सूचनाको शक्ति - The Power Of Information

        

सुरक्षामा बेवास्ता

बाँके कारागारमा कैदीबन्दी कोचाकोच, प्रयोगविहीन ‘खुला कारागार’

बाँके कारागारमा क्षमताभन्दा तेब्बर बढी ८०० जना कैदीबन्दी कोचाकोच गरेर राखिएका छन् ।

सञ्चालन कार्यविधि नबन्दा बाँकेको गनापुरमा दुई वर्षअघि निर्माण सम्पन्न भएको देशकै पहिलो खुला कारागार अझै सञ्चालनमा आउन नसक्दा प्रयोगविहीन बनेको छ ।

जिल्लाको गनापुरमा ३७ कोठे खुला कारागार भवन बनेर तयार भएको दुई वर्ष बितिसक्दा समेत कारागार विभागले त्यहाँ कैदी राख्ने व्यवस्था मिलाउन नसक्दा हालसम्म सञ्चालनमा आउन नसकेको केन्द्रीय कारागार बाँकेले जनाएको छ ।

नेपालगन्जस्थित केन्द्रीय कारागारका जेलर रामकुमार सोनकरले दुई तिहाइ कैद भुक्तान गरेका कैदीलाई राख्न देशमै पहिलो पटक यहाँ निर्माण गरिएको खुला कारागार सञ्चालनका लागि विभागले कार्यविधि नबनाउँदा त्यस्ता कैदीलाई स्थानान्तरण गर्न नसकिएको बताए ।

विभागले केही समयअघि खुला कारागार सञ्चालन कार्यविधि २०७८ को मस्यौदा तयार गरेर पठाई सुझाव मागेकोमा आधा दर्जन सुझाव पठाए पनि अझै कार्यविधि तयार नभएकोले कारागार सञ्चालनमा नआएको उनले जानकारी दिए ।

जेलर सोनकरले कार्यविधि बनेर सुझावहरू थप्ने काम भइरहेकाले आगामी वैशाखदेखि खुला कारागार सञ्चालनमा आउने सम्भावना रहेको बताए । उनले अदालतसँग परामर्श लिएर ७५ प्रतिशत कैद भुक्तान गरेकालाई खुला कारागारमा राखिने जानकारी दिए ।

खुला कारागारमा बस्ने कैदीले दिनभरि अन्यत्र काम गर्न पाउने कारागार सञ्चालन कार्यविधि मस्यौदामा उल्लेख गरिएकोले त्यसरी कैदीले बाहिर काम गर्न जाँदा र फर्किंदा उसको सुरक्षाको जिम्मेवारी कसको हुने भन्ने प्रष्ट नरहेकोले सुझावमा मागिएको उनले बताए ।

बाँके कारागारमा क्षमताभन्दा तेब्बर बढी ८०० जना कैदीबन्दी कोचाकोच गरेर राखिएका छन् । खुला कारागार सञ्चालन भएपछि धेरै कैदीलाई त्यहाँ सार्न सकिने भएकोले पनि जिल्ला कारागारमा केही खुकुलो हुने जेलर सोनकरको भनाइ छ ।

अहिले अत्यधिक कैदीबन्दीका कारण जिल्ला कारागारको व्यवस्थापनमा समेत निकै समस्या भइरहेको जनाइएको छ । सोही प्रकारले बाँकेकै नौबस्तामा क्षेत्रीय कारागार भवनसम त निर्माण भइरहेको छ । १५ सयभन्दा बढी कैदीबन्दीलाई राख्ने क्षमताको सो क्षेत्रीय कारागार तीन महिनाभित्र सञ्चालन गर्नेगरी काम भइरहेको पनि उनले बताए ।

जेलर सोनकरका अनुसार आठ वटा ब्लक रहेको क्षेत्रीय कारागारमा चार वटा ब्लकको काम अन्तिम चरणमा पुगेकोले चार वटा ब्लकको काम सम्पन्न भएपछि सो कारागार सञ्चालनमा ल्याइनेछ । सो कारागार सञ्चालनमा आएपछि जिल्ला कारागारको कैदी राख्ने समस्या समाधान हुने भएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार ०७:४०