लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलका लागि सहमति भइसकेको छ । तर, बाँके जिल्लामा भने सत्तारुढ गठबन्धनबीच विभिन्न पालिकाको नेतृत्वका बारेमा आ–आफ्नै दाबी छ ।
परिणामस्वरुप, बाँकेमा केन्द्रीय गठबन्धन तोडिने संकेतसमेत देखिएको छ । खासगरी जसपा नेपालले केन्द्रीय गठबन्धन तोडेर भए पनि यो जिल्लाका केही पालिकामा उम्मेदवारी दिने चेतावनी दिँदै आएको छ । उसले केही पालिकाको नेतृत्वमा आफ्नो दाबी रहेको भन्दै गठबन्धनबीच सहमति नभए छुट्टै उम्मेदवारी दिने जनाएको हो ।
गठबन्धन घटकबीच सहमति जुट्न नसकेको अवस्थालाई एमालेले भने अवसरमा रुपमा हेरेको छ । यद्यपि सत्तारुढ गठबन्धनबीच अझै सहमतिको प्रयास भने जारी छ । नेपाली काँग्रेसका बाँके जिल्ला सभापति नारायण गौडेलले गठबन्धनभित्र सहमतिको प्रयास जारी रहेको बताए । दुई/तीन दिनभित्र बैठक बसेर तालमेलको खाका बनाइने उनको भनाइ छ ।
जसपाको चेतावनी
जसपा नेपालले जिल्लाका चार पालिकाको नेतृत्वमा दाबी गरेको छ । ती पालिकामा सहमति नजुटेको अवस्थामा आफू गठबन्धनबाट बाहिरिएर भए पनि उम्मेदवारी दिने उसको चेतावनी छ । अन्य चार पालिकामा भने सहकार्य गर्न सकिने उसको भनाइ छ ।
पार्टीका जिल्ला अध्यक्ष कमरुद्दिन राईले नेपालगन्ज उपमहानगरपालिका, जानकी, डुडुवा र नरैनापुर गाउँपालिकामा आफ्नो पार्टीले गठबन्धन बिना नै प्रतिस्पर्धा गर्ने गरी तयारी थालेको रातोपाटीलाई बताए । ती पालिकामा आफ्नो पार्टीबाट उम्मेदवारसमेत निश्चित भइसकेको भन्दै उनले पार्टीले चुनाव प्रचारप्रसार पनि सुरु गरिसकेको जानकारी दिए ।
धेरैको आँखा नेपालगन्ज उपमहानगरपालिकामा
राप्रपाले मेयरमा जितेको र नेपाली काँग्रेसले उपमेयरमा जितेको नेपालगन्जमा उपमहानगरपालिकातर्फ अहिले धेरैजसो दलले आँखा लगाएका छन् । राप्रपाबाट मेयरमा निर्वाचित धवलशमशेर राणाले अब उम्मेदवारी नदिने जनाएसँगै यो उपमहानगरमा सबैजसो दलले आफू बलियो रहेको दाबी गर्न थालेका हुन् ।
बाँके क्षेत्र नं.२ बाट जसपा नेपालका मोहम्मद इस्तियाक राई प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका हुन् । उनकै प्रभाव क्षेत्र भएका कारण पनि जसपा नेपालले नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा दाबी गरेको हो । यता, गठबन्धनकै घटक नेपाली काँग्रेसले पनि नेपालगन्ज उपमहानगरमा आफ्नो संगठन बलियो रहेको दाबी गर्दै आएको छ ।
नेपाली काँग्रेसले विगतमा उपमेयर जितेकाले अहिले गठबन्धनभित्र मेयरका लागि दाबी गर्नु स्वाभाविक रहेको काँग्रेसमा जिल्ला सभापति नारायण गौडेल बताउँछन् । सो पालिकामा माओवादी केन्द्रले पनि आफ्नो भूमिका बढाउन चाहेको छ । यता, नेकपा एमालेले पनि सो पालिकामा आफ्नो सांगठनिक अवस्था बलियो रहेको दाबी गर्दै आएको छ ।
