सूचनाको शक्ति - The Power Of Information

        

विभिन्न देशमा नयाँ वर्ष मनाउने फरक–फरक शैली

वर्षको प्रथम दिन, अर्थात् नयाँ वर्ष । विक्रम संवत् २०७९ को नयाँ बिहानी भएको छ । हरेक देशले प्रचलित परम्परा अनुसार नयाँ वर्षको दिनमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गर्छन् ।

यस अवसरमा आपसमा सद्भावको आदान प्रदान गर्ने, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ ।

विश्वका हरेक देशले आफ्नो पात्रो अनुसार भिन्न–भिन्न तिथिमा फरक–फरक तरिकाले नयाँ वर्ष मनाउँदै आएका छन् । विभिन्न देशहरूले नयाँ वर्ष मनाउने फरक–फरक शैली र प्रचलनका बारेमा हामी यहाँ चर्चा गर्दैछौँ ।

इन्डोनेसिया – इन्डोनेसियामा नयाँ वर्षलाई ‘गोलुगान’ भन्ने गरिन्छ । त्यसदिन यहाँका मानिसहरू नयाँ लुगा लगाउँछन् र मीठामीठा परिकार खाएर एक आपसमा बधाई र शुभकामना आदानप्रदान गर्दछन् ।

मङ्गोलिया – यस दिन मङ्गोलियाका मानिसहरू रातभर जाग्राम बसेर आफ्ना आमाबाबु तथा मान्यजनबाट आर्शीवाद लिई मीठा परिकार खाएर रम्छन् ।

कुवेत – नयाँ वर्षको अवसरमा रातभरि घरमा दिपावली गरी खुसीले शुभकामना आदानप्रदान गरी नाँचगान गर्छन् ।

मेक्सिको – जनजातिको बाहुल्यता भएको यो देशका विभिन्न स्थानमा नयाँ वर्षका दिन चर्चमा गएर सामूहिक विवाह गरी नयाँ वर्ष मनाउँने चलन छ ।

जर्मनी – जर्मनीमा नयाँ वर्षका दिन पानीले भरिएको धातुको भाँडामा मुद्रा (सिक्का) खसाएर त्यसको आकृतिलाई नियालेर भविष्य वक्ताले मानिसको भविष्यवाणी गर्ने चलन रहेको पाइन्छ ।

पोर्चुगल – यस देशमा नव वर्षको दिन साँढे जुधाएर रमाइलो गर्नुका साथै सहरभर धुनी जगाएर पटाकाबाजी गरेर धूमधामका साथ रम्ने रमाउने प्रचलन रहेको छ ।

बेलायत – यहाँ ३१ डिसेम्बरदेखि नै घरघरमा बत्तीले झिलिमिली पार्छन् । मानिसहरू नयाँ रङ्गीचङ्गी लुगा लगाएर नाँच्छन् र रातको ठीक १२ बजे बढाई हुन्छ । यसको अर्थ पुरानो वर्ष बितेर नयाँ वर्षको आरम्भ भएको भन्ने हुन्छ ।

भारत – भारतको स्थान नै पिच्छे नयाँ वर्ष मनाउने तरिका फरकफरक रहेको पाइन्छ । बङ्गालमा नयाँ वर्षको उपलक्ष्यमा देवीदेवताको पूजा गरी नाँचगान र हाँसखेल गरिने चलन छ । त्यस्तै कुमाउ र गढवालमा नयाँ वर्षको दिनमा पहेँलो लुगा लगाएर आफ्नो बन्धुबान्धवलाई उपहार दिने चलन छ ।

आसाममा नयाँ वर्षको दिन पशुलाई पूजा गर्ने चलन छ । पञ्जाबमा पनि यस दिन झाँगड नृत्य आयोजना गर्नुका साथै गणेश र लक्ष्मीको पूजा गरी सामूहिक रूपमा नाँचगान गर्ने चलन छ ।

राजस्थानमा पनि नयाँ वर्षको अवसरमा मीठामीठा परिकार खाएर आपसमा रमाइलो गरिन्छ भने जनजाति विशेषले आफ्ना मन नपरेका जीवनसाथी भए तिनीहरूसँग छोडपत्र गरी नयाँ जीवनसाथी छान्ने प्रचलन रहेको पाइन्छ ।

