सूचनाको शक्ति - The Power Of Information

        

किर्ते कागज गरी जागिर खाएका डिएसपी रमेश सिंह दोषी ठहर

प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेश सिंहमाथि सरकारी कागजात कीर्ते गरेर प्रहरी सेवामा प्रवेश गरेको आरोप पुष्टि भएको छ । विशेष अदालतले डीएसपी सिंहलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले सिंहलाई गत चैत २७ गते आइतबार उनलाई दोषी ठहर गरेको हो । सिंहलाई सजाय भने तोक्न बाँकी रहेको छ ।

सिंहले जन्ममिति सच्याएर सेवा प्रवेश गर्दै निरन्तरता दिएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ विपरित काम गरेको भन्दै मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा उनी दोषी ठहर भएका हुन् ।

२०५८ मंसिरमा प्रहरी निरीक्षक पदमा भर्नाका लागि आवेदन खुला भएको थियो । त्यो बेला रमेश सिंहले पनि प्रहरी निरीक्षकमा भर्ना हुनका लागि आवेदन दिए । सशस्त्र द्वन्द्वको समय थियो ।

२०५८ सालमा परीक्षा दिएका परीक्षार्थीको नतिजा लोक सेवा आयोगले २०६१ सालमा नतिजा प्रकाशित गरेको थियो । आवेदन दिएकामध्ये ८४ जना परीक्षार्थी उत्तीर्ण भएका थिए । तीमध्ये एक थिए, रमेश सिंह ।

उनै रमेश सिंह २०६१ जेठ १५ गतेबाट प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका थिए । बझाङको श्री शान्ति माध्यमिक विद्यालय चौघानपाटाबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । सिंहको एसएलसीको सिम्बोल नम्बर ०७०००५४ (बी) हो ।

एसएसलीको लब्धांकपत्र अनुसार उनको उमेर त्यसबेला २६ वर्ष भइसकेको थियो । लब्धांकपत्रमा उनको जन्ममिति २०३२ माघ १२ गते थियो । प्रहरीमा आवेदन खुलेको बेला उनी २५ वर्ष ११ महिनाको भइसकेका थिए । प्रहरी नियमावली अनुसार आवेदन खुलेको मितिमा २५ वर्ष ननाघेको व्यक्तिले मात्रै आवेदन दिन मिल्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार १७:३५