बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुने बताएका छन् ।
ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा मङ्गलबार आयोजित नववर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष सिलवालले अर्थमन्त्रीले कोरोना बीमाको समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताए ।
अर्थमन्त्रीले कोरोना बीमाको समस्या समाधान गर्न प्रतिवद्ध रहेकाले एकमुष्ठ रुपमा नै समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको सिलवालले बताए ।
उनले कोरोना बीमाको दाबी भुक्तानीका सम्बन्धमा अर्थमन्त्री र अर्थ मन्त्रालयका सचिव लगायत पदाधिकारीहरूसँग निरन्तर छलफल गरेको बताउँदै बीमा समितिबाट विकल्प सहितको प्रस्ताव पठाइएको समेत उल्लेख गरे ।
चालू आर्थिक वर्षमा बीमा दाबी फछ्यौट उल्लेखनीय रुपले बढेको र बीमा दाबी भुक्तानीका सम्बन्धमा बीमा समितिमा परेका उजुरीहरूमाथि छानविन गरी शीघ्र किनारा लगाउने काम भइरहेको बताए ।
चालू आर्थिक वर्षको पहिलो आठ महिनामा नै बीमाको दायरा विस्तार सरकारले चालू आर्थिक वर्षका लागि लिएको ३३.३३ प्रतिशतको लक्ष्यभन्दा पनि बढेर ३५ प्रतिशत नाघेको जानकारी दिए ।
गत आर्थिक वर्षको फागुन मसान्तसम्म २६.३० प्रतिशत रहेको बीमाको पहुँच चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा बढेर ३५.४४ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको छ ।
यो संख्या अझै बढ्दै जाने उनको भनाइ छ । कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा समितिले समग्र बीमा क्षेत्रमा सुशासन कायम गर्नका लागि जोड दिँदै आएको बताए ।
सत्यपाटी । काठमाडौं ।