलाई कसरी जिताउने भन्नेबारे छलफल भएको जानकारी दिनुभयो ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार ०७:४४