सूचनाको शक्ति - The Power Of Information

        

२०७८ लाई फर्केर हेर्दा

तनावमै आर्थिक क्षेत्र, न्यायालय बन्धक

२०७८ लाई बिदा गर्दै विक्रम संवत् २०७९ को नयाँ बिहानी प्रारम्भ भएको छ । नयाँ वर्ष आफैँमा पुरानै वर्षको निरन्तरता हुने भए पनि पुरानो वर्षका गतिविधिले नयाँ वर्षको समग्र अवस्थाको पूर्वानुमान गर्न सकिन्छ । बितेको वर्ष मात्र होइन त्यसअघिको वर्षदेखि नै विश्व जटिल र अस्वस्थ बनेको थियो ।

कोभिड–१९ को असर स्वास्थ्य क्षेत्रमा मात्र परेन आर्थिक लगायत समग्र क्षेत्रमा पनि नकारात्मक प्रभाव पर्यो । कोभिडविरुद्धको खोपको विकास र यसको व्यापक प्रयोगले सबैभन्दा पहिले आत्मविश्वास जगाउने काम गर्यो र क्रमशः स्वास्थ्य र आर्थिक गतिविधिलाई पनि सहज बनायो ।

राजनीतिक भरोसामा दिगो विश्वास

कोरोना कहरका बीचमा नै नेपालको राजनीति पनि लिकबाट बाहिर जान खोजेको थियो । खास गरी प्रतिनिधि सभामा झन्डै दुई तिहाई बहुमत रहेको नेपाल कम्युनिस्ट पार्टीभित्रको चरम अन्तरकलहले २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते गरी दुई पटक विघटन भएको प्रतिनिधि सभा सर्वोच्च अदालतबाट दुवै पटक पुनस्र्थापना भयो ।

पछिल्लो पटक विघटित प्रतिनिधि सभा सर्वोच्चको परमादेशबाट २०७८ असार २८ गते पुनस्र्थापना भई सोही आदेशअनुसार नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए । यससँगै दुई तिहाइको कलहले निम्त्याएको राजनीतिक सङ्कटमा नयाँ समाधान निस्कियो ।

नेपाली काँग्रेस, नेकपाबाट नै विभाजन भएका नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी पाँच दलको गठबन्धनले सङ्घीय सरकारको मात्र नभई नेकपा एमालेको नेतृत्व रहेका प्रदेश सरकारमा पनि फेरबदल गरायो । राजनीतिमा देखिएको चरम निराशामा थोरै नै भए पनि भरोसाको उदय भयो ।

नेपाली राजनीतिको धमिलिएको पानी सङ्ल्याउने वर्षका रूपमा २०७८ रह्यो । नयाँ वर्षको पहिलो महिना अर्थात् वैशाख ३० मा नै स्थानीय तहको निर्वाचन हुन लागेको छ । त्यसपछि यही वर्ष हुने प्रतिनिधि सभा र सातवटा प्रदेश सभाका आवधिक निर्वाचनले सर्वसाधारणमा राजनीतिप्रतिको भरोसालाई दिगो विश्वास दिलाउने छ ।

‘खोप, खोप खोप’को सार्थकता

शेरबहादुर देउवा २०७८ असार २९ मा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भएपछि गरेको सम्बोधनमा ‘खोप, खोप खोप’को नीति सरकारको रहने घोषणा भएअनुसार अहिले कुल जनसङ्ख्याको ६६.१ प्रतिशत र लक्षित जनसङ्ख्याको ८३.० प्रतिशतले कोभिडविरुद्धको पूर्ण खोप लगाइसकेका छन् । नेपाल अब बुस्टर डोजको अभियानमा छ । प्रायः सबै विद्यार्थी र शिक्षकले कोभिड–१९ विरुद्धको दुवै खोपको मात्रा पूरा गरेका छन् ।

