सूचनाको शक्ति - The Power Of Information

        

एमालेले बाँकेमा पाँच पालिकाको उम्मेदवार छान्यो

नेकपा एमाले, बाँकेले पाँच वटा पालिकाको उम्मेदवार टुंग्याएको छ । अब तीन वटा पालिकाको उम्मेदवार टुंगो लगाउन बाँकी छ ।

एमाले नेताका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाको उम्मेदवार टुंगो लागिसकेको छ ।

नेपालगञ्जमा पशुपतिदयाल मिश्र, खजुरामा सुमन मल्ल, नरैनापुरमा पदमावती यादव, डुडुवामा सरोजकुमारी यादव र जानकीमा हिमांशु यादवलाई उम्मेदवार बनाइएको छ ।

कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा उम्मेदवार टुंगो लगाउन बाँकी छ । यी पालिकामा धेरै जनाले इच्छा देखाएकाले मिलेर आउन आग्रह गरिएको छ ।

६ गतेसम्म मिलेर नआए प्रदेश कमिटीमा सबैको नाम पठाउने तयारी भएको छ । ०७४ सालको चुनावमा एमालेले आठ वटामध्ये चार वटा पालिका जितेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाको २३ वटा वडामध्ये सात वटा वडामा सर्वसम्मत भएको छ । अरूमा धेरैको नाम आएकाले छलफलका क्रममा रहेको जिल्ला सचिव रत्न खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतवार १८:३५