नेपाली फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आगामी वर्षको जुन–जुलाईमा चीनमा आयोजना हुने एसियन कप फुटबलमा नेपाल छनौट हुन नसक्ने बताएका छन् ।
एसियन कप छनौटको तयारीका बारेमा जानकारी दिन एन्फाद्वारा गत शुक्रवार दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा टिमका प्रशिक्षकले नै यस्तो धारणा राखेपछि अहिले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरूमा समेत अल्मुताइरी छाएका छन् ।
आफ्नै टोलीको बारेमा नकारात्मक कुरा गर्ने भन्दै धेरैले उनको आलोचना गरेका छन् भने कतिले ‘वास्तविकताको धरातलमा उभिएर व्यक्त विचार’ भन्दै समर्थन पनि गरेका छन् । तर अल्मुताइरीले हचुवाको भरमा यस्तो कुरा गरेका भने पक्कै होइनन् ।
आफ्नो भनाइलाई पुष्टी गर्नका लागि केही तर्कहरू समेत प्रस्तुत गरेका छन् उनले । पत्रकार सम्मेलनमा उनले ५० वर्षभन्दा लामो अवधिमा पनि नेपालमा ‘ग्रासरुट फुटबल’को विकास नै हुन नसक्नु सबैभन्दा ठूलो दुर्भाग्य भएको बताएका थिए ।
उनले एन्फाले युवा खेलाडी उत्पादन गर्न पर्याप्त कार्यक्रम सञ्चालन गर्न नसकेका, भएका कार्यक्रमहरूको पनि कार्यान्वयन फितलो हुने गरेको, यू–१६ र यू–१९ जस्तो उमेर समूहको टोली नै नभएका कारण एसियाको सबैभन्दा ठूलो प्रतियोगितामा हामीले ठूलो सपना देख्न नमिल्ने धारणा व्यक्त गरेका थिए ।
प्रशिक्षक अल्मुताइरीको यो भनाइलाई लिएर जस्तासुकै टिकाटिप्पणी भएता पनि यो प्रकरणले हाम्रा सामू एउटा गम्भीर प्रश्न भने अवश्य खडा गरिदिएको छ । ‘के नेपाल साँच्चै एसियन कपमा छनौट हुन सक्दैन त ?’ यस लेखमार्फत हामी यही प्रश्नको उत्तर खोज्ने प्रयास गर्नेछौँ ।
‘ग्रासरुट फुटबल’ को अवस्था
अब्दुल्लाह अल्मुताइरीले भनेजस्तो नेपालमा ‘ग्रासरुट फुटबल’ को विकास हुँदै नभएको होइन, तर जति भएका छन् ती पर्याप्त नभएको भने सत्य हो । अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने नेपालमा संस्थागत हिसाबले युवा खेलाडी उत्पादन गर्ने कार्यक्रम अखिल नेपाल फुटबल संघ (एन्फा)ले मात्रै सञ्चालन गर्दै आएको छ ।
अहिलेको राष्ट्रिय टोलीमा एन्फाले फिफाको आर्थिक र प्राविधिक सहयोगमा काठमाडौं, धरान र बुटवलमा सञ्चालन गरेको तीनवटा फुटबल एकेडेमीबाट उत्पादित खेलाडीहरूकै वर्चश्व रहेको छ ।
प्रशिक्षक अल्मुताइरीका अनुसार नेपालमा कम्तीमा पनि यस्ता २० फुटबल एकेडेमीको आवश्यकता छ जहाँबाट छानिएका उत्कुष्ट १५०–२०० जना खेलाडीमध्येबाट समेत सवोत्कृष्टहरूलाई छानेर राष्ट्रिय टोलीको निर्माण गर्न सकियोस् ।
१०–१२ वर्षको उमेर समूहदेखि सँगै खेल्दै आएका खेलाडीहरूले मात्र भविष्यमा राम्रो नतिजा ल्याउन सक्ने उनको धारणा थियो । अहिले नेपालका ए डिभिजनका क्लबहरूले पनि युवा खेलाडी उत्पादन गर्ने एकेडेमी वा त्यस्तै खाले विशेष कार्यक्रम सञ्चालन गरेको पाइँदैन ।
