सूचनाको शक्ति - The Power Of Information

        

आठ लाख घुस काण्डले पुनः उम्मेदवार बनाउने एमालेको निर्णय रद्द

बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री

आठ लाख घुस काण्डका कारण धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीलाई अर्को कार्यकालका लागि पनि उम्मेदवार बनाउने नेकपा एमालेको निर्णय अन्ततः रद्द गरिएको छ । गत सोमबार एमाले गाउँ कमिटी बैठकले गरेको सो निर्णय शुक्रबार रद्द गरिएको हो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले बटेश्वर गाउँपालिकाको अध्यक्ष पदमा क्षेत्रीलाई नै पुनः उम्मेदवार बनाउने निर्णय गरेपछि सोमबार राति उनलाई स्थानीय नेता–कार्यकर्ताले अबिर र फूल पहिर्याउँदै बधाई दिएका थिए ।

आठ लाख घुस काण्डमा परेका व्यक्तिलाई फेरि उम्मेदवार बनाउन सिफारिस गरिएको भन्दै पार्टीभित्र विवाद भएपछि शुक्रबार (हिजो) बसेको एमाले गाउँ कमिटीको बैठकले क्षेत्रीलाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णय रद्द गरिएको कमिटीका एक सचिवालय सदस्यले जानकारी दिए ।

फेरि अर्को बैठक राखेर उम्मेदवार सिफारिस गरिने एमालेले जनाएको छ । बैठकमा घुस काण्डमा परेदेखि एमाले पार्टीप्रति जनमानसमा नकरात्मक सन्देश गएको भन्दै अबको निर्वाचनमा क्षेत्रीबाहेकका नयाँ अनुहारलाई पालिका अध्यक्षको उम्मेदवार हुनुपर्ने माग नेता–कार्यकर्ताले गरेका हुन् ।

‘आठ लाख घुस काण्डमा परेदेखि उहाँ कलंकित हुनुहुन्छ । जसको कारण एमाले पार्टीप्रति पनि जनतामा नकरात्मक प्रभाव परेको छ । त्यसकारण क्षेत्रीबाहेकका नयाँ अनुहार चाहिन्छ,’ ती नेताले भने, ‘बैठकमा चर्को माग उठेपछि आगामी आइतबारका लागि उम्मेदवार सिफारिसको लागि पालिकाभरिकै नेता कार्यकर्ताको बैठक बोलाइएको छ ।’

एमालेमा उम्मेदवारीका लागि हिरालाल महतो, श्याम महतो, दिलीप लामा, राम पुकार महतोलगायत दाबेदार छन् । क्षेत्रीले २०७७ फागुन १७ मा गाउँपालिका कार्यालयको प्रशासनिक भवन निर्माणको भुक्तानी दिएबापत ठेकेदारसँग ८ लाख रुपैयाँ घुस लिएका थिए ।

धनुषाको महेन्द्रनगरमा ठेकेदारबाट घुस लिएका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय (टंगाल)को टोलीले पछयाएपछि उक्त रकम औरही खोला छेउमा फालेर भागेका थिए । केही रकम उनी सवार गाउँपालिकाको सरकारी गाडीबाट र केही झाडीबाट अख्तियारले बरामद गरेको थियो ।

अख्तियारले घुस रकमसहित अध्यक्ष क्षेत्री सवार गाडीका चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिएको थियो । अख्तियारले सो घटना प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको थियो । अख्तियार कार्यालयका अनुसार अध्यक्ष राउत र चालक मगर धरौटीमा छुटेका छन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको संरक्षण र राउतको आफ्नै कर्मचारीतन्त्रमा भएको पकडका कारण उनी कानुनी कारबाहीबाट बच्न सफल भएका हुन् । प्रमाण नपुगेको भन्दै अख्तियार उनीविरुद्ध मुद्दा दायर गर्न पन्छिरहेको छ । सो घुसकाण्डबारे थप अनुसन्धान जारी रहेको अख्तियारको कार्यालयले जनाएको छ ।

उनी घुस फालेर फरार भएको तीन महिनापछि गत जेठ २८ गते अख्तियार कार्यालयमा हाजिर भएर त्यतिबेला पार्टीबाट उपप्रधामन्त्री रहेका रघुवीर महासेठसँगै बटेश्वर आएका थिए । एमालेका स्थानीय नेता/कार्यकर्ताले युद्ध जितेर आएजस्तो गरी उनलाई भव्य स्वागतसहित गाउँपालिका कार्यालयमा हाजिर गराएका थिए ।

पछिल्लो समय पनि गाउँपालिकामा उनले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी र लेखाअधिकृत सुमन पुरीलाई आफ्नो प्रभावमा पारेर मोटो कमिसनमा व्यापक अनियमितता गरेको आरोप छ । उनले गाउँपालिकाकै एक एकल महिलालाई असभ्य शब्द प्रयोग गरेको घटनाले समेत उनी विवादमा परेका थिए । पछि एमालेले पीडितकी छोरालाई मनाएर घटना थामथुम पारेको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार ०८:२२