सूचनाको शक्ति - The Power Of Information

        

जल तथा मौसम पूर्वानुमान महाशाखा

तराईका जिल्लामा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने

नेपालगञ्जको तापक्रम ३९ दशमलव ५

तराईका जिल्लामा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् राजु प्रधानाङ्गकाअनुसार तापक्रम वृद्धिसँगै आज, भोलि र पर्सि पश्चिम तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना छ । ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमलाई हिट वेभ अर्थात तातो हावा भनिन्छ ।

यसबेला मानिसलाई लू लाग्ने सम्भावना धेरै हुन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको अभिलेखअनुसार देशका सात ठाउँमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ ।

गएको २४ घन्टामा भैरहवाको अधिकतम तापक्रम ४०  दशमलव ४  डिग्री सेल्सियस छ । यस्तै, नेपालगञ्जको ३९ दशमलव ५, धनगढीको ३८ दशमलव ९, सिमराको ३८ दशमलव ६, जनकपुरको ३८ दशमलव ८ डिग्री सेल्सियस छ ।

काठमाण्डौको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुगिसकेको छ । तापक्रम धेरै बढेको बेला बालबालिका, वृद्धवृद्धा, मुटु रोगी र गर्भवती लगायतलाई बढी असर गर्छ । यस्तो बेला दिउँसो घरबाहिर ननिस्कने र खानपानमा पनि ध्यान दिनुपर्नेमा विज्ञले सुझाव दिएका छन् ।

यसैबीच, आउँदो बिहीवार भने देशका धेरै ठाउँमा मौसम बद्ली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँकाअनुसार मौसम बद्ली हुने सम्भावना रहेकाले बिहीवार भने तापक्रम घट्ने अनुमान छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार ०७:४०