सूचनाको शक्ति - The Power Of Information

        

जयपृथ्वीको मेयरमा एमालेबाट तीनजना सिफारिस, गठबन्धनमा अन्योल

नेकपा एमालेले बझाङको जयपृथ्वी नगरपालिकाको मेयरका लागि तिनजनाको नाम सिफारिस गरेको छ ।

एमाले नगर कमिटीले अहिलेकी उपप्रमुख जुना जाग्री, जयपृथ्वी नगरपालिका ७ का वडाध्यक्ष हरिचन्द्र जोशी, २०७४ सालमा मेयरका दावेदार तथा आकांक्षी, हाल नेकपा एमाले जिल्ला कमिटी सहसचिव सुरतबहादुर सिंहको नाम प्रदेश कार्यसमितिमा सिफारिस भएको हो ।

मेयरमा जनतादेखि नेताहरुले समेत सिंहले टिकट पाउनुपर्ने धारणा राख्न थालेका छन् । त्यस्तै, उपप्रमुखमा गंगा राना महर, जमुना चन्द सिंह, सुनिता खड्का धामी, सरिता भण्डारी, सविता खड्का विष्ट, डबल खड्का आकांक्षी देखिएका छन् । शनिबारदेखि ६ जनालाई राखेर मिलाउने प्रयास भैरहेको एमालेका नेताले बताएका छन् ।

यता अहिलेसम्म जयपृथ्वी नगरपालिकामा गठबन्धन दलको बैठकसमेत बसेको छैन । नगर सभापति हिरेन्द्र छत्याल भन्छन्, ‘वडास्तरमा पनि उम्मेदवार तय गर्ने कार्य जारी छ ।’ २०७४ सालको चुनावमा एमालेले यो पालिकामा ८० मतले प्रमुख जितेको थियो । ११ वडा रहेको जयपृथ्वीमा एमालेले एक्लैले ५ वडामा जितेको थियो ।

गठबन्धन हुँदा यहाँ नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले ३–३ वडा मागेको छ भने कांग्रेसले आफुले २०७४ सालमा जितेका साविककै वडासहित थप २ वडा आफुले पाउनुपर्ने माग गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार ०७:१९