१५ वर्षसम्मका विद्यार्थीलाई टाइफाइडविरुद्धको खोप लगाउन सुरु गरिएको छ । कोभिड–१९ को दोस्रो र तेस्रो लहरका कारण असारदेखि नयाँ शैक्षिक सत्रको थालनी भए पनि फागुन र चैत महिनामा मात्र तनावरहित अवस्थामा पठनपाठन हुनसक्यो । खोपले कोरोनाको असर कम मात्र गरेन आर्थिकलगायत अन्य क्षेत्र चलायमान गरायो । यस आधारमा ‘खोप, खोप खोप’ सार्थक अभियान बनेको छ ।

तनावमै आर्थिक क्षेत्र

खोपको असर समग्र क्षेत्रमा परेपछि आर्थिक क्षेत्र अपेक्षाकृत सुधार हुनसकेन । संसदविहीन अवस्थामा अध्यादेशमार्फत जेठ १५ गते बजेट ल्याइयो । राजनीतिक परिस्थितिका कारण सरकार फेरबदल हुँदा अध्यादेश बजेट कार्यान्वयनमा आउन सकेन । भदौ २५ गते वर्तमान सरकारले प्रतिस्थापन बजेट ल्यायो तर समयमै पारित हुनसकेन ।

फलतः नेपालको इतिहासमै पहिलो पटक ‘बजेट होलिडे’को अवस्था सिर्जना भयो । बजेटलाई सहयोगी हुने गरी मौद्रिक नीति आर्थिक वर्षको सुरुमै ल्याउनुपर्ने भए पनि प्रतिस्थापन विधेयकका कारण त्यो दुई महिना ढिला अर्थात् असोजमा मात्र सार्वजनिक भयो । यस हिसाबले असोजपछि मात्र नेपालको अर्थतन्त्रले नीतिगत ‘ट्र्याक’ समात्यो ।

दुई वर्षपछि पूर्ण रूपमा खुलेको अर्थतन्त्रका कारण आयात साउनदेखि नै नियमित उच्च हुन थाल्यो । बैङ्क तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कर्जा अत्यधिक विस्तार भएर लक्ष्यभन्दा दोब्बर हुने परिस्थिति निर्माण भयो । अर्कोतिर विदेशी मुद्रा आर्जनको बलियो स्रोत विपे्रषण आप्रवाह बढ्न सकेन । बरु विपे्रषण घट्ने क्रमको सुरुवात यस वर्षमा हुन थाल्यो ।

पर्यटक र विदेशी लगानी भित्रने क्रममा सुधार आए पनि त्यो पर्याप्त भने भएन । यसले गर्दा मुलुकमा विदेशी मुद्राको सञ्चितिमा दबाब पर्न थाल्यो । फागुनसम्मको तथ्याङ्क अनुसार मुलुकसँग नौ अर्ब ५८ करोड डलरमात्र विदेशी मुद्रा सञ्चित छ । अत्यधिक कर्जा विस्तार र सरकारले समेत खर्च गर्न नसक्दा बजारमा तरलताको समस्या देखिन थालेको छ ।

आयात बढ्नु र विपे्रषण घट्दा चालू खाता अहिलेसम्मकै उच्च अर्थात् चार खर्ब ६२ अर्ब रुपियाँ घाटामा छ । ६.५ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको मूल्यवृद्धि ७.१५ प्रतिशत पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपाली बजारमा पेट्रोल र डिजेलको मूल्य अहिलेसम्मकै उच्च हुन पुग्यो । जसले अर्थतन्त्रको लागत बढ्न पुग्यो ।

पछिल्लो समय पर्यटकको सङ्ख्या बढेको, विदेशी लगानी बढिरहेको, श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको तथा श्रम गन्तव्य मुलुक खुला हुँदा अर्थतन्त्रका लागि केही सकारात्मक सङ्केत भने वर्षको अन्त्यतिर देखिन थालेका छन् । आयात नियन्त्रणका लागि सयभन्दा बढी वस्तुको आयातमा अल्पकालीन प्रतिबन्ध लगाइएको छ । यसले विदेशी मुद्रा सञ्चितिमा परेको दबाब मत्थर गर्नसक्छ ।