हालै एएफसीले आफू आवद्ध क्लवहरूले लाइसेन्स लिनैपर्ने नियम ल्याएपछि केही ए डिभिजनका क्लबहरूले लाइसेन्स लिइसकेको र केही लिने प्रक्रियामा रहेको बुझिएको छ । आधारभूत स्तरबाट खेलाडी उत्पादन गर्ने हो भने एन्फा वा एन्फा आवद्ध जिल्ला फुटबल संघहरू मात्र होइन, विद्यालयस्तर र स्थानीयस्तरलाई लक्षित कार्यक्रम सञ्चालनमा ल्याइनुपर्छ ।
पर्याप्त खेलमैदान, खेल सामग्री र नियमित प्रशिक्षण अनि स्थानीयस्तरमा समेत पर्याप्त प्रतियोगिताहरू सञ्चालनमा ल्याइनु सबैभन्दा महत्वपूर्ण छ । त्यसो हुन सक्यो भनेमात्र भविष्यमा स्तरीय खेलाडी उत्पादन गर्न सकिनेछ जसले एसियालीस्तरमा प्रतिश्पर्धा गर्न सकोस् ।
अव्यवस्थाको शिकार
हाम्रो देशमा व्याप्त अव्यवस्था, भ्रष्टाचार र अराजनीतिको शिकार समग्र खेलक्षेत्र हुनुपरेको छ । यहाँ देशको खेलक्षेत्रको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्को प्रमुखमा व्यक्तिको योग्यता होइन उसको राजनीतिक पृष्ठभूमि हेरेर नियुक्ति गरिने नराम्रो परिपाटी स्थापित भइसकेको छ ।
त्यसरी आएको व्यक्तिले उसका आसेपासे र कार्यकर्ताहरूलाई नै विभिन्न खेलकूद संघहरूमा नियुक्त गर्ने गरेको पाइन्छ । नेपाली खेलजगतमा यो क्षेत्रको ज्ञान नै नभएका चुल्ठे–मुन्द्रे र झोले कार्यकर्ता हावी भएका कारण नेपालले फुटबलमा मात्र होइन अन्य कुनै खेलमा पनि अपेक्षित सफलता हात पार्न नसकेको कुरा तीतो यथार्थ हो ।
नेपाली फुटबलको विकासको अर्को ठूलो बाधक भ्रष्टाचार पनि हो । नेपालमा भ्रष्टाचार लगभग संस्थागत भइसकेको अवस्थामा फुटबल वा अन्य कुनै खेलका लागि गरिएको लगानीको ठूलो हिस्सा दुरुपयोग हुने गरेको अवस्था छ ।
खेल र खेलाडीको वृत्तिविकास भन्दा बढी पदाधिकारीहरूको सेवा–सुविधा, भ्रमण र गोष्ठी–सेमिनारहरूमा खेलकुदको पैसा खर्च भइरहेको देखिँदै आएको कुरा हो । खेलाडीहरूको तलब–पारिश्रमिक र सेवा–सुविधाको कुरा गर्ने हो भने पनि दक्षिण एशियामा समेत नेपाल अन्तिमतिरै पर्छ । यो कुराले पनि नेपाली खेलाडीहरूको वृत्तिविकास र स्त्तरोन्नतिमा बाधा पारिरहेको छ ।
व्यावसायिकताको अभाव
वास्तवमा भन्नुपर्दा नेपाली फुटबलमा व्यावसायिकताको अभाव टड्कारो देखिएको छ । एन्फाले १४–१५ टोली सम्मिलित राष्ट्रिय लिगको आयोजना गर्ने गरेको छ तर १०० भन्दा बढी खेलहरू दुई वा तीन मैदानमा सञ्चालन हुने गर्छन् ।
केही चरणका खेल सकिदाँसम्म ती मैदानको हालत खराव भइसकेको हुन्छ तर त्यस्तै मैदानमा खेलहरूलाई नियमित गराइन्छ । त्यस्ता खराब मैदानमा खेलेर खेलाडीको स्तर त कहिल्यै सुध्रिन सक्दैन, त्यहाँ उनीहरूले चोट बोक्ने सम्भावना धेरै हुन्छ । यो गम्भीर विषय भए पनि यसप्रति खासै चासो दिएको पाइँदैन ।
अर्को रोचक प्रसङ्ग नेपालमा सञ्चालन हुने गोल्डकप फुटबल प्रतियोगिताहरूसँग सम्बन्धित छ । देशभर साना र ठूला गरी झण्डै दुई दर्जन गोल्डकप फुटबल प्रतियोगिताहरू आयोजना हुने गर्दछन् ।
प्रायः घरेलू लिगको समापन पछि र जाडोको समय पारेर त्यस्ता प्रतियोगिताहरू हुने गरेको पाइन्छन् । त्यस्ताखाले हरेक प्रतियोगितामा भाग लिन ठूला क्लब र तिनका खेलाडीहरूले तँछाड–मछाड गरेको, राता–रात यात्रा गरेर एक ठाउँबाट अर्को ठाउँ अनि एउटा शहरबाट अर्को शहर दौडिरहेको दृश्य देखिनु सामान्य कुरा हो ।
