सूचनाको शक्ति - The Power Of Information

        

एकदिवसीय क्रिकेटको वरीयतामा नेपाल यथावत्, दीपेन्द्र टी–२० अलराउन्डरतर्फ शीर्ष १० मा

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा नेपाल यथावत् रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको एकदिवसीयकाे नयाँ वरीयतामा नेपाल १८ औँ स्थानमा यथावत् रहन सफल भएको हो ।

नेपालले गएकाे मार्च महिनामा ६ एकदिवसीय खेल खलेकोमा दुईमा जित र चार खेलमा पराजित भएको थियो । नेपालले गएको महिना दुबईमा आईसीसी विश्व कप लिग–२ अन्तर्गतको शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) लाई दुई खेलमा पराजित गर्दा घरेलु टोली यूएईसँग दुई खेलमा पराजित भएको थियो ।

लगत्तै नेपालले आफ्नो घरेलु मैदानमा पीएनजीसँग दुई खेलको मैत्रीपूर्ण शृङ्खलामा ‘क्लिन स्वीप’ बेहाेरेकाे थियो ।एकदिवसीयकाे वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ ।

यस्तै दाेस्राेमा इङ्ग्ल्यान्ड, तेस्राेमा अस्ट्रेलिया, चाैथाेमा भारत र पाँचाैँमा दक्षिण अफ्रिका रहेकाे छ ।

दीपेन्द्र टी–२० अलराउन्डर वरीयताकाे शीर्ष १० मा

यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डर वरीयतामा शीर्ष दशमा परेका छन् ।

दीपेन्द्रले गएको महिना घरेलु मैदानमा भएको त्रिदेशीय टी– २० शृङ्खलामा उत्कृष्ट ‘अलराउन्ड’ प्रदर्शन गर्दै ‘म्यान अफ द सिरिज’ पनि घोषित भएका थिए ।

त्याे टी–२० शृङ्खलामा उनले मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सँगकाे खेलमा दुई अर्धशतक र एक शतक प्रहार गरेका थिए । यस्तै दीपेन्द्र टी–२० ब्याटिङ वरीयतामा ३८ औँ स्थानमा रहेका छन् ।

ब्याटिङ वरीयतामा दीपेन्द्र भन्दाअघि ओपनर कुशल भुर्तेल ३६ औँ स्थानमा रहेका छन् । आसिफ शेख ९९ औँ स्थानमा छन् । बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ३८ औँ र अविनाश बोहरा ८६ औँ स्थानमा छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार १८:१३