कानुन तथा न्याय क्षेत्रको सकस

२०७७ देखि नै बरालिएको राजनीतिलाई न्यायालयले सही बाटो देखाइदियो तर कानुन तथा न्याय क्षेत्र आफैँमा उत्साहजनक भने रहेन । विधायिकी निकाय राजनीतिक बन्धक बनेकाले प्रतिनिधि सभाले १५ महिनाभन्दा बढी काम गर्नसकेन ।

कानुन निर्माणमा विधायिकी प्रक्रियाभन्दा अध्यादेशले नै प्राथमिकता पाए । सङ्घीय संसद्को अवधिमा ७१ वटा विधेयक पारित हुँदा ४६ वटा त अध्यादेश मात्र जारी भए । देउवा सरकार बनेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय बैठक अवरुद्ध गरिरह्यो । जसले गर्दा विधायिकी काम ठप्प भए ।

न्यायालय बन्धक

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रकरणमा नेपाल बार एसोसिएसन झन्डै चार महिना आन्दोलनमा रह्यो । सर्वोच्चभित्र नै न्यायाधीशहरूबाट नियमित मुद्दाको ३७ दिन अवरुद्ध भयो । सहकर्मी न्यायाधीशले नै असहयोग गरेपछि प्रधानन्यायाधीश मुद्दा हेर्न इजलास जान सक्ने अवस्थासमेत बनेन ।

प्रधानन्यायाधीश प्रकरणमा सुरुवातमा महाभियोग प्रकरणबारे मौन रहेका दलहरूले फागुन १ गते भने प्रक्रिया अघि बढाए । वर्तमान सत्ता गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का ९८ सांसदले महाभियोगको सूचना दिएका थिए तर छानबिन प्रक्रियासमेत अघि नबढाइ सरकारको सिफारिसमा सदनको अधिवेशन अन्त्य गरियो ।

न्यायपालिकाको आन्दोलन प्रणाली सुधारभन्दा स्वार्थमा धेरै अघि बढ्यो । राजनीतिक दलहरूको पोजिसन अनुसार नेपाल बारभित्रसमेत विभाजन स्पष्ट देखियो । आन्दोलन विषयन्तरका रूपमा न्यायालयमा नयाँ प्रयोगका रूपमा गोला प्रणाली लागू भयो । न्यायालयमा आन्दोलन बढ्दै जाँदा न्यायाधीशले बन्दीप्रत्यक्षीकरणका निवेदनमा समेत सुनुवाइ गरेनन् ।

गोला प्रणाली लागू भएपछि मङ्सिर १५ पछि न्यायाधीश इजलास फर्किएका थिए । पछिल्लो समय कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले न्यायालयको कार्यबोझ घटाउने विकल्पका रूपमा केही ऐन संशोधनको सुझाव तयार पारेको छ । उक्त प्रतिवेदन अनुसारको विधेयक भने अहिले अघि बढेको छैन ।

शिक्षामा समस्या र सम्भावना

२०७२ सालमा नेपालको संविधान जारी भएपछि सङ्घीयता कार्यान्वयनका सन्दर्भमा संसद्ले थुप्रै ऐन बनायो । तर सङ्घीय शिक्षासम्बन्धी विधेयकले कानुनको रुप लिन सकेन । यतिबेला पनि यससम्बन्धी मस्यौदा कानुन मन्त्रालयमा अड्किएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले कानुनमन्त्री गोविन्द बन्दीलाई अड्किएको हलो फुकाइदिन अनुरोध गरिसकेका छन् ।

