सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा जसपाको चुनावी प्रचार आक्रामक

नेपालगन्ज उपमहानगरपालिकासहित बाँकेका चार वटा पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको जनता समाजवादी पार्टीले प्रचारप्रसारलाई तीव्र पारेको छ । काँग्रेस, माओवादी र एमाले लगायतका दलहरु उम्मेदवार छनोटमै व्यस्त रहेको बेला जसपाले वडावडामा गएर भेलामार्फत प्रचारप्रसार कार्यालयहरु खोलेर जनसम्पर्कलाई तीव्र पारिसकेको छ ।

जसपाका केन्द्रिय नेता बाँके क्षेत्र नं.२ का संघीय सांसद र पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईले तयार पारेको आक्रामक निर्वाचन रणनीतिलाई सिंगो जिल्ला पार्टीले आत्मसात गरेर टोलटोलमा छिर्न थालेका छन् । पूर्वमन्त्री राईले तयार पारेको अक्रामक प्रचार रणनीति अनुसार नै जिल्लामा जसपाले प्रचार अभियानलाई अगाडी बढाएको छ ।

अन्य दलहरु उम्मेदवार कसलाई बनाउने भन्ने कसरतमै व्यस्त रहेको, नेता कार्यकर्ता उम्मेदवार बन्न तछाडमछाड गरिरहेको बेला जनता समाजवादी पार्टीले भने एक चरणको प्रचार अभियानलाई करिब करिब समाप्त गरिसकेको जिल्ला अध्यक्ष कमरुद्दीन राई बताउँछन् । उनले आफ्नो पार्टीले पहिलेनै उम्मेदवार छनोट गरेर घोषणा गरिसकेकोले उनीहरु प्रचारप्रसार र जनसम्पर्क अभियानमा लागिसकेको बताए ।

सोही क्रममा नेपालगन्जको वडा नं. २, ८, ९, १५ र १७ मा पार्टीको वडा प्रचारप्रसार कार्यालयको स्थापना गरिसकिएको छ । ती चारवटै वडा कार्यालयको उद्घाटन पूर्वमन्त्री ईश्तियाक राईले गरिसकेका छन् । जसपाका केन्द्रिय नेता तथा पूर्व शहरी विकासमन्त्री राईले यसपटक नेपालगन्जका सबै वडा जसपामय भएको जनाउँदै जसपाको स्थानीय सरकार बन्नेमा कुनै पनि आशंका नरहेको बताए ।

यसैबीच नेपालगन्ज उपमहानगरपालिकाबाट मेयरका उम्मेदवार बनेका कमरुद्दीन राईले यस पटक भोट दिएर नेता होइन सेवक चुन्न जनतासँग आग्रह गरेका छन् । उनले आफु सधैं जनताको सेवकका रुपमा प्रस्तुत हुने जनाउँदै भोट लिएर पटक पटक जनताको घरदैलोमा सुखदुख साट्न आउने बताए ।

वडा नं.२ मा वाहिद हुसैन हलवाई, वडा नं. ८ मा सफिक सिद्दिकी, वडा नं. ९ मा शकिल ढपाली, वडा नं.१५ मा मदनविक्रम शाह र वडा नं.१७ मा मोहनलाल द्धिवेदी वडाध्यक्षका उम्मेदवार छनौट भएका छन् । उता, नेपाली काँग्रेस, एमाले र माओवदी केन्द्रले भने संभावित उम्मेदवारको नाम प्रदेशमा सिफारिस गरेर पठाएका छन् । केन्द्रबाट तीमध्ये एक एक जनाको नाम तय भएर आएपछि मात्रै उनीहरुले प्रचारप्रसारलाई तिव्रता दिनेछन् ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतवार १७:२४