नेपालगन्जमा अहिले राप्रपा विभाजनको असर प्रष्ट देखिएको छ । राप्रपाका महामन्त्री डा.धवलशमशेर राणाकै सहरमा जनप्रतिनिधि राप्रपा नेपालमा गएपछि राप्रपा नेपालका कमल थापा हौसिएका छन् । दुई जना वडाध्यक्ष नै राप्रपा नेपालतिर लागेपछि राप्रपाका महामन्त्री डा.राणालाई आगामी चुनावमा त्यसको असर पर्ने देखिन्छ ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका डा.धवलशमशेर राणाले संघमा चुनाव लड्ने घोषणा गरिसकेका छन् । उनी एमालेसँग तालमेलको प्रयासमा छन् । ०७४ को चुनावमा नेपालगन्जको २३ वटा वडामध्ये तीन वटाको मात्रै वडाध्यक्ष जितेर पनि राप्रपाका महामन्त्री डा.राणाले मेयर जितेका थिए ।
राणाले पार्टीगत भन्दा व्यक्तिगत मतले चुनाव जितेको देखिन्थ्यो । नेपालगन्जमा राप्रपाले जितेको तीन जना वडाध्यक्षमध्ये दुई जना कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालतिर लागेका छन् । केही दिनअघि कमल थापा नै नेपालगन्ज आएर उनीहरूलाई टीका लगाए । राप्रपाले नेपालगन्जका ४, ५ र ८ नम्बर वडा जितेको थियो ।
राप्रपा विभाजनपछि वडा नं.५ का कैफुलबरा जोलाह र वडा नं.८ का सुरेन्द्र गुप्ता कमल थापातिर लागेका छन् । नेपालगन्जमा यसपालि राप्रपाबाट मेयरमा को लड्ने हो भन्ने टुंगो छैन । चुनावी तालमेल भएन भने वडा नं.४ का वडाध्यक्ष सफिक बेहनालाई अगाडि सार्न सकिने नेताहरू बताउँछन् ।
एमालेसँग तालमेल भएमा राप्रपा मेयर छाडेर उपमेयरलगायत केही वडा लिने योजनामा छ । दुवै राप्रपा एमालेसँग तालमेल गर्न लागि परेका छन् । कोसँग एमालेको तालमेल हुन्छ यकिन भइसकेको छैन । एमालेसँग तालमेल गर्नका लागि राप्रपाका महामन्त्री डा.राणाको काठमाडौं दौडाहा चलिरहेको छ ।
एमालेसँग तालमेल गर्ने र उपमेयरसहित केही वडाध्यक्ष लिने राप्रपा नेपालले सार्वजनिक गरिसकेको छ । त्यो केही वडा भनेको ५ र ८ नम्बर लक्षित देखिन्छ । राप्रपाले पनि एमालेसँग तालमेल गरेर त्यही प्रकारको माग अघि सारेको छ । नेपालगन्जको दुई पटक मेयर भएका डा.राणाले उत्तराधिकारी जन्माउन सकेको देखिँदैन ।
उनी गठबन्धन गरेर एमालेलाई नगरको चाबी सुम्पिने तयारीमा देखिन्छन्, संघमा आफूलाई सघाउने सर्तमा । अ? पार्टीमा जस्तै राप्रपामा पनि भित्रिने र बाहिरिने क्रम चलिरहेको छ । बाहिरका भित्रिरहँदा भित्रकै बाहिरिरहेका छन् । दुई पटक मेयर भएका राप्रपाका महामन्त्री डा.राणाले दुई जना वडाध्यक्षसमेतलाई काबुमा राख्न सकेको देखिएन ।
अ? पार्टीको केन्द्रीय सदस्यसम्म रहेको नेपालगन्जमा राप्रपाका महामन्त्री यहीँ बस्छन् । संघमा चुनाव लड्दा उनको टक्कर जसपाका नेता मो.इस्तियाक राईसँग पर्ने देखिन्छ । २०७४ मा चुनाव जितेका पूर्वमन्त्री राई र मेयर भएका डा.राणाबीच कडा प्रतिस्पर्धा हुने आँकलनबीच गठबन्धनका प्रयासले को अगाडि जान्छ भन्न सकिने अवस्था छैन ।
केही माथिल्लो र धेरैजसो तल्लो स्तरका नेता तथा कार्यकर्ताको पार्टी परिवर्तनको लहरले सबै पार्टीमा हौस्याउने र झस्क्याउने गरेको छ । दुई जना वडाध्यक्ष आफूतिर लागेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा उनीह?लाई स्थानीय तहको आगामी निर्वाचनमा जसरी पनि जिताउन लागिपरेका छन् ।
‘राप्रपाका महामन्त्री डा.राणाको सेखी झार्न आफ्ना उम्मेद्वारलाई ‘साम, दाम, दण्ड, भेद’ जसरी हुन्छ निर्वाचन जिताएरै देखाउने अध्यक्षको तयारी छ,’ ‘राप्रपा नेपाल निकट स्रोतले भन्यो । स्रोतका अनुसार डा.राणाको गृह नगर भएकाले आफ्ना उम्मेद्वारहलाई निर्वाचन जिताउनकै लागि आवश्यक पर्ने रकमसमेत खर्च गर्ने राप्रपा नेपालको तयारी छ ।
सत्यपाटी । बाँके ।