युक्रेनमा जारी युद्ध सघन बन्दै जाँदा रुसी र युक्रेनी सेनाका शीर्ष कमान्डरहरुबीच भयंकर टक्कर देखिने अवस्था छ । आक्रमण सुरु गरेको सात हप्तापछि गिर्दो मनोबल उकास्ने अपेक्षाका साथ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जर्नेल अलेक्सान्द्र द्वोर्निकोवलाई युक्रेन कारबाहीको सैन्य नेतृत्व गर्ने जिम्मेवारी सुम्पेका छन् ।
दस महिनाअघि नै आक्रमणको आशंका गरेरै युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले जर्नेल भालेरी जालुज्नीलाई युक्रेनी सेनाको कमान्डर बनाएका थिए । जर्नेल जालुज्नी सोभियत संघ पतनपछि पश्चिमतिर ढल्केको युक्रेनका उत्पादन हुन् । यी दुई जर्नेलबीचको द्वन्द्वको नतिजाले सार्वभौम युक्रेनको भविष्यको फैसला मात्र गर्ने छैन ।
बरु, यसले दशकौँसम्म युरोप र त्यसभन्दा परको अन्तर्राष्ट्रिय सम्बन्धलाई आकार समेत दिनेछ । युक्रेनलाई टुक्र्याएर बलपूर्वक विश्व मञ्चको केन्द्रमा उक्लिने रुसको चाहना देखिन्छ । युक्रेनमाथि जित हासिल गरेर पुटिन पश्चिमको सैन्य र आर्थिक प्रभुत्व अन्त्य भएको साबित गर्न चाहन्छन् ।
अमेरिका र युरोप युक्रेनजस्तो बेजोड ‘प्रोक्सी’लाई सहयोग गरेर सोभियत संघ पतनपछिको स्थापित उदार लोकतन्त्रको नेतृत्वमा रहेको नयाँ विश्व व्यवस्थालाई बलियो बनाउने प्रयासमा छन् । तिनैमध्ये एक बन्न चाहन्छ युक्रेन । यी दुई जर्नेलको युद्धसम्बन्धी दर्शनले समेत राजनीतिप्रतिको उनीहरुको अलग दृष्टिकोणलाई प्रकट गर्छ ।
रुसको सेना सो मुलुकको राजनीतिजस्तै निकै केन्द्रीकृत छ । युक्रेनको नयाँ सेना पश्चिमा शैलीको निकै लचक छ । सैन्य हिसाबले यो भीमकाय रुस र फूर्तिलो युक्रेनबीचको टक्कर पनि हो । ६० वर्षीय द्वोर्निकोव आक्रमणमा अति बलप्रयोगको शैली अपनाउँछन् । जसमा टाढैबाट बम प्रहार गरिन्छ ।
यसका कारण ठूलो भौतिक क्षति हुनुका साथै गैरसैनिकको ज्यान जान सक्छ । जालुज्नी हिट–एन्ड–रन शैलीको आक्रमण रुचाउँछन् । यी दुई शैलीले उनीहरुको नेतृत्वको अलग मार्गलाई चित्रित गर्छ ।
रुसी जर्नेल
दोस्रो चेचेन युद्धमा द्वोर्निकोव प्लाटुन कमान्डर थिए । यो युद्ध १९९९ देखि एक दशकसम्म चलेको थियो । चेचेन्या रुसबाट टुक्रिन चाहन्थ्यो । उसको यो प्रयासले पूर्वी युरोपमा मस्कोको प्रभुत्वमाथि मात्रै चुनौती सिर्जना गरेन, सोभियत संघ बन्नुअघिको रुसलाई समेत टुक्र्याउने जोखिम उत्पन्न गर्यो ।
१९९९ को नयाँ वर्षको पूर्वसन्ध्यामा रुसको नेतृत्व पुटिनले आफ्नो हातमा लिए र उनी त्यो खतरालाई निमिट्यान्न पार्न कस्सिए । युक्रेन युद्धमा जे भइरहेको छ, त्यसको सुरुवाती स्वरुप चेचेन युद्धमै देख्न सकिन्छ । विद्रोहीहरुलाई सहरी क्षेत्रबाट खेद्न घेराबन्दी गर्ने र भयंकर बमबारी गर्ने ।
चेचेन्याको राजधानी ग्रोज्नीमा रुसले अक्टोबर १९९९ देखि फेब्रुअरी २००० सम्म विद्रोहीहरु नभागुञ्जेल बमबारी गरेको थियो । रुसीहरुले कहिलेकाहीँ गैरसैनिकहरुलाई बाहिर निस्किने बाटो खोलिदिए । तर, उनीहरुमाथि पनि गोली चलाइयो । खाद्यान्नको अभावले विद्रोहीको कारबाहीलाई कमजोर मात्र तुल्याएन, सामान्य नागरिक पनि भोकभोकै परे ।
त्यसपछिको एक दशकसम्म घेराबन्दी, शंकास्पद विद्रोहीहरु बेपत्ता र ससाना लडाइँको क्रम जारी रह्यो । अहिले युक्रेनी सेनाले अनेक सहरमा गरेजस्तै चेचेन लडाकुहरुले रुसी आक्रमणलाई रोक्न ग्रोज्नीमा बालुवाको बोरा थुपारेर मोर्चाबन्दी गरेका थिए । अन्तिममा उनीहरु त्यहाँबाट पहाड र छिमेकी प्रान्ततर्फ भागेका थिए ।
