सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार ३० अङ्कले बढ्याे

शेयर बजार आज बुधवार ३० अङ्कभन्दा धेरैले बढेको छ ।

हिजो मङ्गलवार ३४ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव २४ अङ्कले बढेर दुई हजार चार सय १५ दशमलव २४ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा निर्जीवन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा, उत्पादन, विकास बैंक र होटल तथा पर्यटनको समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज शेयर बढे पनि कारोबार रकम भने घटेको छ । हिजो एक अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज दुई सय २९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता शेयर एक अर्ब ४७ करोड रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । आज नेस्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले र आरएमडीसी लघुवित्तको शेयर झन्डै नौ प्रतिशतले बढेको छ ।

दोहोरो अङ्कले बजार बढेको दिन युनाइटेड मर्दी हाइड्रोपावरको शेयर भने दुई प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार १८:१२