जापान – जापानमा नयाँ वर्षलाई’ ‘सोगात्सु’ भनिन्छ भने नयाँ वर्षको दिनलाई ‘गानटन’ भनिन्छ । यो दिन जापानीको खास खाना ‘ओसेची रोरी’ खान्छन् । जापानमा डिसेम्बर २९ देखि ३ जनवरीसम्म नयाँ वर्षको खुशीयाली मनाउने गरिन्छ । यसलाई ‘याकुरी’ भनिन्छ । जापानमा नयाँ वर्षमा रातको १२ बजे ११८ पटक मन्दिरको घण्टी बजाउने चलन छ ।

चीन – चीनमा एक महिना अगाडिदेखि नै नयाँ वर्षको तयारी गरिन्छ । चिनियाँहरूले रातो रङलाई शुभ र राम्रो मान्ने भएकाले उनीहरू नयाँ वर्षका दिन घरलाई पूरै रातो रङ्गले रङ्ग्याउने गर्दछन् ।

मानिसहरू नयाँ लुगा लगाएर, घर–आँगनको साफ–सफाई गरेर, पटाका पड्काएर नयाँ वर्षलाई स्वागत गर्छन् ।नयाँ वर्षलाई पटाका पड्काएर स्वागत गर्दा जीवनमा सकारात्मक परिवर्तन आउने जन विश्वास रहेको छ ।

स्पेन – स्पेनका मानिसहरू मध्य रातको १२ बजे अङ्गुर खाएर नयाँ वर्षको थालनी गर्दछन् । स्पेनमा अङ्गुरको उत्पादन अत्याधिक हुने गर्दछ, त्यसैले त्यहाँका जनता यो फल खाएर सुख र समृद्धिको कामना गर्ने चलन छ ।

रुस – रुसका मानिस नयाँ वर्षलाई ‘एस नोभिम गोडोम’को नामले स्वागत गर्छन् । नयाँ वर्षको दिन रुसी जनता आफूले मनले चाहेको इच्छालाई कागजमा लेखेर नयाँ वर्ष मनाउने गर्छन् । आफ्नो इच्छा लेखिएको सो कागजमा एक गिलासमा मदिरा राखेर जलाइन्छ ।त्यो खरानी १२ बज्नु अगाडि नै स्याम्पियनमा हालेर पिउँदा शुभ हुने जनविश्वास छ ।

स्वीट्जरल्याण्ड – यो देशमा नयाँ वर्ष मनाउने शैली ज्यादै पृथक छ । जमिनमा आइसक्रिम पोखेर यहाँका मानिस नयाँ वर्षको आरम्भ गर्छन् । यसो गर्दा भाग्य चम्किने र जीवनमा सफलता पाइने जनविश्वास यहाँ रहेको छ ।

थाइल्यान्ड – थाइल्यान्डमा एक अर्कालाई पानी छ्यापेर नयाँ वर्ष मनाउने चलन छ । नयाँ वर्षको दिन थुपै्र मानिस बाल्टीभरि पानी बोकेर बाटोमा हिँडिरहेको देखिनु सामान्य कुरा हो ।

ब्राजिल – ब्राजिलमा नयाँ वर्षमा गेडागुडी खाने चलन छ । गेडागुडीले धनको प्रतिनिधित्व गर्ने र गेडागुडी खाँदा वर्षभरि शुभ हुने जन विश्वास रहेको पाइन्छ ।

रोमानिया – नयाँ वर्षमा रोमानियामा मानिस भालुको जस्तो लुगा लगाएर नाच्ने गर्छन् । भालुको लुगा लगाएर नाच्दा दानवी शक्ति भाग्ने त्यहाँका मानिसहरूको विश्वास छ ।

दक्षिण अफ्रिका – दक्षिण अफ्रिकाको ‘जोहानसबर्गमा’ नयाँ वर्षमा मानिसले आफ्नो घरको झ्यालबाट अनावश्यक फर्निचर फाल्ने चलन छ । नयाँ वर्षमा केही अनावश्यक सामान आफ्नो घरमा नरहोस् भनेर त्यसो गर्ने गरिएको भनाई छ ।

स्कटल्यान्ड – स्कटल्यान्डमा मध्यरातमा सबैभन्दा पहिले को आफ्नो साथीको घरमा पुग्न सक्छ र नयाँ वर्षको शुभकामना दिन्छ भन्ने प्रतिस्पर्धा नै चल्छ । त्यहाँका सबै मानिस नयाँ वर्षका दिन आफू नै सबैभन्दा पहिले साथीको घरमा पुग्न पाउँ भन्ने साचेर अगाडि बढ्छन् ।

वि.सं. २०७९ प्रारम्भ भएको सुखद अवसर तपाईँ आफ्नो इच्छा अनुसार मनाउनुहोस्, तपाईँलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार ०९:४४