मेयरका रुपमा एक कार्यकाल उपमहानगरको नेतृत्व गरेको राप्रपाले पनि आफ्नो राम्रो पकड रहेको दाबी गरेको छ । अघिल्लो निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकमा राप्रपा १२ हजार ५१५ मतसहित विजयी हुँदा कांँग्रेसले ८ हजार ७३०, माओवादी केन्द्रले ७ हजार १९८ र एमालेले ६ हजार ९६५ मत हासिल गरेका थिए ।
कोहलपुर नगरपालिका
अघिल्लो निर्वाचनमा कोहलपुर नगरपालिकाको मेयर एमालेले जितेको थियो भने उपमेयर नेपाली काँगे्रसले जितेको थियो । विगतमा उपमेयर जितेकै कारण अहिले काँग्रेसले सो नगरपालिकाको मेयरमा दाबी गरेको हो ।
यहाँ नेकपा माओवादी केन्द्रले पनि मेयरमा दाबी गरेको छ भने जसपाले दाबी गर्ने कि नगर्ने भन्नेबारे खुलाएको छैन । स्रोतका अनुसार आफूले दाबी गरेका पालिकामा गठबन्धनका सहयोगी घटकले सहमति जनाएको अवस्थामा जसपाले यो पालिकामा गठबन्धनकै उम्मेदवारलाई सघाउन सक्छ ।
यो नगरपालिकामा २०७४ सालको निर्वाचनमा एमालेले ९ हजार ७ मत हासिल गरेको थियो भने कांँग्रेसले ८ हजार ९२४ र माओवादी केन्द्रले ६ हजार २२१ मत प्राप्त गरेको थियो । यो पालिकामा सत्तारुढ गठबन्धनबीच तालमेल भएको अवस्थामा एमालेको अंकगणित निकै कमजोर हुन सक्छ ।
खजुरा गाउँपालिका
खजुरा गाउँपालिकामा गठबन्धनभित्रबाट नेकपा माओवादी केन्द्रले अध्यक्ष पदमा दाबी गरेको छ । अघिल्लो निर्वाचनमा एमाले विजयी हुँदा दोस्रो शक्तिका रुपमा रहेको माओवादी केन्द्रले स्वाभाविक रुपमा नेतृत्वको दाबी गरेको हो । यो पालिकामा काँग्रेसले पनि अध्यक्ष पदमा दाबी गरेको छ ।
गठबन्धनबीच तालमेल नहुने अवस्थामा यहाँ जसपा नेपालले पनि उम्मेदवारी दिने तयारी गरेको छ । अर्कोतिर विगतमा एमालेले जितेको र आफूहरु एमालेबाटै फुटेर आएको भन्दै सत्ता गठबन्धनको घटक नेकपा एकीकृत समाजवादीले पनि यो पालिकामा नेतृत्वको दाबी गरेको छ ।
सो पार्टीका जिल्ला अध्यक्ष अशोक कोइरालाका अनुसार खजुरामा नेकपा एकीकृत समाजवादीको जनाधार राम्रो रहेकाले अध्यक्षमा स्वाभाविक रुपमा दाबी गर्ने तयारी छ । अघिल्लो निर्वाचनमा यो पालिकामा एमालेले ८ हजार ७० मत ल्याउँदा माओवादी केन्द्रले ६ हजार ८९२ र नेपाली काँग्रेसले ४ हजार ९५४ मत ल्याएको थियो । यो पालिकामा पनि सत्तारुढ गठबन्धनबीच तालमेल भएमा सहजै हावी हुने देखिन्छ ।
जानकी गाउँपालिका
अघिल्लो स्थानीय तहको निर्वाचनमा यो गाउँपालिकाको अध्यक्ष पदमा एमाले उम्मेदवार विजयी भएका थिए । यद्यपि झिनो मतले एमालेसँग हार्नुपरेको भन्दै यो पटक गठबन्धनबाट नेपाली काँग्रेसले अध्यक्षमा दाबी गरेको छ । यो पालिकामा जसपा नेपालले अध्यक्ष पदमा दाबी गरेको छ । स्थानीय तहको अघिल्लो निर्वाचनमा यो पालिकामा एमालेले ३ हजार ८३ मत ल्याएको थियो ।
