सूचनाको शक्ति - The Power Of Information

        

एमालेबाट साइपाल गाउँपालिकाको अध्यक्षमा बोहरा सिफारिस

नेकपा एमालले बझाङको साइपाल गाउँपालिकाको गाउँपालिका अध्यक्ष र वडाअध्यक्ष पदका उम्मेदवारहरु सर्वसम्मत चयन गरेको छ ।

एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मानबहादुर बोहरालाई गाउँपालिका अध्यक्ष, वडा नं. १ मा नरेन्द्र धामी, वडा नं. २ मा जया धामी, वडा नं. ४ मा जोगी बोहरा र वडा नं. ५ मा जयपाल बोहरालाइ वडाध्यक्ष पदको उम्मेदवार बनाएको हो ।

गाउँपालिका अध्यक्षको पदमा चयन भएका बोहोरा गत निर्वाचनमा नेपाली कांग्रेसका राजेन्द्र धामीसँग पराजित भएका थिए । ५८ मतको अन्तरले पराजित बोहराले ३३६ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी धामी ३९४ मत ल्याएर विजयी भएका थिए ।

पाँच वटा वडा रहेको यस पालिकामा उपाध्यक्ष र वडा नं.३, को वडाध्यक्षको उम्मेदवारको भने टुंगो लाग्न सकेको छैन । उपाध्यक्ष पदमा डोल्मा तामाङ, गीता बोहरा र असौजी बोहरा र वडा नं.३ को अध्यक्षमा फकिर बोहरा र गोरख बोहोराको दाबी छ ।

दुईभन्दा बढी आकांक्षी रहेकोले यी पदका लागि सर्वसम्मत गराउने प्रयासमा भइरहेको उनले बताए । यस्तै गाउँपालिकाको अध्यक्षको उम्मेदवार छनोटका लागि नेपाली कांग्रेस पनि छलफलमा रहेको नेपाली कांग्रेस साइपाल गाउँ कार्यसमितिका अध्यक्ष राम बोहराले बताए ।

वर्तमान गाउँपालिका अध्यक्ष राजेन्द्र धामी, उज्जव बोहरा र कन्जु भन्डारी पालिका अध्यक्षमा दाबेदार रहेको र उनीहरूबीच सहमतिका लागि छलफल भइरहेको उनले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार ०८:११