सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको छ ।
दुई वर्षअघि हुनुपर्ने सो प्रतियोगिता कोरोनाका कारण स्थगन भएकोमा हालै सम्पन्न मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ संस्करणको राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो ।
सरकारले प्रतियोगिताको मिति तोकेसँगै यहाँका सरोकार भएका निकायले आवश्यक प्रारम्भिक तयारी सुरु गरेका छन् । प्रतियोगिताका लागि मुख्यगरी खेल पूर्वाधार निर्माण र त्यसको स्तरोन्नति आवश्यक रहेको उनीहरूले औँल्याएका छन् ।
पोखरामा ३९ वर्षपछि राष्ट्रिय खेलकुद निश्चित भएसँगै क्षेत्रीय खेलकुद विकास समितिमार्फत प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेलको प्रस्ताव गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेशकुमार गुरुङले बताए ।
उनले प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण र त्यसको स्तरोन्नति तत्कालै सुरु गर्नु अहिलेका लागि महत्वपूर्ण विषय रहेको उल्लेख गरे । उनले भने, ‘राष्ट्रिय खेलकुदलाई भव्यरूपमा सफल बनाउन खेल पूर्वाधार नै महत्वपूर्ण हुन्छ । अधिकांश खेलका पूर्वाधार तयार भए पनि केहीको स्तरोन्नति गर्नु आवश्यक छ ।’
निर्माण सम्पन्न हुने तरखरमा रहेको पोखरा रंगशाला ।
राष्ट्रिय खेलकुद आयोजना हुनुपूर्व देशका ७७ जिल्ला र सातै प्रदेशमा खेलाडी छनोटका प्रतियोगितासँगै बन्द प्रशिक्षण लगायतका कार्यक्रमसमेतलाई अघि बढाउनुपर्ने हुन्छ । प्रतियोगितामा कम्तीमा ३६ वटा खेल प्रस्तावका रूपमा अघि सारिएको सदस्य गुरुङले जानकारी दिए ।
राखेपका पूर्वसदस्य एवं अग्रज खेलाडी खड्गबहादुर रानाभाटले प्रतियोगिता आयोजनाको अवसरलाई चुनौतीका रूपमा ग्रहण गर्दै चार दशकअघिको इतिहास दोहोर्याउने जिम्मा पोखरेलीहरूको काँधमा आएको बताए ।
उनले सबै पोखरेली तथा प्रदेशवासीले प्रतियोगितालाई सफल बनाउन लाग्नुपर्नेमा जोड दिए । राष्ट्रिय खेलकुदको तयारीका लागि राखेपले सातै प्रदेशका सदस्य सचिव सम्मिलित बैठकको आह्वान गरेको छ ।
सोको तयारीका लागि शनिवार गण्डकी प्रदेश परिषद्ले पोखरामा सुझाव संकलन गरेको थियो । पोखरा रंगशालामा आयोजित कार्यक्रममा प्रदेश खेलकुदका सदस्यसचिव तेजबहादुर गुरुङले नवौँ राष्ट्रिय खेलकुदको तयारीस्वरुप राखेपमा हुने बैठकमा आयोजक प्रदेशका रूपमा उठाउनुपर्ने विषयमा सुझाव संकलन गरिएको बताए ।
नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले राष्ट्रिय खेलकुद आयोजनाको हिसाबमा छोटो समय भए पनि यसलाई सफल बनाउन प्रदेशवासी एकजुट हुनुपर्ने बताए ।
प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य दिलबहादुर गुरुङले सरकारले गण्डकीमा प्रतियोगिता आयोजना गर्ने निर्णय स्वागतयोग्य रहेको बताउँदै प्रदेश खेलकुद र राष्ट्रिय खेलकुद परिषदबीच रहेका विभिन्न प्रशासनिक झन्झटबाट मुक्त हुनुपर्ने उल्लेख गरे ।
नवौँ राष्ट्रिय खेलकुदका लागि खेलकुद पूर्वाधार स्तरोन्नतिका लागि राखेपबाट यस वर्ष पोखरामा रु. १७ करोड विनियोजन गरिए पनि कार्यक्रम कार्यान्वयन भने सुरु हुनसकेको छैन ।
सत्यपाटी । कास्की ।