सङ्घीय शिक्षा ऐनको मस्यौदा तत्काल तयार गर्ने, सबै पालिका र प्रदेशलाई साक्षर घोषणा गर्ने, हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय स्थापना गर्नेलगायतका प्रतिबद्धतासहित २०७८ मङ्सिर ७ गते ३० बुँदे शैक्षिक सुधारका कार्यक्रम घोषणा गरिए । शिक्षक सेवा आयोगले प्राथमिकदेखि माध्यमिक तहसम्म करिब १७ हजार शिक्षक पदका लागि आवेदन खुला गरी परीक्षासमेत सम्पन्न गरेको छ ।

मन्त्रिपरिषद्ले राजनैतिक पूर्वाग्रह, द्वन्द्व तथा आन्दोलनका कारण हटाइएका ५८६ जना शिक्षक तथा कर्मचारीको व्यवस्थापन गर्ने निर्णय गरेको छ । तीमध्ये २३३ जना शिक्षकलाई पुनर्बहाली गरिए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत करिब ६ हजार विद्यालयमा परियोजना सञ्चालनका लागि वित्तीय हस्तान्तरण गरिएको छ ।

सामुदायिक विद्यालयका विद्यार्थी आफैँले कमाएर अध्ययन गर्न प्रेरित गर्ने उद्देश्यले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको छ । १० वर्षे विद्यालय शिक्षा क्षेत्र योजना स्वीकृत भएको छ ।

खेलकुद : प्रतिकूलतामा सम्भावना

कोरोना कहरकैबीच टोकियो ओलम्पिकमा नेपाली खेलाडी पनि सहभागी भए तर पहिलो चरणबाट बाहिरिए । ओलम्पिक लगत्तैको टोकियो पारालम्पिकमा भने नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले दुई खेल जितेर इतिहास बनाए ।

दक्षिण एसियाली फुटबलमा नेपाल पहिलो पटक फाइनलमा पुगेर इतिहास बनायो । तर माल्दिभ्समा भएको १३औँ साफ च्याम्पियन्सीपको फाइनलमा नेपाल भारतसँग ३–० ले हार्यो । नेपालले कुवेती प्रशिक्षक अब्दुल्ला अल्मुताइरीको प्रशिक्षकत्वमा यस वर्ष नेपालले इराकजस्तो सशक्त टिमलाई उसकै मैदानमा दुई गोल गर्यो ।

नेपालमा पहिलो पटक फ्रेन्चाई फुटबल नेपाल सुपर लिगको आयोजना भयो । जसमा काठमाडौँ रेजर्स च्याम्पियन बन्यो । नेपाली महिला फुटबल टिमले बङ्गलादेशलाई अन्तर्राष्ट्रियमैत्री शृङ्खलामा हराउनु मात्र उल्लेखनीय रह्यो । नेपाली क्रिकेट टोलीले वैशाखमा मलेसिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय क्रिकेट शृङ्खला जित्यो ।

नेपालले तीन देश सहभागी टी–२० अन्तर्राष्ट्रिय शृङ्खला जितेको यो पहिलो पटक हो । मलेसिया र पीएनजी सामेल टी–२० मा नेपाल च्याम्पियन बन्यो । नेपाली महिला भलिबलले यो वर्ष अपराजित रहँदै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेर आफ्नो क्षमता अन्तर्राष्ट्रिय स्तरमा देखायो ।

एसियाकै तेस्रो ठूलो रेस इभेन्टका रूपमा रहेको युटिएमब ट्रायल ११० किलोमिटरको रेसमा नेपालकी सुनमाया बुढा आफ्नो क्याटोगोरीमा च्याम्पियन भए । नेपालका प्रिन्स दाहाल विश्व जुनियर पुरुष ब्याडमिन्टनको वरियतामा शीर्ष स्थान उक्लिए । नेपाली खेलाडीले कुनै पनि खेलको विश्व वरियतामा पहिलो स्थान बनाएको यो पहिलो पटक हो ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार ०७:४६