एक जना नेपाली अर्थशास्त्रीले विजयकुमार पाण्डेसँगको अन्तर्वार्ताका क्रममा ‘नाफा, पूँजी र दलाली’ लाई नेपालमा नराम्रो दृष्टिले हेरिन्छन् तर ती नराम्रा होइनन् भने । उनले एमसीसी सम्झौता अमेरिकाको दलाली गर्ने सम्झौता हो, तर त्यो नराम्रोचाहिँ होइन पनि भने । एमसीसी सम्झौताको केहीबाट चर्को विरोध भयो । तर संसदले यसलाई सहज पारित गर्यो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले यसलाई जसरी पनि पास गर्ने भनेर लागे । उनको एकोहोरेपना हेर्दा उनको पनि यसमा केही स्वार्थ लुकेकोजस्तो लाग्छ । अरु दलका नेताहरूले यसमा व्याखात्मक टिप्पणी राखेकोमा ठुलो उपलब्धि ठाने । यो प्रकरणले प्रधानमन्त्री देउवाको नेतृत्वमा रहेको सरकारले माहाकाली सन्धिको सम्झना दिलायो ।
त्यसबेला पनि संसदले एउटा संकल्प पारित गरेको थियो । तर त्यसको कुनै महत्व भएन । सम्झौताबाट पाइने लाभ नेपाललाई आजसम्म केही भएको छैन । यसैगरी एमसीसीको परिणाम पनि त्यस्तै हुने हो कि भत्रे शंका लागेको हो । त्यसकारण पनि कुनै नयाँ सम्झौताबाट नेपाल र नेपालीलाई फाइदा हुने गरी देशको प्रधानमन्त्री र सरकारले गर्नुपर्यो भनेर आवाज उठेको हो ।
हाम्रा नेताहरू सबै विदेशीका दलाल हुन् भनेर ठाडो आलोचना हुने गरेको पनि छ । दलाली नगरीकन सत्तामा टिकिराख्न सकिन्न भन्ने उनीहरूका हिनभावना रहेको छ । सत्ता सबैलाई चाहिएको छ । त्यसमा पुग्न नसके पनि त्यसबाट कसरी फाइदा उठाउने भनेर सबै ताकमा बसिरहन्छन् । त्यसमा हाम्रा नेताहरू माहिर हुनु अत्यावश्यक छ किनभने दलाली बिना उनीहरू सत्ताका लागि अगाडि बढ्न सक्दैनन् ।
हामीले हेर्दा हाम्रा नेताहरू ठुलो संकटमा परेका छन् । यता ढल्किए उताकाले धम्क्याउने । उता ढल्किए यताकाले धम्क्याउने । कतातिर लाग्ने होला भनेर ठुलो संकटमा परेका देखिन्छन् । यो उनीहरूले नजानेर हो जस्तो लाग्छ । अब हेर्नुस् एमसीसीको कारणले अमेरिका रिसायो र अनेक धम्की पनि दियो ।
नेपालका नेताहरूले आज गर्छु भोलि गर्छु भन्दै वर्षौ बिताए तर काम कहिले गरेर देखाएनन् । जति समय दिए पनि काम हुँदैन । यो मुलुक कस्तो होला जहाँ पैसा सबैलाई चाहिएको हुन्छ, तर काम भने कसैलाई चाहिएको हुँदैन । सत्ताको दलाली गर्न सिपालु हुनलाई सबैभन्दा पहिले जङ्गबहादुर राणालाई सम्झनुपर्यो ।
हुन त त्यसबेला जङ्गबहादुरले अंग्रेजको दलाली गरेका थिएनन् । उनले अंग्रेजलाई सहयोग गरेर आफुले भनेजस्तो गर्न लगाएका थिए । कतिपय कुराहरूमा सहमति नहुँदा जङ्गबहादुरले अंग्रेजसित टक्कर पनि लिएका थिए । त्यस मानेमा दलालीभन्दा उनले अंग्रेजसित सहयोग गरेको देखिन्छ । जे भए पनि उनले अंग्रेजका मन जितेर नेपालको पश्चिमी भागको चार जिल्ला फिर्ता लिए ।
