सूचनाको शक्ति - The Power Of Information

        

अलैँचीमा कीरा लागेपछि किसान चिन्तित

रुकुम पश्चिमका किसानले व्यावसायिक रूपमा सुरु गरेको अलैँची खेतीबाट घाटा बेहोर्नुपरेको छ ।

अलैँचीमा लाग्ने रोग र प्राविधिक ज्ञानको कमी हुँदा अलैँची खेतीबाट किसानले घाटा बेहोर्नुपरेको हो । थोरै मेहनतले पनि मनग्य आम्दानी गर्न सकिने भएपछि व्यावसायिक अलैँची खेतीतर्फ आकर्षित भएका किसान रोग तथा कीरा लाग्न थालेपछि चिन्तित बनेका छन् ।

जिल्लाको त्रिवेणी गाउँपालिका र मुसीकोट नगरपालिकाको विभिन्न ठाउँमा किसानले ओसिलो जमिनमा सुरु गरिएको व्यावसायिक अलैँचीबाट घाटा भएको बताउँदै आएका छन् । अलैँचीमा लाग्ने छिर्के रोग तथा अन्य कारण अलैँचीका बोट र पात सुक्दै गएको त्रिवेणी गाउँपालिका–७ का किसान उज्ज्वल खड्काको भनाइ छ ।

स्थानीय सरकारबाट प्राविधिक आएर रोग तथा कीराको उपचारमा सहयोगको अपेक्षा राखेको अर्का किसान दलबहादुर ओलीले बताए । उनले गाउँका थुप्रै किसानले लगाएको यस पटकको अलैँची खेतीमा कीरा लागेर क्षति पुगेको जानकारी दिए । अलैँची खेतीका लागि जिल्लाका छवटै स्थानीय तहको हावापानी उपयुक्त मानिन्छ ।

यसकारण पनि यहाँको माटो र हावापानी अनुसार स्थानीय तहस्तरका सबै कृषि शाखाले अलैँची खेतीका लागि किसानलाई अनुदानसमेत दिँदै आएका छन् । तर, किसानले लगाएको अलैँची खेती नोक्सान भएर जाने समस्याका कारण जिल्लाभरका व्यावसायिक अलैँची किसान मर्कामा परेका छन् ।

उत्पादन भएको अलैँची लगायत अन्य कृषिजन्य वस्तुको निर्यात तथा सहज बिक्रीका लागि समस्या भएको किसानको गुनासो छ । मुसीकोट नगरपालिका उपप्रमुख प्रेमकुमारी सुनारले अलैँची खेती लगायत किसानले उत्पादन गरेका मसलाजन्य तथा कृषि उत्पादनको सहज निर्यात तथा समस्यामा स्थानीय सरकार लागिपरेको बताउँछन् ।

उनले किसानका उत्पादन खेर नजाने गरी उद्योग तथा बजारीकरणमा सहयोग गरेको उल्लेख गरे । रुकुम पश्चिममा किसानलाई लक्षित गर्दै विभिन्न स्थानीय तहमा स्थापना भएका केही मसलाजन्य उद्योगहरू सञ्चालनमा आएर हाल बन्द भएका छन् । यसबाट जिल्लाका व्यावसायिक किसान समस्यामा परेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार ०९:२४