सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतका २० मतदानस्थल ‘अति संवेदनशील’

फाइल तस्वीर

जिल्ला निर्वाचन सुरक्षा समन्वय समिति सुर्खेतले जिल्लाका २० मतदानस्थल ‘अति संवेदनशील’ रहेको जनाएको छ ।

मतदानस्थलको स्थलगत निरीक्षण गर्दै समन्वय समितिले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, सामान्य र अति सामान्य केन्द्रका रुपमा वर्गीकरण गरेको हो ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले १३८ मतदानस्थलमध्ये सुरक्षाका हिसाबले २० अति संवेदनशील, ३३ सामान्य र ७५ केन्द्र अति सामान्य रहेको जानकारी दिए ।

‘विगतका निर्वाचनमा भएका घटना, दलको प्रतिस्पर्धा, भौगोलिक अवस्थालगायतलाई आधार बनाइ मतदानस्थलको वर्गीकरण गरेका छौँ,’ उनले भने ।

उनले स्थानीय तह निर्वाचनमा मतदानस्थलको अवस्थाका आधारमा सुरक्षा व्यवस्था मिलाएर ती मतदानस्थलबाट मतगणनास्थलसम्म मतपेटिकालाई सुरक्षित ढुवानी गर्न समेत आवश्यक सुरक्षा सजगता अपनाइने पनि जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी रिजाल, प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेसहित सुरक्षा निकायका प्रमुखको टोलीले जिल्लाका नौ स्थानीय तहमध्ये लेकबेशी र भेरीगङ्गा नगरपालिकाका मतदानस्थलबाहेक अन्य सबै स्थानको निरीक्षण गरिसकेको छ ।

यसपटक सम्बन्धित स्थानीय तहको मुकाममा नै मतगणना हुँदैछ । निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी क्यामरा जडान गर्न निर्देशन दिएपछि सुरक्षा टोलीले मतगणनास्थल निरीक्षण गरेको छ ।

प्रजिअ रिजालले भने, ‘अधिकांश मतगणनास्थलमा क्यामरा जडान भइसकेका रहेछन्, बाँकी स्थानमा चाँडो जडान गर्न निर्देशन दिएका छौँ ।’ प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले निर्वाचनका लागि आवश्यक व्यवस्थापकीय तयारी भइरहेको बताए ।

मतदान र मतगणनास्थलमा खटिने कर्मचारीको व्यवस्थापन, मतपेटिकाको मौज्दात विवरण अध्ययन, आवश्यक मसलन्दका सामग्रीको व्यवस्थापन गरिरहेको उनको भनाइ छ ।

सुर्खेतमा दुई लाख ३८ हजार ४५७ मतदाता छन् । जिल्लाका १३८ स्थलमा गरी २९१ मतदान केन्द्र छन् । त्यस्तै, जिल्ला प्रहरी कार्यालयले एक हजार २०० म्यादी प्रहरी भर्ना गरी तालिम दिन सुरु गरेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार १५:१३