सूचनाको शक्ति - The Power Of Information

        

गर्मीयामको कहर

पाालिकामै छैन दमकल, आगलागी हुँदा बस्ती सखाप

नेपालगन्जबाट दमकल पुग्दासम्म खरानी भएको राप्तीसोनारी गाउँपालिका वडा नं. २ मा पर्ने टिकलीपुर गाउँ ।

बाँकेको नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा गर्मीयाममा बर्सेनी आगलागी हुने गरेको छ । ती दुवै पालिका नेपालगन्ज र कोहलपुरबाट समेत निकै टाढा रहेकोले यहाँबाट दमकल गएर आगो निभाउँदा निभाउँदै गाउँ नै सखाप भैसकेको हुन्छ ।

जनताको दवाब र मागका कारण नरैनापुर गाउँपालिकाले भने पालिकामै दमकल किनेर राखेको छ । गाउँपालिकामा दमकल राखेपछि आगो नियन्त्रणमा निकै सहज भएको गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताए ।

उनले भने, ‘यसअघि नेपालगन्ज र कोहलपुरबाट आउने दमकलको मुख ताकेर बस्दा सबै बस्ती सखाप भैसकेका हुन्थे । तर अहिले सहज भएको छ ।’ नरैनापुरजस्तै राप्तीसोनारीका पनि धेरै गाउँ बस्तीमा गर्मी र हावाहुरीको मौसममा आगलागी हुने गरेको छ ।

तर, पालिकाले दमकल खरिद गर्न नसक्दा आगलागीबाट हुने क्षति रोक्न समस्या भएको स्थानीयले बताए । अन्य धेरै योजनामा रकम खर्च गरे पनि आवश्यक पर्ने दमकल खरिद गर्न नसक्दा आगलागी नियन्त्रणमा समस्या भएको फत्तेपुरका जनक थारुले गुनासो गरे ।

उनले पालिकाभित्र कतै पनि आगलागी हुँदा कोहलपुर र नेपालगन्जबाट दमकल पर्खिनुपर्ने बाध्यताले आँखै अगाडि सबै जलेर खरानी हुने गरेको बताए । सोही प्रकारको घटना गएको शुक्रबार पनि सो पालिकामा भयो ।

राप्तीसोनारी गाउँपालिका २ टिकलीपुर गाउँमा शुक्रवार अपरान्ह आगलागी हुँदा ११ घर र ४ गोठ जलेर खरानी भए । नेपालगन्ज र कोहलपुरबाट दमकल पुग्दासम्म नयाँ बस्ती खरानीमा परिणत भैसकेको थियो ।

स्थानीय सीताराम जैसीको घरबाट सुरु भएको आगोले ११ घर र ४ गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले हावाहुरीको मौसम भएकोले आगो सल्किएको बताए ।

उनले गाउँपालिकामा दमकल नहुँदा आगो नियन्त्रणमा समस्या आएको बताए । ढकेरी प्रहरी चौकीका इन्चार्ज टेकबहादुर केसीका अनुसार राप्तीसोनारीमा दमकल नहुँदा आगलागी नियन्त्रणका लागि कोहलपुर र नेपालगन्जबाट दमकल झिकाइएको थियो ।

दमकलहरु घटनास्थल पुग्दासम्म घरगोठ आगोले खरानी भैसकेको केसीले बताए । आगलागी पीडितलाई घर बनाउन प्रतिपरिवार डेढ लाख रुपैयाँका दरले राप्तीसोनारी गाउँपालिकाले राहात उपलब्ध गराएको छ ।

त्यसका साथसाथै पालिकाले आगालागी पीडितको बसोबासको व्यवस्था मिलाउनुका साथै खाद्य र गैरखाद्य सामग्री पनि वितरण गरेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताए ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार ०६:५२