विदेशीसित मिलेर पनि उनले हारेर गएका केही भाग फिर्ता ल्याउन सफल भएका थिए । अहिलेका शासकहरूले भूभाग त छैन, देखिने गरी त्यस्तो खास के ल्याए देखिएको छैन । त्यसैगरी चन्द्रशम्सेर राणाले पनि आफ्नो देशको इज्जत नगुमाई अंग्रेजको सेवा गरेका थिए । उनले पनि हारेको भूभाग फिर्ता ल्याउने भित्री ईच्छा राखेका थिए । तर उनी यसमा सफल भएनन् । तर सन् १९२३ मा एउटा सन्धि गर्न सफल भए ।
यस सन्धिले नेपाल एक स्वतन्त्र राष्ट्र हो भनेर अंग्रेजले स्वीकार ग¥यो । त्यो पनि एक सफल कार्य गनिन्छ । एमसीसी सम्झौता गरेर अमेरिकालाई खुशी तुल्याउन नेपालका धेरै प्रधानमन्त्रीहरूले कोशिस गरेका रहेछन् । तर अमेरिकाको दलाली कसरी गर्ने भनेर राम्ररी चाल नपाएको देखिन्छ । अमेरिकाको दलाली गर्नेले नेपाललाई पनि पियर्टोरिको देशजस्तै बनाइदिए हुने थियो भनेर भन्न जानेनछन् ।
पियर्टोरिको एउटा टापु हो तर अमेरिकाको नजिक छ । सन् १८९८ देखि यो अमेरिकाको असमाहित प्रदेश भएर बसेको छ । यो टापु अमेरिकाको हो तर अमेरिकाले यसलाई आफ्नो देशको भूभागमा समाहित गरेको छैन । यसैगरी अमेरिकाले प्यासेफिक समुद्रमा विद्यमान समोआ, ग्वाम, उत्तरी मरियाना टापुहरू र भर्जिन टापु पनि अमेरिकाकै हुन्, तर उनीहरूलाई आफ्नो राज्यमा पुरा समाहित गरेको छैन ।
त्यो देशका नागरिकहरूलाई अमेरिकी नागरिगता प्रदान गरिएको छैन । तर पियर्टोरिको देशका नागरिकहरूलाई अमेरिकीसरह अमेरिकामा जान आउन छुट छ । जसरी एकताका नेपालीहरूलाई जर्मनीमा भिसा नलिई जान आउन छुट थियो । त्यसरी नै पियर्टोरिकोका मानिसहरूले छुट पाएका छन् । उनीहरूले अमेरिकामा बसेर काम गर्ने छुट पनि पाएका छन् । त्यसैकारणले पियर्टो रिकोको आर्थिक अवस्था खराब हुँदा त्यहाँका मानिसहरू लाखौंको संख्यामा अमेरिका गएर बसेका थिए ।
केही नेपालीहरूले गैरकानूनी रुपमा अमेरिका घुस्नलाई ४०, ५० लाख रुपैया सम्म खर्च बेहोर्ने गरेका छन् । त्यसमा पनि उनीहरू त्यहाँ जान नपाएर ठगीमा परेको समाचार सुत्र पाइन्छ । अमेरिकाले डीभी लटरी अन्तर्गत हरेक वर्ष १०, २० हजार नेपालीहरूलाई आउन दिएको छ । नेपालीहरू अमेरिका जान हुरुक्क हुने रहेछन् । बिना भिसा अमेरिका जान पाइने भए नेपालीहरूले के त्यस्तो नेपाली सरकार र नेतालाई मान्दैन थिए ? शेरबहादुरले त गजब गर्यो भनेर सबै दंग पर्थे । सबैले उनको जयजयकार गर्थे ।
