सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

निर्वाचन आयोगले खटायो ७७ मुख्य र ६७६ निर्वाचन अधिकृत

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको छ । ७५३ स्थानीय तहमध्ये ६७६ तहमा निर्वाचन अधिकृतहरूलाई खटाइएको आयोगले जनाएको छ ।

सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको छ । आयोगले मुख्य र निर्वाचन अधिकृतलाई आवश्यक पर्ने प्रशिक्षण दिइसकेको छ ।

प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई कार्यक्षेत्रमा जान नियुक्ति पत्र दिइसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले बताए । आयोगले जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृत बनाएको छ ।

अब वैशाख ८ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृत कार्यालय खुल्नेछन् । अधिकृतको कार्यालय मातहत रहेर ९ जना कर्मचारीले चुनावसम्बन्धी काम गर्ने आयोगले जनाएको छ । वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतवार ०९:२८