सिरियामा इस्लामिक विद्रोहीहरुलाई पराजित गर्न बसर अल असदको सरकारलाई रुसी फौजले सघायो । जसको नेतृत्व द्वोर्निकोवको हातमा थियो । यसपछि नै उनको नाम चल्यो । पुटिनले उनलाई ‘हिरो अफ द रसियन फेडरेसन’ को उपाधि प्रदान गरे । २०१६ मा सिरियाको दोस्रो ठूलो सहर एलेप्पोमा निरन्तर गरेको बमबारीका कारण कतिपय सिरियालीहरुले द्वोर्निकोवलाई ‘कसाई’ को संज्ञा दिएका थिए ।
रुसी विमानले बंकर उडाउने बम खसाएर अपार्टमेन्ट भवनहरु ध्वस्त पारिदिएको र धेरै क्लस्टर बम विस्फोट गरेको ह्युमन राइट्स वाचले जनाएको थियो । ‘बिनाकुनै रोकटोक जथाभावी हवाई हमला गरेको देखियो । कम्तीमा एक स्वास्थ्य संस्थामा जानाजान आक्रमण गरियो,’ वाचले एलेप्पोबारे भनेको थियो ।
रुसले युक्रेनमा पनि त्यस्तै शैली अपनाएको आरोप लाग्ने गरेको छ । यदि द्वोर्निकोवले सिरियाकै कदम युक्रेनमा पनि पछ्याए भने गैरसैनिकमाथि थप आक्रमण हुनसक्छ । एलेप्पोमा जस्तै अत्याचारको आरोप अस्वीकार गर्ने वा विपक्षीमाथि दोष थोपर्ने काम उनले गर्नसक्छन् । सिरियामा रुसको गठबन्धनमा सिरियाली सेना मात्र होइन, इरानी सैनिक, हेजबुल्लाह र लेबनानी मिलिसिया पनि थिए ।
जहाँ रुस विजयी भयो र असद सत्तामा टिक्न सफल भए । युक्रेनमा रुसको हस्तक्षेप आधारभूतरुपमै फरक छ । पुटिनले एक सार्वभौम मुलुकमा आक्रमण गरेका छन् । नेटो र युरोपेली संघले भरपुर हतियार युक्रेनलाई दिइरहेका छन् । र, युद्ध लड्ने जिम्मेवारी भालेरी जालुज्नीको नेतृत्वमा रहेका लडाकुलाई सुम्पेका छन् ।
युक्रेनी जर्नेल
४८ वर्षीय जालुज्नी आफ्ना दुश्मन द्वोर्निकोवभन्दा विपरीत युक्रेनमा सोभियत संघको नियन्त्रण समाप्त भइसकेपछि वयष्क बनेका हुन् । २०१४ मा रुसले बिजुली गतिको क्रिमिया र पूर्वी युक्रेन कब्जा गरेपछि जालुज्नी र अन्य युक्रेनी सैन्य अधिकारीहरुले नेटोसँग तालिम लिए ।
पश्चिमा तालिमका कारण उनी क्याप्टेन, लेफ्टिनेन्ट र सार्जेन्टजस्ता फिल्ड कमान्डरहरुलाई बढी महत्व दिन्छन् । तिनले लडाइँको योजना मात्र बनाउँदैनन्, पहल पनि लिन्छन् । ‘हामी नक्साबाट टाढा रहन चाहन्छौँ, १९४३ मा जस्तो लडाइँको आदेश लेख्ने कामबाट हामी अगाडि बढ्न चाहन्छौँ,’ दुई वर्षअघि युक्रेनी सेनाको प्रकाशनलाई उनले अन्तर्वार्ता दिएका थिए, ‘लक्ष्य प्राप्त गर्न म अलग विधि अपनाउन सक्छु ।’
युक्रेनी सेनाको लचकतालाई अझ सहज बनायो, ट्यांक र बख्तरबन्द गाडी ध्वस्त पार्न काँधमा राखेर प्रहार गर्न सकिने ज्याभेलिन क्षेप्यास्त्र, विमान खसाउने स्टिंगर क्षेप्यास्त्र तथा ड्रोनले । नेटोले ती हतियार युक्रेनलाई दिएको हो । अमेरिका, बेलायत, क्यानडा, पोल्यान्ड र लिथुवानियाले युक्रेनीहरुलाई यी हतियारको तालिम दिए ।
युक्रेनको नयाँ पुस्ता एक कदम अगाडि र उच्च प्रविधियुक्त हतियार चलाउन निपुण रहेको जालुज्नीको विश्वास छ । ‘यिनीहरु बिल्कुल अलग मानिस हुन् । हामी लेफ्टिनेन्ट हुँदाजस्ता होइनन् यिनीहरु,’ उनले भनेका छन्, ‘यो नयाँ पुस्ताले पाँच वर्षमा सेनालाई पुरै परिवर्तन गरिदिनेछ । लगभग हरेक व्यक्ति विदेशी भाषा जान्दछन्, ग्याजेटहरु चलाउन निपुण छन् र सबै पढेलेखेका छन् ।’ अहिलेसम्म यो युद्धमा जालुज्नी अगाडि देखिन्छन् ।
यतिबेलासम्म यो युद्ध सकिइसक्नुपर्ने थियो । तर, ध्वस्त भएको मारिओपोल र उत्तरी सीमावर्ती सहर खार्कोव समेत रुसको नियन्त्रणबाहिर छन् । रुसले आफ्नो सेना किभवरिपरिबाट फिर्ता लिएर दक्षिणतिर लगेको छ । द्वोर्निकोवले पहिले दक्षिण, पूर्व र उत्तरमा छरिएका आफ्नो फौजलाई एकातिर केन्द्रीकृत गर्न चाहेको देखिन्छ । यो चाललाई पछ्याए जालुज्नीका सैनिक रुसी गोलाबारी, बम र क्षेप्यास्त्रको सघन निसानामा पर्न सक्छन् ।
डेनियल विलियम्स । एसिया टाइम्स ।