पियर्टो रिकोको जनसंख्या खालि बत्तिस लाख जति भएको बताइन्छ । अमेरिकाको कारणले उनीहरूको जीवनस्तर पनि उच्च नै रहेको छ । नेपालीहरूको व्यक्तिगत वार्षिक आम्दानी एक हजार डलर पुगेको भनिन्छ । तर पियर्टो रिकोका मानिसहरूको व्यक्तिगत वार्षिक आम्दानी ३२ हजार डलर भएको बताइन्छ । अमेरिकनको सो आम्दानी ४५ हजार डलर रहेको छ । नेपालीहरू पियर्टो रिकोको स्तरमा पुगे भने रातभरमै धनी हुने रहेछन् ।
यस्तो धनी हुने काम शेरबहादुर देउवाले गरे भने के नेपालीहरूले उनलाई देउता मान्दैनन् ? तर के गर्नु ? उनको दिमागमा यस्तो कुरा आएन । २०५२ सालमा माओवादीलाई आतंककारी भनेर उनीहरूसित लड्न अमेरिका गएर हामीलाई बन्दुक चाहियो भनेर त्यहाँका राष्ट्रपतिसित रोईकराई गरे । अलिअलि लिएर पनि आए । आज उही पुष्पकमल दाहालको खुट्टाको भरमा देउवा उभिएका छन् ।
अमेरिका र पिर्टोरिकोबीच कस्तो सहमति भएको रहेछ भने अमेरिकी नियम कानून अन्तर्गत मेडिकेयर र मेडिकेड भन्ने स्वास्थ्य सहुलियत अन्तर्गत पियर्टो रिकोका मानिसहरूले अमेरिकी सरकारबाट अर्बौं डलर पाउने रहेछन् । तर अमेरिकीको आम्दानीमा लाग्ने कर भार भने त्यस टापुका मानिसहरूले तिर्न नपर्ने रहेछ । यसरी पियर्टोरिकोका मानिसहरूलाई सुबिधा दिइएको रहेछ ।
यसो बिचार गर्दा आज एमसीसीको सम्झौता गर्दा नेपालका नेताहरूले नेपाललाई पियर्टोरिकोको स्तरमा पुर्याउने कुरा गरेको भए यसको जसरी अहिले विरोध र विध्वंश भएको छ सो नहुने रहेछ । खाडी र मलेसियामा गएका ५०, ६० लाख नेपालीहरू ती ठाउँहरू छाडेर अमेरिका तिर सोझिन्थे । हुन पनि अमेरिकाजस्तो देशमा दुई चार करोड मानिसहरू थपिंदा उसलाई केही फरक पर्दैन ।
किनभने त्यो देश यति ठुलो र सम्पन्न छ कि बाहिरबाट गएका गैरकानूनी शरणार्थीहरूको संख्या ४, ५ करोड हुँदा पनि त्यसलाई केही असर परेको छैन । नेपालीहरूले अरु मुलुकको राम्ररी रक्षा गरेको र बनाउन सहयोग गरेको ईतिहास र व्यवहारबाट देखिएको छ । सो काम अमेरिका जस्तो मुलुकको पनि गर्ने थिए । नेपालीहरूले अमेरिकाको दक्षिणी सीमानाको रक्षा गर्दा त्यहाँबाट आउने गैरकानूनी शरणार्थीहरू रोकिन जान्थे ।
सो कुरा हाम्रा अमेरिकाको दलाली गर्ने नेताहरूले चाल पाउनुपर्ने हो । तर अरुको दलाली गर्दा अरुको मात्र हित गर्ने बानी परेका हाम्रा नेताहरूलाई नेपाली जनताको हित गर्ने कुरा हेक्का रहेन । अमेरिकाको समर्थन गरेर भए पनि देशलाई धनि बनाउने मौका आएको थियो । तर नेताहरूले दलाली मात्र गरे की के हो ?
आइएनएस–स्वतन्त्र समाचार
आदित्यमान श्रेष्ठ ।