यहाँ कांँग्रेसले ३ हजार ९, संघीय समाजवादी पार्टीले २ हजार १५८ र माओवादी केन्द्रले एक हजार ९३४ मत पाएको थियो । गठबन्धन घटकबीच सहमति हुन नसके यो पालिकामा कुन दलले बाजी मार्छ भन्न सकिने अवस्था रहँदैन । किनकि, अघिल्लो निर्वाचनमा झिनो मतान्तरले जितेको एमाले अहिले विभाजित भइसकेको छ भने काँग्रेस र जसपा दुवैले यो पालिकामा आफू बलियो रहेको दाबी गर्दै आएका छन् ।
डुडुवा गाउँपालिका
डुडुवा गाउँपालिका नेपाली काँग्रेसको पकड क्षेत्र हो । अघिल्लो निर्वाचनमा जितेका कारण काँग्रेसले अहिले पनि गठबन्धन भित्र यो पालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ । जसपा नेपालले पनि यहाँ आफ्नो दाबीलाई कायम राखेको छ । उसले जिल्ला तहमा गठबन्धन तोडेर भए पनि प्रतिस्पर्धा गर्ने मनसाय राखेको छ ।
अघिल्लो निर्वाचनमा यो पालिकामा कांँग्रेस ४ हजार ६९१ मतका साथ विजयी भएको थियो । तत्कालीन संघीय समाजवादी (हाल जसपा नेपाल) ले ४ हजार १९२ मत ल्याएको थियो । यहाँ एमालेले एक हजार ४६६ र माओवादी केन्द्रले ९३७ मत ल्याएका थिए । सत्तारुढ गठबन्धनबीच तालमेल नभएको अवस्थामा यो पालिकामा काँग्रेस र जसपा नेपालबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
नरैनापुर गाउँपालिका
यो पालिकामा अघिल्लो निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टी (हाल जसपा नेपाल) ले जितेको थियो । अहिले जनाधार झन् राम्रो भएको दाबी गर्दै सो पार्टीले पालिका अध्यक्षमा दाबी गरेको छ । सत्तारुढ गठबन्धनभित्र आफूलाई पालिका अध्यक्ष पद दिन सहमति नजुटे गठबन्धन तोडेर प्रतिस्पर्धामा उत्रिने चेतावनी सो दलले दिएको छ ।
यो पालिकामा काँग्रेसले पनि दाबी गर्दै आएको छ । अघिल्लो निर्वाचनको मतपरिणाम अनुसार यहाँ संघीय समाजवादीले ४ हजार ८० मत ल्याउँदा कांँग्रेसले ३ हजार ३८८, एमालेले ८७२ र माओवादी केन्द्रले ५७८ मत ल्याएको थियो ।
बैजनाथ गाउँपालिका
यो गाउँपालिकामा पनि गठबन्धन घटकभित्र अध्यक्ष पदका लागि हानथाप देखिन्छ । यो पालिकामा नेकपा एकीकृत समाजवादी पार्टीले अध्यक्षमा दाबी गरेको छ । जसपा नेपाल र नेपाली काँग्रेसले पनि यो पालिकाको अध्यक्षमा दाबी गरिरहेका छन् ।
अघिल्लो निर्वाचनमा यो पालिकामा एमालेले ९ हजार ७७२, कांँग्रेसले ६ हजार ५७६ र माओवादी केन्द्रले ५ हजार ३६३ मत ल्याएका थिए । सत्तारुढ गठबन्धनबीच तालमेल नभएको अवस्थामा यो पालिकामा एमाले हावी हुने प्रस्ट देखिन्छ ।
राप्तीसोनारी गाउँपालिका
यो पालिकाको अध्यक्षमा मुख्य रुपमा नेकपा माओवादी केन्द्रले दाबी गरेको छ । तर, विगतमा आफूले जितेको भन्दै काँग्रेस पनि यो पालिका छाड्ने पक्षमा छैन । अघिल्लो निर्वाचनमा यो पालिकामा काँग्रेसले ८ हजार २३६, एमालेले ६ हजार ९०० र माओवादी केन्द्रले ६ हजार ६६४ मत हासिल गरेका थिए ।
सत्यपाटी । बाँके ।