त्यस्ता प्रतियोगिताको पछि लाग्नु यहाँका क्लब र खेलाडीहरूको रहर नभएर वाध्यता भएको कुरा भने धेरैलाई थाहा नहुन सक्छ । ट्रफी जितियो भने पुरस्कार राशी हात पारिने र नजिते पनि खेलाडीहरूले खेलेवापत केही पैसा कमाउने लोभमा उनीहरू सकेसम्म त्यस्ता प्रतियोगिता छुटाउन चाहँदैनन् ।
त्यस्ताखाले धेरै प्रतियोगिता गुणस्तरहीन मैदानमै सञ्चालन हुने र ए डिभिजन क्लबले धेरैजसो आफूभन्दा एकदमै कमजोर प्रतिद्वन्द्वीसँग प्रतिश्पर्धा गर्नुपर्ने हुनाले प्रमुख खेलाडीहरूको स्तरबृद्धिमा त्यस्ता प्रतियोगिताले कुनै भूमिका खेलेका हुँदैनन्, उल्टो ठूला खेलाडीहरूलाई यस्ता गोल्डकपहरूले बेफाइदा पु¥याइरहेको देखिन्छ ।
नेपाली फुटबलको विकासमा सबैभन्दा ठूलो समस्याका रूपमा पूर्वाधारको अभाव रहेको देखिन्छ । देशमा अन्तराष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न मिल्ने मैदान भनेको काठमाडौंको दशरथ रंगशाला मात्रै हो ।
२०७२ को महाभुकम्पपछि त्यसको पुननिर्माण पनि भएको छ । तर अहिले पनि देशको एकमात्र रंगशालामा खेल गतिविधिभन्दा बढी राजनीतिक कार्यक्रमदेखि कन्सर्टसम्म र निजी कार्यक्रमदेखि स्कुलको ‘प्यारेन्ट्स डे’का लागि भाडामा लगाइने गरिन्छ । यो भन्दा ठूलो अव्यावसायिकताको नमूना अरू के होला ?
नेपाली फुटबलको स्तर
नेपाली फुटबलको स्तरको कुरा गर्ने हो भने पनि हामी एसियाको कुरा छाडौँ, दक्षिण एसियामा पनि नम्बर एकमा पर्दैनौँ । अहिले नेपाल फिफा वरियताक्रमको १६८औँ स्थानमा छ । नेपालभन्दा अगाडि माल्दिभ्स १५६औँ स्थानमा छ भने भारत १०६ औँ स्थानमा छ ।
नेपालले अहिलेसम्म साफ फुटबल च्याम्पियनशीपको उपाधि समेत जित्न सकेको छैन । नेपालले विश्वकप र एसियन कपको छनोटमा नियमित रूपमा भाग लिने गरे पनि छनोटका प्रारम्भिक चरण पार गर्न पनि नेपाल असफल रहँदै आएको छ ।
यस्तो अवस्थामा एसियन कप छनोटमा समेत हामी अन्य टोलीभन्दा कमजोर देखिन्छौँ । एसियन छनोटअन्तर्गत नेपालका प्रतिद्वन्द्वीहरू मध्ये विश्ववरियताक्रममा जोर्डन ९१औँ, कुवेत १४६औँ र इन्डोनेसिया १५१ औँ स्थानमा छन् । यी आँकडाहरूलाई हेर्दा पनि नेपालले एसियन कपको छनोट चरण पार गर्न ज्यादै कठिन देखिन्छ ।
अन्त्यमा
आगामी वर्ष चीनमा हुने एसियन कपका लागि १३ राष्ट्र छनोट भइसकेका छन् भने ११ टोलीको छनौट हुन बाँकी छ । जुन महिनामा आयोजना हुने छनोटको तेस्रो तथा अन्तिम चरणले ती ११ टोलीको निर्णय गर्नेछ ।
२४ राष्ट्रलाई ६ समूहमा विभाजन गरेर खेलाइने अन्तिम चरणको छनोट प्रतियोगितामा यसपटक नेपाल कठिन समूहमा परेको छ, यसलाई भने नेपालको दुर्भाग्य मान्नुपर्छ । प्रत्येक समूहका विजेता र ६ उपविजेतामध्ये उत्कृष्ट ५ गरी ११ टोली छनोट हुने प्रतियोगितामा नेपाले समूह विजेता वा उपविजेता भएर छनोट हुने सम्भावना ज्यादै कम छ ।
आइएनएस–स्वतन्त्र समाचार
आशुतोष अधिकारी । काठमाडौं ।