सूचनाको शक्ति - The Power Of Information

        

पूर्वमन्त्री राईद्वारा धम्बोझी उच्च माविको भवन शिलन्यास

पूर्वमन्त्री तथा बाँके क्षेत्र नं.२ का सांसद मोहम्मद ईश्तियाक राईले धम्बोझी उच्च माध्यमिक विद्यालयलाई जिल्लाकै नमुना विद्यालय बनाउनुपर्नेमा जोड दिएका छन् । उनले गर्न चाहेमा सरकारी विद्यालयले पनि निजीभन्दा राम्रो नतिजा दिनसक्छ भन्ने कुरा यो विद्यालयले प्रमाणित गरिदिएको बताए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सो विद्यालयमा निर्माण गर्न लागिएको चार कोठे भवनको आइतवार शिलन्यास गर्दै पूर्वमन्त्री राईले सो बताएका हुन् । उनले नेपालगन्जकै सबैभन्दा उत्कृष्ट सरकारी विद्यालयको रुपमा रहेको यो विद्यालयमा कक्षा कोठा निर्माण र शिक्षक दरबन्दी बढाउन तीनवटै तहको सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले विगतमा आफ्नो संसदीय कोषबाट यस विद्यालयलाई ५० लाख रुपैयाँ प्रदान गरेको जनाउँदै भविष्यमा पनि सहयोग गरिराख्ने बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य भगवती शाह, कपास विकास समितिका अध्यक्ष हेमन्त काफ्ले, यज्ञबहादुर बस्नेत, धनबहादुर चन्द र अमिर अहमद लगायत शिक्षक र अभिभावकको उपस्थिति थियो ।

चालु आर्थिक वर्षभित्र निर्माण पुरा गरिसक्नुपर्ने गरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चार कोठे भवनको निर्माण शुरु भएको हो । उच्च माविमा करिब २ हजार ३०० विद्यार्थी रहेका छन् भने ५५ जना शिक्षक र कर्मचारी छन् । उक्त माविमा मानविकी, व्यवस्थापन, कानुन र शिक्षा संकायको पढाई हुने गरेको छ । सो अवसरमा विद्यालयको अवस्था, विद्यार्थिको चाप र कक्षा कोठाको अभावका बारेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाराज उपाध्यायले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमा विद्यालयमा विद्यार्थीको चाप अत्याधिक रहेको र कक्षा कोठाको अभावसँगै भएका कोठा र भवनसमेत जीर्ण भैसकेकोले रंगरोगन र मर्मत सम्भारको आवश्यकता समेत औंल्याइएको छ । उक्त अवसरमा उच्च माविका प्रधानाध्यापक वामदेव सुवेदी, स्थानीय कर्णबहादुर मल्ल लगायतले पनि विद्यालयको भौतिक पूर्वाधारमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतवार १६:३९