सूचनाको शक्ति - The Power Of Information

        

धुलोमा बसेर परिक्षा दिन बाध्य भगवतीका विद्यार्थी

डोटी जिल्ला शिखर नगरपालिका वडामा ११ मल्लीसातमा रहेको भगवती आधारभूत विद्यालयमा विद्यार्थी खुला चौरमा घुलोसँगै परीक्षा दिन बाध्य भएका छन् । विद्यालयमा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थी खुला चौरमा भुइँमै बसेर परिक्षा दिइरहेका हुन् ।

विद्यालयमा कक्षा ४ देखि कक्षा ८ सम्मका ५० प्रतिशत विद्यार्थी पनि प्रयाप्त डेस्क नहुँदा खुट्टामै पपेर राखेर परीक्षा दिन बाध्य रहेको विद्यालयका शिक्षक रमेश बोहराले जनाए । उक्त विद्यालयमा मल्लीसात, किमाडा र ओलिगाउँका विद्यार्थी अध्ययनरत रहेका छन् ।

अहिले विद्यालयमा वार्षिक परिक्षा चलिरहेको छ । नेताहरु चुनावलक्षित कार्यक्रम गर्दा विद्यालयको स्तरोन्नतिका लागि सकारात्मक कदम चाल्ने मिठो आश्वासन दिए पनि चुनावपछि विद्यालयको शिक्षा, गुणस्तरियता सम्बन्धी ध्यान नै दिँनैनन् ।

शिखर नगरपालिकाको वडा नं.११ मा माध्यमिक तहको विद्यालय नभएकाले सोही विद्यालयलाई मावि बनाउने भन्दै शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीले आशवासन दिँदै आए पनि ५ वर्ष कार्यकाल वितिसक्दा समेत नगरपालिकाले विद्यालयका लागि सिन्को समेत नभाँचेको स्थानीयहरु बताउँछन् ।

८ कक्षा पास भइसकेपछि विद्यार्थी सिताराम उच्च माध्यमिक विद्यालय उच्चाकोट तथा भगवती माध्यमिक विद्यालय तलारामा जानुपर्ने कठिक अवस्था रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कर्णसिंह विष्टले जानकारी दिए ।

साँझ विहानको एकछाकको लागि भौतारिरहेको स्थानियले महंगो शुल्कमा भाडामा र होस्टेलमा बाहिरी बिद्यालयमा आफ्ना छोरा छोरीहरुलाई अध्ययन गराउन नसक्दा छोरीको विवाह र छोरालाई छिमेकी राष्ट्र भारतमा रोजगारीमा पठाउनुपर्ने बाध्यता रहेको छ ।

अहिले उक्त गाउँका ५० प्रतिशतभन्दा बढी युवा गाउँमा रहेको विद्यालयमा ८ पास गरी भारत जाने गरेका छन् । युवालाई स्वदेशमै सिर्जनात्मक तालिम दिएर उद्यमी बनाउनु त परको कुरा नगरपालिकाले विद्यालयको स्तरोन्नतिमा समेत ध्यान दिएन ।

भगवती आधारभूत विद्यालयमा विद्यालयको आर्थिक अवस्था कमजोर भएकाले निजी श्रोतका शिक्षकलाई तलब प्रदान गर्न तथा विद्यालयको भौतिक विकासका लागि होली खेलेर रकम संकलन गर्दे आइरहेको स्थानीय गणेश रावल जानकारी दिए ।

भगवती आधारभूत विद्यालयमा नर्सरीदेखि ८ कक्षासम्म पठनपाठन हुँदै आएको छ । २०३७ सालमा स्थापना भएको विद्यालयमा करिब ३०० विद्यार्थी छन् । विद्यालयमा ३ स्थायी शिक्षक, २ राहत शिक्षक, १ जना बालविकास सहजकर्ता र ३ जना निजी शिक्षक गरी ९ जना शिक्षक कार्यरत छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार ०७:०९