सूचनाको शक्ति - The Power Of Information

        

विश्व बैंकसँग १८ अर्ब रुपैयाँ सहुलियत ऋण लिने सरकारको निर्णय

सरकारले विश्व बैंकसँग १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १ सय ५० मिलियन अमेरिकी डलर अर्थात् करिब १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराउनुभएको हो । अनुदान सहयोगसँगै मुलुकको विदेशी विनिमय सञ्चितिमा सघाउ पुग्ने अनुमान गरिएको छ ।

त्यसैगरी बैठकले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय युएसएआइडीबाट प्राप्त हुने अमेरिकी डलर ६ सय ५९ मिलियन करिब ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम पनि स्वीकार गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी मन्त्रिपरिषद्ले फुटकोर्ट कर्णाली अर्धजलशाययुक्त जलविद्युत आयोजनाको लागि कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको करिब २ सय ८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

यस्तै बैठकले सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी महानिरिक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई बढुवा नियुक्ति गर्ने निर्णय गरेको थियो ।

सरकारले कपिलवस्तुको मायादेवी गाउँपालिकालाई आधारभुत अस्पताल र गाउँपालिकाको प्रशासकीय भवन लगायत कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिएको छ ।

साथै, कर्जन्हा नगरपालिका सिरहालाई प्रशासकीय भवन निर्माण गरी प्रयोग गर्नका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय भएको पनि प्रवक्ता कार्कीले बताउनुभयो ।

यस्तै, बैठकले राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्ष रामआधार कापारको राजीनामा स्वीकृत गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार १७:४०